औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
काठमाडौँ । नेपालमा औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२३ मा ६६५ औलोका बिरामीमध्ये ६४९ जना बाहिरबाट आएका थिए । यसमध्ये पनि ५१९ जना भारतबाट आएका थिए ।
चालु आर्थिक वर्षमा ५७४ जना औलोका नयाँ बिरामी फेला परेका छन् । यसमध्ये ५५६ जना बाहिरबाट आएको र १८ जना नेपालकै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए ।
पछिल्लो पाँच वर्षमा औलोका बिरामी कति भेटिए ?
आर्थिक वर्ष २०७६/०७७ मा औलोका ६१९ जना बिरामी फेला परेका थिए । यसमध्ये ५१७ जना बाहिरबाट आएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा औलोका जम्मा बिरामी ३७७ जना फेला परेकोमा ३११ जना बाहिरबाट आएका थिए ।
आर्थिक वर्ष २०७८/०७९ मा ४९१ जना औलोका बिरामी फेला परेकोमा ४५३ जना बाहिरबाट आएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५२८ जना औलोका बिरामी फेला परेकोमा ५०५ जना बाहिरबाट आएका थिए । यस्तै, चालु आर्थिक वर्षको पछिल्लो तथ्याङ्क अनुसार ५७४ जनामा औलो रोग देखा परेको छ । यसमध्ये ५५६ जना बाहिरबाट आएका हुन् ।
के हो औलो ?
औलो रोग एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डा.मरासिनीले बताए । उनका अनुसार नेपालमा मूख्यतया औलोका दुई किसिमका परजीवि छन् । ती हुन्– एकप्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स ।
‘गत वर्षदेखि शान्ति सेनाबाट फर्किएका सुरक्षाकर्मीहरूमा प्लाज्मोडियम ओभेली समेत भेटिएको छ,’ उनले भने, ‘यीमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ ।’
औलोको जोखिममा कति क्षेत्र ?
नेपालमा सन् २०२३ मा औलोको सूक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिम क्षेत्र ६ जिल्लाका ८ पालिका अन्तर्गतका १० वटा वडा रहेको डा. मरासिनीले बताए । मध्यम जोखिम क्षेत्रमा ११ जिल्लाका २३ पालिका अन्तर्गतका ३५ वटा वडा छन् । कम जोखिम क्षेत्र ६५ जिल्लाका ४१३ पालिका अन्तर्गतका २ हजार ३३१ वटा वडा रहेको उनले सुनाए ।
देशभर १ करोडभन्दा बढी जनसङ्ख्या औलोको जोखिममा
महाशाखाका अनुसार देशभर १ करोड २ लाख ९९ हजार १६९ जनसङ्ख्या औलोको जोखिममा छ । औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा रहेको डा. मरासिनीले बताए ।
कुन प्रदेशमा कति औलोका बिरामी ?
पछिल्लो पटक देशभर ५७४ जना औलोका बिरामी देखिएका छन् । महाशाखाका अनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २३० जना औलोका बिरामी फेला परेका छन् । सबैभन्दा कम कोशी प्रदेशमा १३ जना औलोका बिरामी फेला परेका छन् ।
सुदूरपश्चिममा १७१ जना, कर्णाली प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा १९ जना, बागमती प्रदेशमा ४१ जना र मधेस प्रदेशमा ७२ जना औलोका बिरामी फेला परेको महाशाखाले जनाएको छ ।
नेपालको औलो निवारणका लागि भएका पहल
महाशाखाका अनुसार सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम मार्फत औलो नियन्त्रण कार्यक्रम सुरुवात गरिएको थियो । सन् १९५८ मा ‘आँलो उन्मूलन कार्यक्रम’ सञ्चालन भएको थियो । यस्तै, सन् १९७८ मा एकीकृत स्वास्थ्य प्रणालीमार्फत औलो नियन्त्रण कार्यक्रम १२ जिल्लाबाट सुरुवात गरी देशैभर विस्तार गरिएको थियो ।
महाशाखाका अनुसार सन् १९९८ मा लक्षित क्षेत्रहरूमा औलो नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन भएका थिए । सन् २००७ मा पहिलो पटक पञ्चवर्षीय राष्ट्रिय औलो नियन्त्रण रणनीति (२००७/०८ देखि २०११/१२) तयार गरी कार्यक्रम लागु गरिएको महाशाखाले जनाएको छ ।
सन् २०१० तथा २०१३ मा अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीद्वारा गरिएको कार्यक्रम मूल्याङ्कनले पूर्व निवारणमा जान सक्ने सुझाव दिए अनुसार नेपाल औलो रणनीतिक योजना (२०१४ देखि २०२५) तयार गरी कार्यान्वयनमा छ ।
सन् २०१७ मा गरिएको मध्यावधि समीक्षाले शङ्कास्पद बिरामीको परीक्षण तथा उपचार र बिरामी तथा जोखिम क्षेत्रको निगरानी तथा प्रतिकार्यको सुझाव दिएको थियो । सन् २०१७ को मध्यावधि समीक्षा तथा सङघीय संरचना अनुरुप सन् २०२० मा औलोको राष्ट्रिय रणनीतिक योजना (२०१४– २०२५) अद्यावधिक भएको महाशाखाले उल्लेख गरेको छ ।
औलो निवारण कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा सञ्चालनमा रहेको डा. मरासिनीको भनाइ छ । ‘औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने नाराका साथ बिहीबार विश्व औलो दिवस मनाइएको छ ।
सन् २००७ मा विश्व स्वास्थ्य संगठनको आयोजनामा बसेको विश्व स्वास्थ्य सम्मेलनको ६० औँ सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरे अनुरूप नेपालले पनि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।