प्रारम्भिक मतगणना : कांग्रेसले पाएन अपेक्षित मत, एमालेलाई राहत
![प्रारम्भिक मतगणना : कांग्रेसले पाएन अपेक्षित मत, एमालेलाई राहत](https://npcdn.ratopati.com/media/news/ilam-matganana_yDQy4tFB9L.jpg)
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा आफ्नो आधार क्षेत्रमै अपेक्षित नपाएपछि कांग्रेसीहरु चिन्तित बनेका छन् । एमालेमा भने कांग्रेससँगको मतान्तर कम रहेको भन्दै राहत मिलेको छ ।
इलाम २ को फाकफोकथुमको ३ वटै वडाको मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत पाएर पहिलो स्थानमा छन् । एमालेका सुहाङ नेम्वाङले १ हजार ६३० मत पाउँदा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ४३० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३०८ मत पाएका छन् । फाकफोकथुमको उक्त ३ वडामा ४ हजार १५२ मत खसेको थियो । जसमा ४ हजार १०८ मत सदर हुँदा ४४ मत बदर भयो ।
तथ्याङ्क अनुसार फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ जना मतदाता छन् । यहाँका वडा नम्बर ३, ५ र ६ गरी ३ वडा एमालेले जित्दा १, २, ४ र ७ गरी ४ वडाअध्यक्ष कांग्रेसले जितेको थियो । यहाँ अध्यक्ष र उपाध्यक्ष एमालेले जिते पनि समग्र भोट कांग्रेसको बढी छ । तर, वडा नम्बर १ र २ मा झण्डै ४ सयको मतले लिड गर्ने बताइरहेको कांग्रेसका लागि सोचेजस्तो मत खसेन । वडा नम्बर ३ एमालेले जितेको वडा हो । जहाँ एमालेका सुहाङले ५५८ मत ल्याउँदा कांग्रेसका खड्काले ५०३ मत मात्रै पाएका छन् ।
‘फाकफोकथुम १ र २ नम्बर वडाको अवस्था हेर्दा पहिचानवादीको उत्साहजनक भोट देखियो । तर, उहाँहरुले सोचेजस्तो आएको छैन । दुईवटा वडा गन्दा काँग्रेस नै अगाडि छ । यसअघि भने काँग्रेसले दुवै वडा जितेको थियो । यसअघिको निर्वाचनमा पनि काँग्रेसले नै लिड गरेको थियो,’ कांग्रेस इलामका उपसभापति खगेन्द्र देवानले भने, ‘उपनिर्वाचनमा केही मत तलमाथि भएको अवस्था देखिन्छ । यो नयाँ दल रास्वपा र स्वतन्त्र उम्मेद्वारको असर परेको देखिन्छ ।’ प्रारम्भिक मतगणनामा भएको कारण कांग्रेसकै उम्मेदवार विजयी हुनेमा आफू विश्वस्त रहेको बताए ।
उता, नेकपा एमाले इलामका उपाध्यक्ष उदय राईले भने आफूहरूले मतान्तर फराकिलो बनाउन नदिएर कांग्रेसलाई साइजमा राखेको बताए । ‘फाकफोकथुमको १ र २ मा एमालेभन्दा बलियो कांग्रेस हो । तर, जुन रुपमा कांग्रेसको मत आउनु पर्ने हो त्यो आएको देखिएन । हामी यहाँ ४ सयको मतले पछाडि पर्ने आँकलन थियो । तर, दुईवटा वटामा ८२ मतले मात्रै हामी पछाडि छौँ,’ उनले भने, ‘एमाले हिजोको अवस्था जस्तो थियो आज पनि त्यस्तै देखियो । मत भड्किएको चाहिँ कांग्रेसकै देखियो । रास्वपाको उम्मेदवार र स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बूमा गएको मत पनि धेरै कांग्रेसकै हो ।’ उनले एमालेलाई पहिचानवादी र रास्वपाले लगाएको आरोपको मतदाताले खण्डित गर्ने देखिएको बताए । ‘हामीलाई पहिचानवादीले लगाएको आरोप खण्डित हुने अवस्था देखियो । नयाँ भनेर उदाएको दलले लगाएको आरोप पनि खण्डित भयो,’ उनले भने ।
एमालेकै नेता कृष्ण काफ्लेले पनि अपेक्षा गरेभन्दा राम्रो मत आएको बताए । ‘दुईवटा वडामा हामीले अपेक्षा गरेभन्दा राम्रो मत आएको छ । काँग्रेसलाई समस्या पर्ने देखिन्छ,’ उनले भने ।
उता, पहिचानवादी नेता प्रेम एक्तेनले आफूहरूले अपेक्षा गरे अनुसार नै मत आएको बताए । ‘हामीले जुन माथिल्लो एरिया हो यो । पार्टी राजनीतिले पकडमा राखेको स्थान हो । हामीले लिड गर्ने ठाउँमा हामी आउँदैछ,’ उनले भने, ‘अहिले एमाले–कांग्रेस प्रतिस्पर्धी भएर आएको देखिन्छ । दलहरूको कारणले नै दलीय सिस्टम खतरामा पर्ने अवस्था छ । दलहरू करेक्सन हुनुपर्छ भन्ने सन्देश यस पटक दिने सम्भावना छ । हामीले अपेक्षा धेरै नगरेको ठाउँको मतगणना हो । माङ्सेबुङ, माई र चुलाचुली क्षेत्रमा पुगेपछि हामी लिड गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता