बब्लु पासवान : लाल मोहम्मदको सर्भेलेन्स गराए, भारतबाट सुटर पठाए

काठमाडौँ । पर्साको वीरगन्जबाट पक्राउ गरिएका बब्लु पासवानको ‘कनेक्सन’ गोठाटार घटनासँग जोडिएको छ । ३ असोज २०७९ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । मोहम्मदको हत्या गर्ने योजनाकारमध्ये एकजना पासवान भएको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।
भारतको रक्सौल घर भएका पासवान नेपालतर्फ प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीसँग आइतबार वीरगन्ज–१६ मा जम्काभेट भएको थियो । भाग्न खोजेपछि गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
भारतीय अंडरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग निकट छन्, बब्लु पासवान । नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । लाल मोहम्मदले पनि भारतीय जाली नोट कारोबार गरेको आरोप छ । नोट कारोबारी सफाया गर्ने मध्येका श्रीवास्तव अहिले जेलमा छन् ।
श्रीवास्तवभन्दा तल्लो लेयरका हुन्, बब्लु पासवान । पासवानको साथबाट प्रहरीले एकथान पेस्तोल र ५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध र हतियार तथा खरखजाना मुद्दा चलाएपछि उनलाई काठमाडौँमा पठाइने एसपी ढुंगेलले बताए ।
पासवानले गोठाटारमा लाल मोहम्मदको सर्भेलेन्स गराएर सुटर पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बौद्ध स्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरको बकैया गाउँपालिका घर भएकी सुस्मिता स्याङतानले मोहम्मदको गतिविधि निगरानी गरेका हुन् ।
ममता तिवारी ९ वर्ष लागु औषध मुद्दामा जेल बसेर छुटेकी हुन् । उनीहरुलाई डेढ महिनाअघिबाट सर्भेलेन्स गर्न लगाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सर्भेलेन्स गरेपछि उनले सुपारी लिएर मोहम्मदको हत्या गर्न टिम परिचालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । ‘मोहम्मदको सर्भेलेन्स गराएपछि भारतबाट पासवानले नै हतियार पठाएको अनुसन्धानबाट देखिन्छ,’ घटनाबारे गठित छानबिन समितिमा बसेर काम गरेका एकजना अधिकृत भन्छन्–‘हतियार र सुटर पनि उनले नै पठाएका हुन् ।’ हत्यामा संलग्न सुटर पक्राउ परेका छैनन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि सुस्मिता स्याङ्तान, २१ वर्षी महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । पासवानले सुपारी लिएर टिम परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
बब्लुको वास्तविक नाम गणेश कुमार हो । तर, उनी आफूलाई बब्लु पासवान भनेर चिनाउँछन् । रक्सौलबाट वीरगन्ज हुँदै काठमाडौँतर्फ लागु औषध कोरेक्स पठाउने डिलरका मुख्य सञ्चालक पनि हुन, पासवान । उनी पक्राउ परेसँगै नेपालका कारोबारीले रक्सौलबाट कोरेक्स झिकाउने अध्याय बन्द भएको एसपी ढुंगेलले बताए ।
उनी १३ जेठ २०७३ मा सुरेश केडियाको अपहरणमा पनि संलग्न थिए । रक्सौलमा बसेर उनले तराईका जिल्लामा अपहरणको धन्दा चलाउने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी
-
भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?