शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला हुँदै

शनिबार, १५ वैशाख २०८१, ०५ : ४२
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ

इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ।

त्यस्तै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो ।  नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।

उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाएको छ ।  उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।  बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् ।

आयोगले योग्य मतदाताहरूलाई उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप