चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् । शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका हुन् ।
करिव ६०० मेगावाट थप जलविद्युत उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने गभर्नर अधिकारीको दाबी छ ।
सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरू बिदेसिएकाले आन्तरिक मागमा शिथिलता आएको भन्दै उनले खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित देखिएको बताए ।
गभर्नर अधिकारीले रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उतारचढाव आउन सक्ने जोखिम कायमै रहेको पनि बताए ।
आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाईं, मौसम अनुकूल र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको भन्दै उनले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा हुँदा निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको बताए ।
उनले चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको भन्दै फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजी कोष जोखिम सम्पत्ति १२.४४ प्रतिशत रहेको बताए ।
नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ र सुरक्षित अवस्थामा रहेको गभर्नर अधिकारीको भनाइ छ । उनले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको जानकारी दिए ।
निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका रहेको उनको भनाई छ । गभर्नर अधिकारीले शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको उल्लेख गर्दै राष्ट्र बैंकले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै जाँदा आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको विश्वास व्यक्त गरे ।
बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको भन्दै उनले बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएकाले आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको बताए ।
गभर्नर अधिकारी भन्छन्-
अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ । खासगरी विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले चालु खाता एवं शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको छ । उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउन आधार सिर्जना भएको छ ।
थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्युन रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको छ ।
चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ । तथापि, रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उतारचढाव आउन सक्ने जोखिम भने कायमै छ । आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ ।
करिब ६०० मेगावाट थप जलविद्युत उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ । तथापि, सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू बिदेसिएकाले आन्तरिक माग भने शिथिल रहेको छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् । आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ ।
२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । यद्यपि, २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजी कोष जोखिम सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ । चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको छ । निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका छन् ।
शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ । आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । तथापि, बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा छ ।
वित्तीय स्थायित्वका लागि विभिन्न नियमनकारी व्यवस्था गरिएको छ । वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्वलाई नेपाल राष्ट्र बैंकले सदैव प्राथमिकतामा राख्दै आएको छ ।