अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल । हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्याइरहेको टोलो न्युजले जनाएको छ ।
उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन शिक्षा विभागसँग ती विद्यालयहरूको पुनर्निर्माण गर्न पर्याप्त रकम नभएको बताए । “वर्षा र बाढीका कारण लगभग ७० वटा विद्यालय पूर्ण वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन्, सम्बन्धित निकायबाट विद्यालयहरूलाई उचित संरक्षण प्राप्त नभएमा उरुजगन प्रान्तले अस्वाभाविक समस्याहरूको सामना गर्नुपर्ने छ”, उनले भने ।
प्रान्तका धेरै शिक्षक र विद्यार्थीहरूले शैक्षिक प्रक्रिया सुस्त भएको बताएका छन् । क्षतिग्रस्त विद्यालयहरूका अधिकांश विद्यार्थी अहिले खुला क्षेत्र वा निजी निवासमा पढिरहेको स्रोतले जनाएको छ ।
“विद्यार्थीहरूले सिक्ने ठाउँको अभावमा दिन कटाइरहेका छन्”, शिक्षक सिराजुद्दिन सिराजमललाई उद्धृत गर्दै टोलो न्युजले भनेको छ । कठिन परिस्थितिलाई उजागर गर्दै एकजना विद्यार्थी जावेदले भने, “हामी घाममुनि बस्छौँ, हामीसँग केही छैन र शिक्षकहरू पनि आउनुहुन्न, यसले हामीलाई घर फर्कन बाध्य पार्छ ।”
यसैगरी अर्का एक विद्यार्थीले पढाइ जारी राख्नका लागि आफ्ना विद्यालयहरू पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । टोलो न्युजका अनुसार उरुजगनका स्थानीयवासीहरूले पनि शैक्षिक सुविधाहरू गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसबाट आफ्ना बालबालिकाको शैक्षिक विकासमा हानिकारक असर पर्ने उनीहरूको गुनासो छ । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता