रास्वपाको अपिल बजारमा सीमित देखियो : शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले हालै सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीले अघिल्लो चुनावको भन्दा चार गुणा मत बढाए पनि अपेक्षाकृत मत भने आउन नसकेको बताएका छन् । ग्रामीण भूभागभन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपिल बजारमा सीमित रहेको देखिएको उनले विश्लेषण गरेका हुन् ।
इलाम–२ मा मंगलबार सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बु भने ५ हजार ५० मतमा सीमित बन्दै जमानत समेत जोगाउन सकेनन् ।
तर, थपिएको नयाँ २ हजार मतदाताले स्थापित पुराना दललाई नपत्याएको पूर्वमन्त्रीसमेत रहेका खनालको बुझाई छ । यसले आगामी दिनमा वैकल्पिक र नयाँ दललाई फाइदा पुग्ने उनले बताए । ‘स्थापित दलका पुराना पात्रभन्दा नयाँ पात्रले नै चुनाव जित्नुले नेपाली मतदाताले नयाँ पुस्तालाई खोजेको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा आफ्नो प्रारम्भिक धारणा व्यक्त गरेका छन् ।
यता पूर्वी पहाडमा पहिचानवादी धारको जबरजस्त उपस्थिति छ भन्ने कुरा पनि यो उपनिर्वाचनले स्थापित गरेको उनले बताएका छन् । इलाम–२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत ल्याउन सफल भएका छन् । ‘अझै त्यसले पूर्ण जनअनुमोदन हुन नसके पनि भविष्यमा हुने प्रादेशिक चुनावमार्फत प्रदेशको सरकारमा उसको प्रभाव बढ्न सक्छ,’ खनालको विश्लेषण छ ।
यस उपनिर्वाचनमा ठुला दलको भोट घटेको उनले बताए । २०७९ को चुनावमा दुई ठुला दलको ९० प्रतिशत भोट भए पनि यसपटक यो घटेर ७२ प्रतिशतमा झरेको उनले तथ्याङ्क प्रस्तुत गरे ।
‘एमालेले जित्दै गर्दा पनि उसले २२ सय कम मत ल्याएको छ तर सबैभन्दा ठुलो क्षय नेपाली कांग्रेसलाई भएको देखिन्छ । कांग्रेसलाई अघिल्लो पटकभन्दा झण्डै ८ हजार मत कम आएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै