मरणासन्न भनिएको पुँजीवादको आयु कसरी बढिरहेको छ ?
रुसी अक्टोबर क्रान्तिको नेतृत्वकर्ता लेनिनले पुँजीवादलाई मरणासन्न अवस्थामा पुगेको र यसको उच्चतम रूप साम्राज्यवाद भएको एक शताब्दीअघि नै बताएका थिए, तर विभिन्न समयमा ठुल्ठुला सङ्कट गुजारिसकेको पुँजीवादको अन्त्य आजसम्म किन भएन ?
यसको सङ्कट र असफलताको जगमा समाजवादीहरू किन विश्वमा समाजवादको झन्डा फहराउन असमर्थ भइरहेका छन्, अथवा सङ्कटग्रस्त भइसकेको भनिएको पुँजीवाद कसरी र के कारणले झन् शक्तिशाली बन्दै बाँचिरहेको छ ? यसकै सेरोफेरोमा रही प्रस्तुत आलेखमा छोटकरीमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
- बदलिँदो स्वरूप
१९औँ र २०औँ शताब्दी अगाडिको जस्तो शास्त्रीय पुँजीवाद वर्तमान विश्व व्यवस्थामा अब रहेन । पुँजीवादले आफ्नो परम्परागत चरित्रहरूलाई परिवर्तन गर्दै समयानुकूल बनाइरहेको छ ।
नाफा केन्द्रित र पुँजीको अत्यधिक केन्द्रीकरण गरी शोषण गर्ने आधारभूत चरित्र पुँजीवादको हुन्छ भन्ने परम्परागत धारणामा केही परिमार्जन गर्दै पुँजीवादले जति बढी आम्दानी त्यति बढी तलब–सुविधा, जति धेरै श्रम उति ज्याला र मजदुरहरूलाई पनि निश्चित प्रतिशतमा हिस्सेदारी कायम गर्ने नीति कार्यान्वयन गरिरहेको छ ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ कुनै बेलाको चर्चित समाजवादी नारालाई कार्यान्वयन गर्दै यसले परम्परागत शोषणकारी चरित्रबाट आफूलाई अपग्रेड गरेको छ । जसलाई स्वीकार गर्न विश्व बाध्य भएको छ ।
- लोक कल्याणकारी राज्यको अवधारणा
पुँजीवादीहरूले आफूलाई पुँजीवादी नै भनेर चिनाउनेभन्दा पनि खुला बजार अर्थतन्त्रसहितको उदारवादी, सामाजिक सुरक्षा र लोक कल्याणकारी राज्यको हिमायती, प्रजातान्त्रिक समाजवादीजस्ता पदावलीको प्रयोग र त्यही अनुसारको नीति कार्यक्रमद्वारा आम जनतालाई प्रशिक्षित गरिरहेको पाइन्छ ।
शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था, बेरोजगारी भत्ता, अशक्तहरूका लागि विशेष आर्थिक सुविधाजस्ता सामाजिक सुरक्षासम्बन्धी आधारभूत आवश्यकतालाई सम्बोधन गरेर पुँजीवादले आफ्नो परम्परागत भाष्यमा परिमार्जन गर्दै लगिरहेको छ । सार्वजनिक हितसहितको प्रतिस्पर्धात्मक प्रणालीलाई आफ्नो राजनीतिक कार्यक्रमको रूपमा उदारवादी वा नवउदारवादी मुलुकहरूले आफूलाई उभ्याउँदै आएको दाबी गर्ने गरेको छ ।
प्रतिस्पर्धा गर्न असक्षम भएका वा अवसरको प्राप्तिमा असमर्थ भएकाहरूका लागि पनि राज्य हुन्छ भन्ने लोककल्याणकारी अवधारणालाई पुँजीवादले आफू टिक्ने बलियो माध्यमका रूपमा प्रयोग गरिरहेको छ, पाइन्छ ।
- सहकार्य र प्रतिस्पर्धा
पुँजीवादले सबैभन्दा सफल प्रयोग गरेको नीति भनेको सहकार्य र प्रतिस्पर्धाको नीति हो । २०औँ शताब्दीभन्दा पहिलेको पुँजीवाद एकले अर्कालाई क्षति पु¥याएर वा सिध्याएर आफू बाँच्ने किसिमको थियो, तर आज त्यो चरित्रमा बदलाव आएको छ ।
अहिले सैन्य, आर्थिक, राजनीतिक, भौगोलिक, सांस्कृतिक रूपमा प्रतिस्पर्धा र सहकार्यलाई एक सिक्काका दुई पाटाका रूपमा विकास गर्दै सबैले जित्ने नीति पुँजीवादीहरूले अख्तियार गरिरहेका छन् ।
पुँजीवादीहरूले आफूलाई पुँजीवादी नै भनेर चिनाउनेभन्दा पनि खुला बजार अर्थतन्त्रसहितको उदारवादी, सामाजिक सुरक्षा र लोक कल्याणकारी राज्यको हिमायती, प्रजातान्त्रिक समाजवादीजस्ता पदावलीको प्रयोग र त्यही अनुसारको नीति कार्यक्रमद्वारा आम जनतालाई प्रशिक्षित गरिरहेको पाइन्छ ।
पुँजीवादले साङ्गठनिक वा संस्थागत रूपमै विभिन्न अभ्यास गरिरहेको छ । जस्तो : सैन्य क्षेत्रमा नेटो छ; आर्थिक क्षेत्रमा विश्व व्यापार सङ्गठन, विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका देखिन्छ; राजनीतिक क्षेत्रमा प्रतिस्पर्धात्मक लोकतन्त्र, मानव अधिकार र सञ्चारको स्वतन्त्रताको अभ्यास देखिन्छ; भौगोलिक र क्षेत्रीय रूपमा निर्माण गरेको युरोपियन युनियनजस्ता गठबन्धन देखिन्छन् ।
बहुराष्ट्रिय कम्पनी, भूमण्डलीकरणको अवधारणा, भौगोलक रूपमा सीमाविहीन साझा अर्थतन्त्र र संयुक्त मुद्रा तथा संयुक्त सैन्य अभ्यासजस्ता गम्भीर विषयमा सह–अस्तित्व र सहकार्य तथा संयुक्त हित र लाभ अभिवृद्धिमार्फत पुँजीवादी मुलुकले आफूलाई फरक–फरक रूपमा जीवन्तता दिइरहेका छन् ।
- विज्ञान र प्रविधि
आजको संसारको सबैभन्दा चमत्कारिक उपलब्धि भनेको विज्ञान र प्रविधिको विकास हो । वर्तमान आर्टिफिसियल इन्टेलिजेन्सको अवस्थासम्म आउँदा पुँजीवादले विज्ञान र प्रविधिलाई उच्चतम तहमा प्रयोग गरेको छ ।
उत्पादनमा अत्यधिक वृद्धि गरेर मानव सभ्यतालाई भोकमरी र अनिकालबाट मुक्त गरी नयाँ युगमा प्रवेश गराएको जस पुँजीवादले लिन पुगेको छ । आफ्नो कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा विज्ञान प्रविधिको विकासमा लगाएर पुँजीवादले मानव मनस्थिति र उत्पादनको क्षेत्रलाई नियन्त्रण गरेर राखेको छ । आर्थिक समृद्धि, मनोरञ्जन, भौतिक विकास तथा मनोवैज्ञानिक क्षेत्रमा प्रविधिद्वारा अद्भुत चमत्कार गरेर मानव सभ्यताको रूपान्तरण गर्ने श्रेयका साथ पुँजीवादीहरूले आफूलाई उत्कृष्ट घोषणा गरी बाँचिरहेका छन् ।
- निरन्तरको अनुसन्धान र खोज
निरन्तर नवीन खोज र अनुसन्धान पुँजीवादको निकै सकारात्मक पाटो हो । निरन्तरको प्रयत्नकै कारण प्राकृतिक विज्ञानको अनुसन्धान र निष्कर्ष अनि समाज विज्ञानको बदलिँदो मनोदशालाई एकाकार गर्ने नीति कार्यक्रम प्रभावकारी र सफल बन्दै आएको छ, जो व्यक्तिले अन्वेषण गरेर निकालेको निष्कर्ष वा उपलब्धि भए पनि त्यसलाई मानव जातिको साझा उपलब्धिको रूपमा बुझ्ने र प्रयोग गर्ने संस्कृति पुँजीवादले विकास गरेको छ ।
निरन्तरको नवीन खोज र अनुसन्धानकै कारण नयाँ–नयाँ रचनात्मक उपाय र विकल्पद्वारा नै पुँजीवादले सन् १९३०, १९७० को दशक; पछिल्लो सन् २००८ को र कोभिड–१९ पछिको सङ्कटपूर्ण आर्थिक स्थितिलाई पार लगाउँदै आजको अवस्थामा आइपुग्न सफल भएको छ ।
- नयाँ–नयाँ शक्ति सन्तुलन
विश्वमा विचारधाराको प्रतिस्पर्धा छ भन्ने पुँजीवादले राम्रोसँग बुझेको छ । ऊ विरोधी विचार राख्नेलाई पनि कसरी नजिक ल्याउने वा सन्तुलनमा राख्ने भन्ने कुरामा सचेत देखिएको छ ।
पुँजीवादीबिचको प्रतिस्पर्धा र सहकार्य त आफ्नो ठाउँमा छँदै छ, उनीहरू विरोधी विचार राख्नेसँग पनि सन्तुलित भूमिकासहित अगाडि बढिरहेका छन् । पुँजीवाद आफ्नो स्वार्थका लागि ठुल्ठुला युद्ध चाहन्छ भन्ने शास्त्रीय तर्कमा पहिलो र दोस्रो विश्वयुद्धपछि करिब पछिल्लो ८० वर्षसम्म किन तेस्रो विश्वयुद्ध भइरहेको छैन भन्ने तर्कले बलियो चुनौती पेस गर्न पुगेको छ ।
आज शक्तिशाली पुँजीवादी वा गैरपुँजीवादी मुलुकहरू अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित रासायनिक र आणविक हतियार बोकेर बसिरहेका छन् तर छिटपुट केही क्षेत्रीय र आंशिक युद्धहरू भइरहेको भए पनि समग्र युद्धमा विश्व होमिएको छैन ।
मध्यपूर्वको युद्ध, युक्रेन र रसियाको युद्ध, अमेरिका–उत्तरकोरिया टकराब, चीन–ताइवान टकराब आदि तथ्यले विश्वयुद्धको रूप त लिने होइन भन्ने आशङ्काको बिचबाटै विश्व–व्यवस्था चलिरहेको छ । बरु सुपरपावरहरू एकअर्कासँग प्रोक्सी वार, डिफेन्सिभ वार (हतियार र सैन्य प्रदर्शन गरेर सन्तुलन कायम गर्न प्रयत्न गर्ने), व्यापार प्रतिबन्धसहितको मनोवैज्ञानिक युद्धको अभ्यास गरिरहेका छन् ।
यसले के देखाएको छ भने पुँजीवादी मुलुकहरू आर्थिक, राजनीतिक र सैन्य क्षेत्रमा विश्वव्यापी रूपमा मोर्चा निर्माण गर्ने तर हतारमा युद्धमा हाम नफाल्ने बरु सन्तुलनकारी नीति अवलम्बन गर्ने नीतिअनुसार आफूलाई अभ्यस्त गरिरहेका देखिन्छन् । उनीहरू आफू सकिने र सबैलाई सकाउने भन्दा पनि आफू बाँच्न पाउँदा अरू पनि बाँचोस् भन्ने मनस्थितिका साथ अगाडि बढिरहेको देखिन्छ र नयाँ–नयाँ शक्ति सन्तुलन कायम गर्नमा सचेत पनि देखिएको छ ।
अन्त्यमा, मरणासन्न अवस्थामा पुगिसकेको पुँजीवादले पुनर्जीवन प्राप्त गरेको भन्दा पनि समानता, स्वतन्त्रता र भ्रातृत्वको वैचारिक आलोकबाटै केही समाजवादी अवयवलाई आत्मसात् गर्दै अथवा विरोधीबाट सिकेर भए पनि नवजीवन प्राप्त गरेको छ ।
केन्द्रीकृत, एकाधिकारवादी, शोषणकारी, नाफामुखी र असमानताको गुण वा अवगुण बोकेको पुँजीवादी व्यवस्थाले परिणामतः विश्वको ध्यान आफूतिर खिच्न सफल भएको छ । सामाजिक बजार अर्थतन्त्र, खुला–बजार अर्थतन्त्र, साझा समृद्धिका लागि साझा अर्थतन्त्र, नवउदारवादी अर्थतन्त्र, सामाजिक लोकतन्त्र, प्रतिस्पर्धात्मक लोकतन्त्र वा समावेशी लोकतन्त्र जे पदावली र विशेषण जोडेर वा परिवर्तन गरेर भए पनि शताब्दीअघि नै अन्तिम अवस्थामा रहेको भनिएको विश्व पुँजीवाद विश्व राजनीतिमा प्रभावशाली बन्न सफल भइरहेको छ ।