शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
धर्म-संस्कृति

अष्ट चिरञ्जीवी मन्दिर : जहाँ दर्शनार्थी जन्म दिन मनाउन जान्छन्

शनिबार, १५ वैशाख २०८१, १८ : ५५
शनिबार, १५ वैशाख २०८१

प्रमुख देवी–देवताको मन्दिरमा यदाकदा अष्ट चिरञ्जीवीका मूर्ति पनि राखिएका हुन्छन्, तर अष्ट चिरञ्जीवीकै मन्दिर भनेर बिरलै भेटिन्छन् ।

विराटनगर महानगरपालिका– ८ मधुमारामा भने अष्ट चिरञ्जीवीको मन्दिर छ । २०६५ असार २५ गते बनेको यस मन्दिरको गर्भगृहमा अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य परशुराम र मार्कण्डेयको प्रतिमा स्थापना गरिएको छ । 

यस्तै मन्दिरको प्राङ्गणमा नवग्रह यन्त्रको स्थापना गरिएको छ भने गमलामा वर र पिपल पनि लगाइएको छ । मन्दिर परिसरमा दुईतले कक्ष (हल) का साथै बलि सभाकक्ष, कृपाचार्य कुटी, परशुराम कक्ष, व्यास बगैँचा नामकृत संरचनाहरू पनि छन्, जसले मन्दिरलाई उत्कृष्ट र दर्शनीय बनाएको छ । 

मार्कण्डेय आचार्य (वि.सं १९८५–२०६७) निर्माणकर्ता रहेको यस मन्दिरको कार्य समिति अध्यक्ष विनायककान्त पन्त छन् भने तीर्थराज कोइराला पुजारी रहेका छन् ।

मन्दिरमा हरेक वर्ष हजारौँ भक्तजन आशीर्वाद लिन आउँछन् । मन्दिरले वार्षिक उत्सव र विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । 

खासगरी जन्म दिन मान्नेहरू आ–आफ्नो जन्म दिवसमा यस मन्दिरमा आई अष्ट चिरञ्जीवीको पूजा अर्चना गर्छन् र आशीर्वाद लिन्छन् । 

संस्कृतमा चिरञ्जी भन्ने शब्द छ, जसको अर्थ चिरजीवी हो अर्थात् चिरकालसम्म बाँच्ने अवस्था । 

हामीकहाँ ठुलाले सानालाई आशीर्वाद दिँदा भन्ने गरिन्छ—‘चिरञ्जीवी भवः’ अर्थात् चिरजीवी होऊ । यसका सामान्य अर्थ दीर्घायु हौ भन्ने नै हो । 

पौराणिक केही पात्र छन्, जसलाई चिरञ्जीवी भनिएको छ, जो युगौँदेखि जीवित छन्, चिरञ्जीवी छन् । यी चिरञ्जीवीहरूको एक समूह छ, त्यसै समूहलाई अष्ट चिरञ्जीवी (आठ चिरञ्जीवी) भनिएको छ । 

पौराणिक कथाका अनुसार अष्ट चिरञ्जीवीहरू अझै पनि हामीबिचमा छन् । भनिन्छ, अष्ट चिरञ्जीवीको स्मृतिले मानिसलाई दीर्घायु बनाउँछ । अष्टचिरञ्जीवीहरू देवतुल्य पुज्य छन् । देवी देवताको पूजाआजामा अष्ट चिरञ्जीवीको पनि पूजा अर्चना गरिन्छ ।

Mandir_Photos (2)

अष्ट चिरञ्जीवीहरू को हुन् भन्ने सन्दर्भमा संस्कृतको एक श्लोक छ– 

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषणः । 

कृपः परशुरामश्च सप्तएतै चिरजीविनः ।। 

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् । 

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित ।। 

यस श्लोकको तात्पर्य यो छ कि अश्वत्थामा, दैत्यराज बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिलाई बिहानै याद गर्नाले सबै रोगको अन्त्य हुन्छ र मानिस १०० वर्षको उमेरमा पुग्छ । उक्त श्लोकमा उल्लेख गरिएका दिव्य पुरुषहरूको पुरुषार्थको विषयमा शास्त्रहरूले निम्न प्रकारले वर्णन गरेको पाइन्छ ।

१) परशुराम 

परशुराम भगवान् विष्णुका छैटौँ अवतार हुन् । उनी शिवभक्त थिए । कठोर तपस्या गरेर भगवान शिवको वरदान प्राप्त गरे । अधर्मी क्षत्रीयहरूलाई मारेर २१ पटक पृथ्वीलाई क्षत्रीयरहित बनाए । परशु धारण गर्ने भएकाले उनको नाम रामबाट परशुराम भयो । सत्य युगमा अक्षय तृतीयाको दिन जन्मेका परशुरामको उपस्थिति त्रेता र द्वापर युगमा पनि पाइन्छ ।

२) हनुमान

रामभक्त हनुमानको नाम अष्टचिरञ्जीवीहरूमा पहिले आउँछ । उनलाई कलियुगमा सबैभन्दा छिटो प्रशन्न हुने देवता भनिन्छ । बाल्यकालमा हनुमानले सूर्यलाई निल्दा इन्द्रले उनलाई वज्र प्रहार गरेका थिए । जसका कारण उनको मृत्यु भएको थियो । यो घटनाले वायुदेवलाई रिस उठ्यो र उनलाई शान्त पार्न सबै देवताहरूले मिलेर हनुमानलाई बल, बुद्धि र दीर्घायुको आशीर्वाद दिएका थिए । त्यही दीर्घायुको वर प्राप्तिले गर्दा उनी चिरञ्जीवी भए ।

एक अर्को प्रसङ्गका अनुसार रक्षराज रावणले अपहरण गरी अशोकवाटिकामा राखिएकी देवी सीताको खोजी गरी हनुमानले उनलाई प्रभु रामको सन्देश दिएका बखत देवी सीता अति प्रशन्न भएकी अवस्थामा हनुमानलाई चिरञ्जीवी होऊ भनी वरदान दिएकी थिइन् ।

३) विभीषण 

विभीषण लंकाका राजा रावणका कान्छो भाइ थिए । विभिषण रक्ष संस्कृतिका भएर पनि भगवान् रामका भक्त थिए । राम र रावणबिच भएको युद्धमा विभीषणले रामलाई साथ दिए । युद्धको क्रममा विभीषणले रावणका गुह्य कुराहरू श्रीरामलाई बताए, जसले उनलाई रावणको वध गर्न मद्दत ग¥यो । रावणको मृत्युपछि भगवान् श्रीरामले विभिषणलाई लंकाका राजा बनाएका थिए । उनले अधर्म विरुद्ध धर्मलाई साथ दिएको हुनाले उनले दीर्घायुको आशीर्वाद पाए ।

४) महर्षि व्यास

महर्षि पराशर र सत्यवतीका पुत्र कृष्ण द्वैपायन पनि महर्षि भए । कृष्ण द्वैपायनले वेद संकलन, विभाजन र सम्पादन गरेका थिए । उनले अठार पुराण महाभारत, भागवत र वेदान्त आदिको पनि रचना गरेका थिए । 

पुराणका अनुसार विभिन्न कल्पमा जन्म लिने २८ महर्षिहरूले वेदहरू सङ्कलन र विभाजन गरेका थिए । विशेषतः महाभारतमा उनको जन्म आदि कथा विस्तृत रूपमा दिइएको छ । 

वेदका रचनाकार भएकाले उनी वेदव्यासको नामले प्रसिद्ध भए । पछि सत्यवतीले हस्तिनापुर नरेश शान्तनुसँग विवाह गरिन् । सत्यवतीका छोरा विचित्रवर्यको निःसन्तान मृत्यु भएपछि राजवंशको निरन्तरताका लागि सत्यवतीले द्वैपायनलाई बोलाएर विचित्रवर्यको विधवा पत्नी (अम्बिका र अम्बालिका) सँग सम्भोग गर्न आदेश दिए, जसबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो । उनैको वीर्यबाट विदुरको पनि जन्म भएको थियो । संसार रहुन्जेल वेद रहन्छ र वेद रहुन्जेल वेद व्यास रहन्छन् । त्यसैले वेदव्यास चिरञ्जीवी पुरुष हुन् ।

५) कृपाचार्य 

कृपाचार्य महर्षि गौतमका नाति र महर्षि शरदबतका छोरा थिए । उनी धनुर्विद्यामा निकै निपुण थिए । कृपाचार्य हस्तिनापुर राजपरिवारको कुलगुरु थिए र धृतराष्ट्र एवं पाण्डुको छोराहरूलाई शिक्षा दिएका थिए । कृपाचार्य महाभारत युद्धमा कौरवको पक्षमा थिए, तर युद्धमा यिनी जोगिए । युद्ध समाप्त भएपछि हस्तिनापुरका शासक पाण्डु पुत्रका साथ बसे । उनले नै परीक्षितलाई पनि ज्ञान दिएका थिए ।

६) ऋषि मार्कण्डेय 

ऋषि मार्कण्डेयको जन्म छोटो जीवनको भाग्य लिएर भएको थियो । उनी भगवान् शिवका परम भक्त थिए र हर क्षण आराध्यमा मग्न रहन्थे । आयु पूरा भएपछि यमदूत आए तर उनी भक्तिमा लीन रहेकाले प्राण हरण गर्न सकेनन् । त्यसपछि यमराज स्वयं आए । यमराजले मार्कण्डेयमाथि यमपास फ्याँके । त्यो देखेर शिव क्रोधित भएर यमराजमाथि आक्रमण गरे । त्यो देखेर यमराज भयभीत भए र महादेवसँग माफी मागे र मार्कण्डेयलाई दीर्घायुको वरदान दिए । कालान्तरमा मार्कण्डेय प्रसिद्ध ऋषि कहलाए । शैव ऋषि मार्कण्डेयले महामृत्युञ्जय मन्त्रको निर्माण र सिद्ध गरेर संसारलाई दिएका छन् । यो मन्त्रले अकाल मृत्युबाट रक्षा गर्छ । उनले पुराणको रचना गरे, जसको नाम मार्कण्डेय पुराण हो । 

यो प्राचीनतम पुराणमा पर्छ । यसमा अग्नि, इन्द्र, सूर्य आदि देवतामाथि विवेचन छ र गृहस्थाश्रम, दिनचर्या, नित्यकर्म आदि चर्चा छ । भगवतीको विस्तृत महिमाको परिचय दिने यस पुराणमा दुर्गासप्तशतीको कथा एवं माहात्म्य, राजा हरिशचन्द्रको कथा, मदालसा–चरित्र, अत्रि–अनसूयाको कथा, दत्तात्रेय–चरित्र आदि अनेक सुन्दर कथाहरूको विस्तृत वर्णन छ ।

७) बलि 

असुरराज बलि विष्णुभक्त र परोपकारी थिए । उनी संसारका अद्वितीय दानी कहलाए । शक्तिशाली बलिले पृथ्वी, पाताल र स्वर्ग गरी तीनै लोकको अधिपति बनेका थिए । उनलाई हराउन देवताहरू असफल भएपछि भगवान् विष्णुको शरणमा गए ।

तीनै लोकको जितपछि राजा बलिले अश्वमेध यज्ञको आयोजना गरे । यज्ञादि सम्पन्न गरी दान गर्न थाले । त्यसैबेला श्री विष्णुको पाँचौँ अवतार वामन पनि दान लिन त्यहाँ आइपुगे, उनले दानको रूपमा तीन पाइला जग्गा मागे । वामनले आफ्नो पहिलो र दोस्रो पाइलामै सम्पूर्ण पृथ्वी, आकाश र पाताल नापी हाले ।

अब तेस्रो पाइला कहाँ राख्नु भनी सोधे । बलिसँग अब उनको शरीरबाहेक केही बाँकी थिएन । त्यसैले वामनको तेस्रो पाइला टेक्न बलिले आफ्नो पिठ्युँ अर्पिदिए । 

यसरी बलिको स्वामित्वमा न शरीर बाँकी रह्यो न राजकाज । वामनले दानमा पाएको स्वर्ग देवराजलाई, धर्ती र पाताल पनि जजसको स्वामित्वमा थियो, त्यसलाई फर्काइदिए । असुरराज बलि पनि पुनः पातालका राजा भए । बलिको दानशीलताका कारण वामनले उनलाई चिरजीवनको आशीर्वाद दिए ।

IMG20240425191337

८) अश्वथामा 

सबै चिरञ्जीवीहरूमध्ये, अश्वथामा एक मात्र त्यस्तो चरित्र हो, जसले वरदानको रूपमा नभई श्रापको कारणले चिरञ्जीवी मानिएका हुन् । अश्वथामा गुरु द्रोणाचार्यका छोरा र दुर्योधनका मित्र थिए । महाभारत युद्धमा उनी कौरवको पक्षमा थिए । युद्ध समाप्त भइसकेको थियो, कौरव परास्त भइसकेका थिए । 

दुर्योधन मारिसकेका थिए । दुर्योधनलाई छल गरेर मारेको भनेर अश्वथामामा प्रतिशोधको ज्वाला भड्किरहेको थियो । उनले पाण्डवहरूको राति निद्रामा रहेका छोराहरूलाई मारिदिए । साथै अर्जुनकी पत्नी सुभद्राको गर्भमाथि ब्रह्मास्त्र प्रहार गरिदिए ।

श्री कृष्णले अश्वत्थामालाई ब्रह्मास्त्र फर्काउन भने तर उनले मानेनन् । अर्जुनले अश्वत्थामालाई मार्न खोजे तर श्रीकृष्णले भने, ‘हे अर्जुन ! शास्त्रहरूका अनुसार पतीत ब्राह्मणको वध पनि पाप हो र आततायीलाई दण्ड न दिनु पनि पाप हो । अतः तिमी त्यही गर जो उचित छ ।’

तिनको कुरालाई बुझेर अर्जुनले आफ्नो तरबारले अश्वत्थामाका शिरको केश काटेर त्यसको ललाटको मणि निकाले । मणि निस्किएकाले अश्वत्थामा श्रीहीन हुनुको साथै ललाटमा घाउ बस्यो । तत्पश्चात् श्रीकृष्णले अश्वत्थामालाई घृणा र पीडाका साथ चिरकालपर्यन्त भौँतारिन श्राप दिए । आज पनि अश्वथामालाई देखेको दाबी गरिन्छ ।

  • वार्षिकोत्सव

प्रत्येक वर्ष असार महिनाको शुक्ल पक्षको सप्तमी तिथिका दिन यस मन्दिरको वार्षिकोत्सव मनाइन्छ । असार शुक्ल पक्ष देवी पक्ष हो । वर्षको चार नवरात्रमध्येको यो पनि एक नवरात्र पक्ष हो । यसलाई गुप्त नवरात्र भनिन्छ र यो साधना सिद्धिका लागि विशेष सहायक मानिन्छ । मन्दिरको संस्थापना, प्राण प्रतिष्ठा र पछि वर्षौं वर्ष वार्षिकोत्सवका लागि समेत नवरात्रको समय र मुहूर्त जुराउनु निश्चय नै कल्पनाकारको अत्यन्त उच्च चेतनास्तरको परिचायक हो । 

अष्ट चिरञ्जीवीको नामको निर्धारण गर्ने स्रोत, शास्त्र वा ग्रन्थको यकिन मैले गर्न सकेको छैन । तथापि विशाल संस्कृत साहित्यमा अष्ट चिरञ्जीवीझैँ एकेश्वर, अद्वैत, त्र्यम्बक, चतुर्वेदी,  पञ्चभूत, षडाचार, सप्तऋषि, नवदुर्गा, दश महाविद्या, एकादशी रुद्र, द्वादश ज्योतिर्लिङ्ग आदि अङ्कमा आधारित अनेकन् दिव्य तत्त्वहरूको उपस्थिति पाइन्छ ।

अष्ट चिरञ्जीवीको संस्कृत श्लोकमा अश्वथामा, दैत्यराज बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिको नाम उल्लेख भए पनि अष्ट चिरञ्जीवीको नाममा कतैकतै युधिष्ठिर, भीष्म, विश्वामित्रजस्ता दिव्य पुरुषहरूको नाम पनि उल्लेख भएको देखिन्छ ।

मूल प्रश्न यो हो कि मनुष्यको जीवनमा अष्ट चिरञ्जीवी भन्ने विषयको महत्त्व के छ, जसको उपस्थितिका कारणले सनातन संस्कृति र साहित्यमा यसले यस्तो महत्त्वपूर्ण स्थान पाएको छ । यी चिरञ्जीवी पुरूषहरूको चरित्र वा कर्म, जो सम्पूर्ण मानव जातिका लागि प्रेरक छन्, जुन ज्ञानको आधारमा मानिसले आफूलाई सच्याउँदै वा कर्मशील हुँदै जीवनलाई सार्थक तुल्याउन सक्षम हुन सक्छ ।

जस्तै ः कृष्ण द्वैपायन वेदव्यासको उपाधि किन प्राप्त गरे । रामका भक्त हनुमान निश्वार्थ, साहस, भक्त, सामथ्र्य र सुकर्मका लागि चिनिन्छन् । भगवान् विष्णुका अवतार परशुरामले पिताको आज्ञा मानेर माताको शिर काटे र पिताले दिएको वरदानको बलमा आमालाई पुनर्जीवित तुल्याई आज्ञाकारिताको पर्याय बने । विभीषण सत्य, धर्म र भक्तिको उदाहरण बने । बलिको दानशीलताका लागि, कृपाचार्य ज्ञानको सागरका लागि र मार्कण्‍डेय साधना सिद्धिको बलमा पुनर्जीवन प्राप्तिका लागि प्रसिद्ध भए । सकारात्मकता लागि मात्र होइन, नकारात्मकताप्रति सतर्कताका लागि पनि अष्ट चिरञ्जीवीको सूचीमा एक पात्र अश्वत्थामाको रूपमा समाविष्ट छ । असीमित गुण र बल भएका यी अष्ट चिरञ्जीवी व्यक्तित्व सदैव मानवताको लागि प्रातः स्मरणीय छन्, त्यसैले अष्ट चिरञ्जीवी कहलिएका हुन् ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप