यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार बाराको सिमरामा तराई यातायात व्यवसायी सङ्घको १७ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री यादवले कार्यालयमा व्यवसायिकलगायत आम नागरिकले भोग्ने समस्या, ढुवानीका क्रममा हुने कठिनाइ समाधानका लागि सरकारले पहल गर्नेसमेत बताए ।
“यातायात व्यवसायीले सवारीसाधन नवीकरण, सवारी चेकजाँच, कर दाखिलाका क्रममा झेल्नुपरेका समस्या समाधानका लागि मेरो ध्यानाकर्षण भएको छ । समस्या समाधानका लागि कानुनी र अन्य व्यवहारिक समस्या पहिचान गरी समन्वयात्मक ढङ्ले अगाडि बढ्ने छु”, मुख्यमन्त्री यादवले भने ।
त्यस्तै, यातायात व्यवसायिकको सहजताका लागि बाराको पथलैयामा सम्पूर्ण काम हुनेगरी कार्यालयको विस्तारका लागि समेत पहल गर्ने मुख्यमन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले महोतरीको मठियानीमा भएको आगलागी पीडितका घर बनाउने उद्घोषसमेत गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले यातायात व्यवसायीले भोग्नुपरेका कानुनी र अन्य समस्या समाधानका लागि आफूले पनि आवाज उठाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सङ्घीय सांसद अच्युत मैनाली, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।