कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
काठमाडौँ । दुई दिने नेपालको राजकीय भ्रमण सकेर कतारका अमिर शेख तमिम बिन हमद अल–थानी स्वदेश फर्किए । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरे । भ्रमणको क्रममा विभिन्न ८ वटा समझदारी तथा सम्झौता भए ।
बंगलादेशको भ्रमण सकेर नेपाल आएका अमिर थानीले नेपाल र नेपालीको प्रशंसा समेत गरे । यसअघि सन् २०२३ को नोभेम्बर ६ र ७ मा भ्रमणको मिति तय भए पनि त्यो बेला इजरायल र हमासबिचको युद्धका कारण अन्तिममा उनको भ्रमण रोकिएको थियो ।
अमिरको नेपाल भ्रमणपछि कतार र नेपालबिच बलियो सम्बन्ध रहेको टिप्पणी विश्व समुदायमा हुन थालेको छ । लामो प्रयासपछि खाडी मुलुकबाट राष्ट्र प्रमुखको भ्रमण भएको हो । त्यसका लागि कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
कतारका अमिरको नेपाल भ्रमण, भ्रमणको सन्देश लगायतका विषयमा राजदूत डा. ढकालसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:
कतारी राजाको नेपाल भ्रमण कसरी सम्भव भयो ?
मेरो ‘एक्सन प्लान’को दोस्रो बुँदामा उच्चस्तरीय भ्रमण गराउने भन्ने थियो । म राजदूत नियुक्त भएर गएपछि कतारमा मैले ओहोदाको प्रमाणपत्र पेस गरेँ । त्यो बेला नेपालका राष्ट्रपतिबाट कतारका राजाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरिएको जानकारी दिएको थिएँ । अन्तिममा नेपाल सरकार र नेपाली जनताले राजाको नेपाल भ्रमणको अपेक्षा राखेका छन् भनेको थिएँ ।
त्यो बेला सन् २०२२ मा विश्वकपका कारण व्यस्त हुनुहुन्छ, सन् २०२३ मा हुन सक्छ भन्ने जवाफ आएको थियो । परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकलसँग धेरै पटक भेटघाट भयो । भेटघाटमा राखिएको जिज्ञासाको जवाफ मैले दिएको थिएँ । त्यसपछि नोभेम्बर ६ र ७ कालागि भ्रमणको मिति तय भयो ।
भ्रमणको मिति तय भएर तयारी भइरहेको थियो । त्यही बेला गाजास्थित हमास समूहले इजरायलमा आक्रमण ग¥यो । इजरायल र हमासबिच युद्धको अवस्था सिर्जना भयो । त्यस्तै ८ जना भारतीय नागरिकलाई कतारमा मृत्युदण्ड दिने भन्ने थियो । इजरायल–गाजाबिचको युद्ध र ८ जना भारतीयलाई मृत्युदण्ड दिने विषयका कारण अन्तिममा नेपाल भ्रमण स्थगित हुनपुग्यो ।
यो बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूसँग पनि भेट भएको थियो । भेटको क्रममा उहाँले निकै नै ‘इन्करेज’ गर्नुभयो । यो त धेरै नै राम्रो योजना हो, जसरी पनि राजाको नेपाल भ्रमण गराउनुपर्छ भन्नुभयो । जसले गर्दा मलाई थप हौसला मिल्यो ।
भ्रमण रोकिँदा अब भ्रमण हुँदैन कि भन्ने थियो । त्यसपछि म झन् गम्भीर भएर लागेँ । त्यसपछि अप्रिल २३ र २४ को लागि मिति तय भएर चिट्ठी आयो । त्यही चिट्ठीको आधारमा हामीले परराष्ट्र मन्त्रालयमा जानकारी पठायौँ । फेरि बिचमा अरू देश भियतनाम, फिलिपिन्स र बंगलादेश जोडियो । अन्य देश पनि जोडिएपछि अप्रिलको २४ र २५ मा गर्ने भन्ने भयो । त्यही आधारमा हामीले यता खबर ग¥यौँ । पटकपटक समय तलमाथि हुने अवस्था थियो । सबै देशको भ्रमण मिलाउने क्रममा त्यस्तो हुन पुगेको थियो । पछि भियतनामको स्थगित भयो । भियतनामको स्थगित भएपछि अप्रिल २३ र २४ मा गर्ने भनेर पत्र आएको थियो ।
त्यसपछि मैले त्यहाँको चिफ अफ प्रोटोकलसँग कुरा गरेँ । उहाँसँग मेरो राम्रो सम्बन्ध थियो । अन्तिमतिर इरानले इजरायलमाथि आक्रमणपछि पुनः भ्रमण रोकिन्छ कि भन्ने डर थियो । चिफ अफ प्रोटोकलसँग नियमित सम्पर्कमा थिएँ । यो पटक जसरी पनि गर्ने भन्ने जवाफ दिएपछि म ढुक्क भएँ । परराष्ट्र मन्त्रालयमा भ्रमणको सहजीकरणका लागि नेपाल आउन अनुमति पाउँ भनेर पत्र पठाए । त्यही आधारमा नेपाल आएँ ।
कतारी राजाको नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा सरकारी अधिकारीहरूबाट कति सहजीकरण भयो ?
मलाई त्यो बिचमा एकदमै बढी सहजीकरण भयो । प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू लगायतले एकदमै ‘इन्करेज’ गर्नुभयो । कतारका अमिरलाई नेपाल भ्रमण गराउनु एकदमै राम्रो हुन्छ भनेर मलाई हौसला दिइरहनुभयो । जसले गर्दा पनि निकै उत्साहित थिएँ ।
अर्कोतिर परराष्ट्रमन्त्रीज्यू लगायतले पनि निकै सहयोग गर्नुभयो । म नियुक्त भएर गएपछि परराष्ट्रमन्त्रीका रुपमा आउनुभएका नारायण खड्का, एनपी साउद र नारायणकाजी श्रेष्ठबाट पनि निकै सहयोग मिल्यो । सबै क्षेत्रबाट मलाई मेरो काममा सहयोग नै मिलेको थियो ।
कतारले नेपाललाई उच्च प्राथमिकतामा राख्नुको कारण के हो ?
३० औँ वर्षदेखि नेपालीहरू कतारमा काम गरिरहेका छन् । उनीहरूलाई आफ्नो समृद्धिमा नेपालीहरूको ठुलो योगदान छ भन्ने लागेको छ । जहिल्यै भेट हुँदा कतारमा काम गर्ने नेपाली र कतारको जनसङ्ख्या बराबर छ भन्ने कुरा गर्नुहुन्थ्यो । हाम्रा नेपालीले गरेको योगदानका कारण कतार निकै सकारात्मक थियो ।
दोस्रो कुरा, नेपाल विश्वका दुई शक्तिशाली देशको बिचमा छ । नेपालको असंलग्न परराष्ट्र नीति छ । अन्तर्राष्ट्रियस्तरमा नेपालले उठाउन गर्ने मुद्दा र कतारले उठान गर्ने मुद्दा मिल्दा रहेछन् । हामीले भोटिङ गर्ने ठाउँमा कतारको पनि त्यही खालको हुने रहेछ । धेरै कुरामा समानता छ । उठान गर्ने मुद्दाहरूसमेत उस्तैउस्तै रहेछन् ।
पछिल्लो समय नेपालले उठान गर्दै आएको विषय जलवायु परिवर्तनको हो । कतारको हकमा पनि जलवायु परिवर्तनको मुद्दा प्रमुख बनेको छ । हाम्रोमा अहिले गर्मी बढिरहेको छ भने कतारमा चिसो बढिरहेको छ । क्लाइमेट चेन्जको असर त सबैलाई परिरहेको छ । यसको असर नेपाललाई मात्रै नभई हामीलाई पनि पर्छ भनेर कतार यो विषयमा गम्भीर देखिन्छ ।
त्यस्तै नेपालले धेरै प्रकारले उतारचढाव भोगेको कुरा कतारलाई राम्रो थाहा छ । कतारले पनि धेरै प्रकारका उतारचढाव भोग्दै आएको हो । जसले गर्दा पनि कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ ।
नेपाल पर्यटनको लागि राम्रो गन्तव्य मुलुक हो भन्ने बुझेका छन् । कतारको राजपरिवारबाट हिमाल आरोहण पनि भइसकेको थियो । त्यस्तै, खाद्य सुरक्षाबारे पनि कतार सचेत देखिन्छ । नेपाल उच्च सम्भावना भएको देश हो भनेर बुझेका छन् । नेपाल जलस्रोतमा धनी, प्राकृतिक सम्पदामा समेत सम्पन्न देश हो भन्ने बुझेका छन् । यी लगायतका विविध कारणले नेपाल कतारको प्राथमिकतामा परेको देखिन्छ ।
नेपालले सन् २००५ को द्विपक्षीय श्रम सम्झौतालाई रिभ्यू गर्ने कुरा उठाइरहेको छ । तर, भ्रमणको क्रममा रिभ्यूको विषयमा कुरा हुन सकेन । यसको पछाडिको कारण के हो ?
सम्झौताको रिभ्यू गर्ने विषयमा नेपाल र कतारका दुई फरकफरक कन्सर्नका विषय छन् । हामीले हाम्रा श्रमिकको हकहित तथा पारिश्रमिकको विषय उठान गरिरहेका छौँ । कतारले पनि डोमेस्टिक वर्कर (घरेलु कामदार) लैजाने विषय प्राथमिकतामा राखेको छ ।
नेपालले सन् २००५ मा गरेको सम्झौता अनुसार तोकिएको न्यूनतम पारिश्रमिक बढाउनुपर्छ भन्ने छ । त्यसका लागि हामीले एमओयूको ड्राफ्टमा राखेका छौँ । कतारको तर्फबाट घरेलु कामदारमा जोड दिइएको छ । काम गरिरहेका नेपालीको बेसिक सेलरी समय अनुसार बढ्नुपर्यो भन्ने छ । उनीहरूको डोमेस्टिक वर्कर लैजाने भन्ने छ ।
उनीहरूले डोमेस्टिक वर्करमा जोड किन दिएको हो ?
नेपालीहरू कामप्रति इमानदार हुन्छन् । काम राम्रोसँग गर्छन् भन्ने उनीहरूको बुझाइ छ । यतिका वर्षसम्म नेपालीहरूले कतारमा देखाएको इमानदारिताले गर्दा पनि कतारले नेपालबाट घरेलु कामदार लैजान खोजिरहेको हो । त्यसैले कतारले यो विषयलाई प्राथमिकतामा राखेको हो ।
नेपालीहरूले कतारीहरूको कम्पनीमा काम गर्दा कुनै खालको समस्या भोग्नुपरेको छैन । नेपालीहरू धेरै खट्न सक्छन् भन्ने उनीहरूको बुझाइ छ । त्यसैले उनीहरूले नेपालीलाई उच्च प्राथमिकतामा राखेका छन् ।
अब श्रम सम्झौताको रिभ्यू कहिले हुन्छ ? कुनै मिति तय भएको छ ?
अहिले यसमा अझै छलफल गर्नुपर्ने छ । दुवै पक्षले उठान गरेका विषयहरू कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल पुगेको छैन । अब म यताबाट फर्केलगत्तै विभिन्न सरोकारवाला निकायसँग छलफल गर्छु ।
सबै छलफल सकेर दुवै पक्ष सहमतिमा पुगेपछि दुवै पक्षबिच सम्झौता गर्छौं । त्यसका लागि उच्च तहको भ्रमण नै चाहिन्छ भन्ने छैन । अहिले दुवै पक्षबिच होमवर्क पुगेको छैन । जहिले होमवर्क पुग्छ र सहमति जुट्छ, त्यसपछि सम्झौता हुन्छ ।
दुई पक्षबिच भएका विभिन्न सम्झौता कार्यान्वयनको अवस्था कस्तो छ ?
सरकारबिच भएको सम्झौताका विषयमा सम्बन्धित देशसँग छलफल गर्ने, बेलाबेला जानकारी गराउने पहिलो काम सम्बन्धित देशबाट गएका राजदूतको हो ।
गरेका सम्झौतामध्ये हाम्रा प्राथमिकता तथा आवश्यकताका सम्झौता कार्यान्वयनका लागि हामीले पहल गर्नुपर्छ । उनीहरूको आवश्यकताका लागि गरिएका सम्झौता कार्यान्वयनमा उनीहरूको तर्फबाट पहल हुन्छ ।
अहिले कार्यान्वयन गर्ने च्यालेन्ज ठुलो छ । म राजनीतिक कोटामा राजदूत नियुक्त भएको हुँ । मलाई सरकारले अबको दुई वर्ष काम गर्न दियो भने सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छु । जिम्मेवारीका साथ काम गर्न म प्रतिबद्ध छु ।
सम्झौता भएको विषयमा सम्बन्धित सरकारले प्रक्रिया अगाडि बढाएर मैले के गर्ने हो ? त्यो विषयमा सम्बन्धित निकायसँग भन्छु । त्यसका लागि सरकारले नै मलाई काम गर्न लगाउनुपर्छ । ९० प्रतिशत काम सरकारकै हुन्छ । बाँकी कतार सरकारसँग समन्वय गर्ने काम त म गरिहाल्छु ।