जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
जुम्ला । जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् ।
कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।
तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।
तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताइन् । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।
पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।
माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।
जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
-
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना