शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान

शुक्रबार, १४ वैशाख २०८१, १० : १५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार राति रोयल च्यालेन्जर्स बैंगलुरुले बलियो प्रतिद्वन्द्वी सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । जारी सिजनको आईपीएलमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको बैंगलुरुको यो केवल दोस्रो जित हो ।

हालसम्म नौ खेल खेलेको बैंगलुरु सात खेलमा भने पराजित भएको छ । बैंगलुरुले बलियो हैदराबादलाई हराएको उक्त खेलमा केही खेलाडीले कीर्तिमान पनि बनाएका छन् । कीर्तिमान बनाउनेमा बैंगलुरुका प्रभावशाली खेलाडी विराट कोहली अगाडि छन् ।

हैदराबादविरुद्धको खेलपछि कोहली आईपीएलको १० वटा संस्करणमा चार सयभन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यानका रूपमा दरिएका छन् । हैदराबादविरुद्धको खेलमा कोहलीले ५१ रन बनाएका थिए । उनले ४३ बलमा एक छक्का र चार चौका पनि हिर्काएका थिए ।

जारी सिजनको आईपीएलमा कोहलीले बनाएको रन सङ्ख्या चार सय ३० पुगेको छ । यस क्रममा उनले एक शतक र तीन अर्धशतक पनि प्रहार गरेका छन् । आईपीएलको १० वटा संस्करणमा चार सयभन्दा बढी रन बनाउने खेलाडीको सूचिमा दरिने क्रममा कोहलीले सुरेश रैना, डेभिड वार्नर र शिखर धवनलाई पछाडि पारेका हुन् ।

बाँकी तीन ब्याट्सम्यानले भने आईपीएलको नौवटा संस्करणमा चार सयभन्दा बढी रन बनाएका छन् । यही सिजनको आईपीएलमा डेभिड वार्नर र शिखर धवनले पनि कोहलीको कीर्तिमानसँग बराबरी गर्ने सम्भावना छ ।

यसैगरी कोहली आईपीएलको इतिहासमा ओपनर ब्याट्सम्यानको रूपमा क्रिजमा आएर चार हजार रन पुरा गर्ने चौथो खेलाडी पनि बनेका छन् । कोहलीले ओपनर ब्याट्सम्यानको भूमिकामा हैदराबविरुद्ध चार हजार रन पुरा गरेका हुन् ।

यसअघि यस्तो कीर्तिमान शिखर धवन, डेभिड वार्नर र क्रिस गेलले बनाएका थिए । शिखर धवनले ओपनर ब्याट्सम्यानको भूमिकामा हालसम्म दुई सय दुई पाली खेल्दै कुल ६ हजार तीन सय ६२ रन बनाएका छन् । केएल राहुल पनि चार हजार रनको नजित पुगेका छन् ।

यसैगरी रजत पाटिदार बैंगलुरुका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् । हैदराबादविरुद्ध रजतले केवल १९ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५० रन बनाएका हुन् । उनले रोविन उथप्पाको कीर्तमानसँग बराबरी गरेका हुन् ।

रोविन उथप्पाले सन् २०१० को आईपीएलमा पञ्जाबविरुद्ध १९ बलमा अर्धशतक बनाएका थिए । यो सूचिमा सबैभन्दा अगाडि क्रिस गेल छन् । उनले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध केवल १७ बलमा अर्धशतक पुरा गरेका थिए ।

यसैगरी जारी सिजनको आईपीएलमा कुनै पनि टोलीविरुद्ध सर्वाधिक रन बनाउने कीर्तिमान हैदराबादले आफ्नो नाममा पारेको छ । हैदराबादले यो सिजन खेलिएको बैंगलुरुविरुद्धको पहिलो खेलमा दुई सय ८७ र दोस्रो खेलमा बिहीबार एक सय ७१ रन बनायो ।

हैदराबादले यो सिजन बैंगलुरुविरुद्ध बनाएको कुल रन सङ्ख्या चार सय ५८ पुगेको छ । यसअघि यो कीर्तिमान बैंगलुरुको नाममा थियो । बैंगलुरुले सन् २०१३ को आईपीएलमा पुणे वारियर्सविरुद्ध दुई खेलमा कुल चार सय ५० रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप