मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए
काठमाडौँ । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात् पवित्रा साकीको दैनिकी थियो–बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने ।’
कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन् । फेसबुक, टिकटक खुबै चहार्थिन । अरूको भिडियो र फोटो देखेर आफू पनि त्यस्तै बन्ने परिकल्पना गर्थिन् । बिस्तारै उनले त्यही सिक्दै गइन । टिकटक एकाउन्ट खोलिन र भिडियो अपलोड गर्न थालिन् ।
प्रयोगकर्ता सबैले चर्चित कलाकार र सेलिब्रेटीहरुले लिप्सिङ्क र गीतमा आधारित भएर टिकटकमा भिडियो बनाउँथे । तर गाउँले जीवन बिताइरहेकी पवी गाउँले परिवेश र मौलिकतामा रमाइरहेकी थिइन् । त्यसै क्रममा उनले सुदूरपश्चिमको पहाडी जिल्लामा बोलिने ‘ठेट’ डोटेली भाषामा आफैँ बोलेर टिकटक बनाउन थालिन् ।
मौलिक डोटेली भाषा र बोल्ने शैली टिकटकमा यति धेरै चर्चित भयो कि उनको गाउँले जीवन बिस्तारै फरकतिर मोडियो । टिकटकको भिडियोले कला क्षेत्रका सेलिब्रेटीहरुको मन तान्यो । जसका कारण छोटो समयमै उनी कला क्षेत्रमा प्रवेश गर्ने अवसर पाइन् । उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौँमाझ परिचित गराइन् । ‘टिकटक स्टार’का रूपमा चिनिएपछि मिस पवीलाई काठमाडौँबाट म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा अफर आउन थालेको सुनाउँछिन् ।
‘अहिलेसम्म ४० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु । केही विज्ञापनमा पनि काम गरिरहेकी छु र ठुलो फिल्मको नि अफर आएको छ,’ उनले भनिन् ।
- सपना थियो ‘सेफ’ बन्ने तर मोडियो बाटो
टिकटकमा छाउने मिस पवी अहिले टेलिभिजनको पर्दामा देखिन थालेकी छन् । उनले अभिनय गरेका भिडियोहरू ठुलो पर्दा गुन्जिन्छन् । ‘ठ्याक्कै कति म्युजिक भिडियोमा काम गरेँ भनेर काउन्ट गरेको छैन । तर ४० भन्दा बढी त पुग्यो होला,’ उनले भनिन । चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ लगायतका चर्चित धारावाहिक नाटकहरूमा काम गरिसकेको उनले सुनाइन् ।
उनको सपना थियो होटल म्यानेजमेन्ट पढेर ‘सेफ’ बन्ने । तर, अहिले त्यो सपना मानसपटलबाट हराएको उनको अनुभव छ । मनोरञ्जनका लागि गाउँबेसी गर्दा टिकटक बनाइरहने उनले एक दिन आफ्नी आमासँग भनिन्, ‘ए मम्मी मेरा त हिट्टा हिट्टा खुट्टा थगिगया भन्या ब..’ उनले आमालाई जिस्क्याउँदै बनाएको टिकटकलाई लाखौँले मन पराइदिए । जसको उत्प्रेरणाले अरू गाउँले परिवेश र लवजमा भिडियोहरू बनाएर अपलोड गर्न थालिन् ।
बिस्तारै उनी टिकटक स्टारको रूपमा परिचित हुन थालिन । उनलाई काठमाडौँबाट म्युजिक भिडियोका अफर आउन थाले । तर उनलाई गाउँलेहरूसँग लड्नुपर्ने चुनौती थपियो । ‘नेपालमा पनि यस्तो भाषा बोलिन्छ र ?,’ ‘कुन ठाउँको भाषा हो नि यो ?’ भनेर कमेन्ट आउँथेँ । उनले बनाउने भिडियोमा उनी सबैलाई रिप्लाई दिन्थिन सुदूरपश्चिमको डोटेली भाषा हो भनेर । सुरुमा टिकटक बनाइरहँदा गाउँका मान्छेहरूले अपाच्य आलोचना गर्ने गरेका थिए । उनले भनिन् ‘सुरु सुरुमा त खुब नराम्रो भन्ने गर्थे । फलानीको छोरी खत्तम भई, बिग्रिएर सकिए भन्थे । अहिले छोरी होस् त पवी जस्तो होस् भन्छन् । यसो भन्दा गर्व लाग्छ ।’
कुनै बेला आफूलाई टिकटकर भन्दा चित्त दुख्ने भए पनि अहिले आफूलाई गर्व गर्छिन् । उनी भन्छिन्, ‘पहिले पहिले मान्छेहरूले टिकटके भन्थे । अनि चित्त दुख्थ्यो । म मात्र टिकटकबाट कला क्षेत्रमा प्रवेश गरेको होइन नि । अहिले जसरी यो क्षेत्रमा आए एकदमै गर्व लाग्छ ।’
- ‘सिने क्षेत्रमा थरी थरीका मान्छेहरू भेटिने रहेछन्’
मिस पवीलाई मोबाइलको क्यामरामा टिकटक बनाउनु र ठुला क्यामराको अगाडि अभिनय गर्नुमा खासै फरक लाग्दैन । कला क्षेत्रमा छोटो समयमै चर्चा कमाएकी र धेरै डिमाण्ड भएकी उनी निर्देशकको ह्यारेसमेन्टबाट बच्नुपर्ने चुनौती देख्छिन् । हालै एक पोडकास्टमा भनेको कुरा सम्झिँदै उनी भन्छिन्, ‘यो सामाजिक दुनियाँमा अनेक थरीका मान्छेहरू हुनेहरू रहेछन् । अनुभव गर्दै, सिक्दै र सचेत भएर अघि बढिरहेको छु ।’
मिस पवीसँग विभिन्नखाले अनुभवहरू छन् । एक जनाले आफूलाई सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्न खोजेको अनुभव पनि छ । ‘मैले यो कुरा हालै एक पोडकास्टमा भनेको थिएँ, त्यो एकदम भाइरल भयो । धेरैले नराम्रो तरिकाले पनि बुझिदिनुभयो । त्यो मान्छेलाई म राम्रोसँग चिन्दैन थिएँ, उसले चाहिँ चिन्दो रहेछ । केहीसम्म ह्यारेसमेन्ट भएको अनुभव गरेँ,’ उनी भन्छिन्, ‘तर, म त्यस्ता मानिससँग नजिक हुन नपाउँ जस्तो लाग्छ । यस कुरामा म सचेत छु ।’
- मौलिक भाषा र गाउँठाउँ चिनाउने यात्रा रोकिँदैन
मिस पवी टिकटकबाटै राम्रो ख्याति कमाउन सफल भए पनि आम्दानी गर्न नसकेको बताउँछिन् । आफ्नो क्षेत्रको भूगोल र भाषाको प्रचारप्रसारका लागि मात्र आफू टिकटक बनाउने गरेको सुनाउँछिन् । म्युजिक भिडियोमा आएको अफर अर्को सफलता भएको उनको बुझाइ छ । जहाँ भए पनि आफ्नो भाषा र भूगोलको प्रचार गर्न नहिचकिचाउने मिस पवीको सोच छ । तर टिकटक बन्द भएपछि सामाजिक सञ्जालमा भिडियो कम मात्रामा राख्ने गरिएको उनी सुनाउँछिन् ।
उनी भन्छिन्, ‘खासगरी एउटा विकट क्षेत्रका छोरीचेलीको जीवन यसरी व्यथित हुन्छ भन्ने सन्देश दिन खोज्थें । हाम्रो डोटेली भाषाको प्रचारप्रसार गर्न पाए आज सबैले हाम्रो भाषा सजिलै ठम्याउँछन् । खुसी लाग्छ । तर म जहाँ पुगे पनि यो काम गर्न छाड्दिन । भाषा र मौलिकता हराउन दिनेछैन ।’
युवापुस्ताले संस्कृति र आफ्नो भाषा बिर्सिरहेका बेला आफूले केही हदसम्म त्यसको संरक्षणमा टेवा पुर्याएको भाषाका जानकारहरूबाट प्रतिक्रिया आउँदा खुसी लाग्ने गरेको उनले सुनाइन् । सरकारले टिकटक बन्द गरिसकेको अवस्थामा आफ्नै युट्युब च्यानल अनि ब्लगमार्फत डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्धन गर्ने योजना रहेको उनले सुनाइन ।
- अनि पानीको धारा काटियो
डडेलधुराको भागेश्वर क्षेत्र कांग्रेसको गढ मानिन्छ । मिस पवी त्यही परिवेशमा हुर्केकी हुन् । गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा त्यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेका गुल्मीका सागर ढकालको पक्षमा मत माग्दै उनले केही टिकटक बनाएकी थिइन् । ‘आफूजस्तै युवालाई प्रोत्साहित गर्न भोट मागेको थिएँ । तर केही व्यक्तिहरुले समस्या पार्न खोजे । धम्क्याउने भाषामा प्रतिक्रिया दिए,’ उनले भनिन् ।
‘सागर ढकाल पनि चुनाव लड्न आएका छन् भन्ने सुनें । अनि धेरै टिकटक प्रयोगकर्ताहरूले सागरको बारेमा टिकटक बनाइदिनु भनेको आग्रहलाई स्वीकारेको थिएँ । त्यसमा मेरो आग्रह पूर्वाग्रह केही थिएन । सागरलाई मैले भेटेको पनि थिएन । केही अगुवाहरू किन सधैँ एउटै व्यक्ति वा नेतालाई भोट दिने ? यस पटक युवा नेतालाई जिताउनुपर्छ भनेपछि भिडियो बनाएँ,’ उनी भन्छिन्, ‘सागरको पक्षमा भिडियो आएपछि गाउँलेहरूले विरोध गरेका थिए । कतिसम्म गरे भने अर्कै दलमा रहेका हाम्रै आफन्तहरूले हाम्रो घरको धारामा आउने खानेपानी नआउने बनाइदिए । खानेपानी बन्द गरिदिए ।’
ढकालका पक्षमा टिकटकमार्फत भोट माग्दा कतिपयले आफ्नो क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समर्थन गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।
चुनावी मैदानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका ढकाल पराजित भए । २५ हजार ५ सय ३४ मत ल्याएर देउवा संसद् सदस्यमा सातौँ पटक निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका ढकालले १३ हजार ४२ मत ल्याएका थिए । हारे पनि उनले पाएको मत परिमाण सम्मानजनक मानियो । ढकालले पाएको मतमा आफ्नो पनि भूमिका रहेको पवीको ठम्याइ छ ।
नेपाली कला क्षेत्रमा जमिरहेकी मिस पवीलाई अहिले फिल्मबाट पनि अफर आउन थालेको छ । सायद छिट्टै उनी फिल्मको पर्दामा पनि देखिनेछिन् ।
उनलाई काठमाडौँबाट धेरै कुरा सिक्नु छ । कला क्षेत्रमा आउने उतारचढाव चिर्दै सिक्दै अगाडि बढ्नु छ । उनलाई आफ्नो पहिचान, वेशभूषा र संस्कृतिलाई जोगाउनु छ र प्रवर्धन गर्ने इच्छा छ । ‘टिकटकले चिनायो यात्रा तय गरिदियो । अब यो यात्रालाई निरन्तरता दिनेछु । टिकटर मिस पवी होइन एक कलाकार र एक अभियन्ता बनेर चिनाउनु छ,’ उनले नेपाल न्यूज बैंकसँगको संवादमा भावी योजना सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित