काठमाडौँ । हिउँदको सुक्खा याममा नेपालमा अधिकांश भागमा आगलागी, डढेलोको घटना बढ्ने गर्छन् । आगो तथा डढेलो निभाउने क्रममा मानिसहरू आगोले पोलेर घाइते हुन्छन् । घाइतेको प्रकृति अनुसार कतिपयले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउने गर्छन् ।
घरमा आगोले पोलेर वा तेजाब तथा विद्युतीय सामग्री सर्ट भएर पनि मानिसहरू जलनका घटनामा पर्ने गर्छन् । यस्ता घटनामा घाइतेहरूको कसरी र कहाँ उपचार गर्ने, सुरुमा प्राथमिक उपचार कसरी गर्ने ? यस्तो घटनामा परेकाहरूको कहाँ र कसरी उपचार हुन्छ ? यस्ता घटना रोकथामका लागि के गर्न सकिन्छ ? यसबारेमा हामी जलनको उपचार गर्दै आएको काठमाडौँको साँखुस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटलका उपनिर्देशक समेत रहेकी डा.रोजिना शिल्पकार स्वारसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, जलनका अवस्था, प्राथमिक उपचारसहित विविध विषयमा उनको धारणा–
जलनका घटना आगोबाट मात्र नभई तातोपानी, खोले, तातो तेल, तेजाब, बिजुली सर्ट भएर पनि जलनका घटना हुने गरेको छ । यस्ता घटनाबाट वार्षिक ५ सयदेखि ६ सय हाराहारी बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।
गर्मी महिनामा मात्र नभई जाडो याममा पनि जलनका बिरामी बढी मात्रामा अस्पताल पुग्ने गरेका छन् । आगो ताप्ने क्रममा दुर्घटनावश आगोले पोलेर घाइते अवस्थामा मानिसहरू अस्पताल पुग्ने गरेका छन् ।
आगोले शरीरमा ७० प्रतिशतदेखि माथि पोलिएको अवस्थामा खतराजनक हुन्छ । यस्तै अनुहारमा पोलेको छ भने पनि प्राणघातक हुन्छ । तेजाबले पोल्दा पनि त्यस्तै खतरा हुन्छ ।
यस्तै विद्युत्ले पोल्दा सिधै मुटुमा असर पर्ने र त्यसले मुटुको धड्कन रोकिदिने भएकाले घाइते व्यक्तिको तत्काल निधन हुने जोखिम हुन्छ ।
आगोले कति गहिराइमा पुगेर पोलेको छ, त्यही अनुसार खतराजनक हुने गर्दछ भने सबैभन्दा धेरै खतरा विद्युत्बाट हुन्छ । आगो वा तरल पदार्थले पोलेको अवस्थामा बाहिरबाट भित्र पोल्दै जान्छ तर विद्युत्को हाई भोल्टेजबाट हातमा करेन्ट लागेमा एक सेकेण्डमै हात नै काम नलाग्ने हुन सक्छ । साथै मुटुको धडकन बन्द गराउन सक्छ ।
संसारभर नै जलनका घटनाहरू फरक–फरक कारणले हुने गर्दछन् । दक्षिण एसियाली क्षेत्रका देशहरूमा खुला आगो बालेर खाना बनाउने, आगो तापेर बस्ने, आगो नजिकै सुत्ने, बच्चाहरूलाई पनि आगो नजिकै सुताउने, खाना बनाउँदा पनि बच्चा त्यहीँ खेलिरहेको हुनेजस्ता कारणबाट आगोबाट घटना घट्ने गरेका छन् ।
हाम्रो समाजमा पोल्ने बित्तिकै घाउमा पानी पार्नु हुँदैन भन्ने गलत अवधारणा अझै पाइन्छ । आगो वा कुनै पनि कुराले पोलेपछि त्यसमा प्रयोग गर्ने मुख्य कुरा पानी नै हो ।
महिलाहरूले सारी लगाएर खुला आगोमा खाना बनाउने तथा आगो ताप्दा सारीमा आगो सल्किएर घाइते भई अस्पताल आउने पनि धेरै छन् । यस्तै बच्चाहरू तातोपानी, तातो तेल, खोलेजस्ता तातो तरल पदार्थबाट जलनका घटनामा पर्ने गरेका छन् । आगोको छेउमा झोलुङ्गोमा साना बच्चालाई राख्ने र त्यहाँबाट लडेर आगोमा परेर आएका घटनाहरू पनि छन् ।
वयस्क पुरुषहरूमा भने छारे रोगका कारण कहिले आगोमा परेको र कहिले विद्युतीय झट्कामा परेको पाइन्छ ।
हाम्रो समाजमा पोल्ने बित्तिकै घाउमा पानी पार्नु हुँदैन भन्ने गलत अवधारणा अझै पाइन्छ । आगो वा कुनै पनि कुराले पोलेपछि त्यसमा प्रयोग गर्ने मुख्य कुरा पानी नै हो । पानी असाध्यै चिसो पनि होइन, पोलेको भागलाई सामान्य तापक्रम भएको धारामा बगेको पानीले २० देखि ३० मिनेटसम्म चिस्याउनुपर्छ ।
यदि खोल्ने धारा छैन भने बाल्टिनमा पानी राखेर चिस्याउने । त्यो पनि छैन भने कपडालाई पानीमा भिजाउँदै पोलेको ठाउँमा राखेर चिस्याउने । पोलेको ठाउँबाट भित्र पोलाई बढ्दै गइरहेको हुन्छ, यसरी बाहिरबाट चिस्याउँदा भित्र पोलाइ गहिरिँदै जान पाउँदैन । २० देखि ३० मिनेटसम्म पानीले चिस्याएपछि सफा कपडाले छोपेर तुरुन्तै हेल्थ पोष्ट वा अस्पताल लैजानुपर्छ ।
साना–साना जलन जसको कुनै गहिराइ पनि छैन भने साना फोका निस्केर आठ÷दश दिनमा निको हुन्छ, त्यस्तो अवस्थामा घिउकुमारी, गोलभेँडा लगाए पनि, नलगाए पनि खासै असर गर्दैन तर गहिरो घाउ भएको अवस्थामा पानीले चिस्याउनै पर्छ । कसैले खरानी, गोबर लगाएर पनि अस्पताल आइपुग्ने गर्छन्, त्यस्तो गर्नु गलत हो, जसले घाउमा इन्फेक्सन हुने जोखिम हुन्छ ।
पोलेपछि वा जलनभएपछि घाइतेको पोलेको ठाउँबाट धेरै पानी निस्कने हुन्छ । त्यस्तो अवस्थामा सलाइन चढाउनुपर्ने हुन्छ ।
कोही आगोले जलिरहेको अवस्थामा छ भने त्यस्तो अवस्थामा आत्तिएर दौडने गर्नुहुँदैन । यस्तो अवस्थामा गर्नुपर्ने कामलाई हामी ‘स्टप, ड्रप र रोल’ भन्छौँ । आगोले टिपेको मान्छे दगुर्न भएन, दगुर्दा उल्टै आगोले अक्सिजन पाएर झन् ह्वार–ह्वार बल्ने हुन्छ । त्यस्तो अवस्थामा व्यक्तिलाई रोकिन लगाउने, निभाउने बस्तु केही छैन भने भुइँमा रोल अर्थात् लडीबुडी गर्न लगाउने र आगो निभाउने । बाक्लो कम्बल छ भने त्यसले झ्याप्प छोपेर पनि आगो निभाउन सकिन्छ । त्यसपछि पानीले चिस्याएर प्राथमिक उपचारका लागि अस्पताल लैजानुपर्ने हुन्छ ।
आगो तथा अन्य पदार्थबाट भएका जलनका घटनापछि उपचारका लागि तत्काल अस्पताल लैजानुपर्ने हुन्छ । काठमाडौँ उपत्यकामा कीर्तिपुर बर्न हस्पिटल, साँखुको सुष्मा कोइराला मेमोरिल हस्पिटल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा पनि जलनको उपचार हुन्छ ।
नजिकै अस्पताल छैन भने कुनै पनि स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ । पोलेपछि वा जलनभएपछि घाइतेको पोलेको ठाउँबाट धेरै पानी निस्कने हुन्छ । त्यस्तो अवस्थामा सलाइन चढाउनुपर्ने हुन्छ । वयस्क व्यक्तिको २० प्रतिशतभन्दा बढी शरीरको भाग जलन भएको छ भने र बालबालिकाको १० प्रतिशतभन्दा बढी भाग जलनमा परेको छ भने सलाइन चढाउनुपर्ने हुन्छ ।
सलाइन चलाउन सक्ने अवस्था छैन भने पानी खाइरहनुपर्छ । जीवनजल पानी खाइरहनुपर्छ । घाउ ठुलो छ भने काठमाडौँका अस्पतालमा पठाउनुपर्यो । काठमाडौँ बाहिर पाल्पामा मिसन अस्पताल, धुलिखेल, धरान लगायतका अस्पतालमा लैजान सकिन्छ । घाइतेमा पानीको अवस्था कस्तो छ, पानी कत्तिको खाएको छ, पिसाब आइरहेको छ कि छैन भन्ने बिचार गर्नुपर्छ । असाध्यै दुखेको छ भने पेनकिलर दिन सकिन्छ । अनुहारमा जलेको छ भने अक्सिजन दिनुपर्छ ।
जलनको घटनाको सम्पूर्ण उपचार काठमाडौँमा दुई अस्पताल कीर्तिपुर बर्न हस्पिटल र सुष्मा कोइराला मेमोरियल अस्पतालमा हुने गरेको छ । यी अस्पतालमा विशेष बर्न युनिट नै छ । जलनका घटना भए कहाँ कसरी उपचार गर्ने भन्नेमा सर्वसाधारण मात्र नभई स्वास्थ्य केन्द्र पनि अन्योलमा हुने गर्छन् । हामी जलनको क्षेत्रमा उपचार सेवा दिइरहेका चिकित्सकहरूले सरकारलाई यसबारे झक्झक्याइरहेका पनि छौँ । जलनको उपचारका लागि सरकारले विभिन्न ठाउँमा उपचार सेवा विस्तार गर्नुपर्यो । प्रत्येक प्रादेशिक अस्पतालहरूमा बर्न युनिट राख्नुपर्यो, स्वास्थ्यकर्मीहरूलाई पनि यसबारे तालिम दिने व्यवस्था गर्नुपर्यो । देशभरि नै जलनका घटना भयो भने कहाँ उपचार गर्ने भन्ने, कहाँ जाने भन्ने प्रणालीको व्यवस्था गर्न आवश्यक छ ।
प्रतिक्रिया