बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

४ दिनको अछूत

बुधबार, १२ वैशाख २०७५, १० : ५४
बुधबार, १२ वैशाख २०७५

२१औं शताब्दी अर्थात् अहिलेको वैज्ञानिक युग । विज्ञानले चम्काएका चहकिला सहरहरूकै बीचमा छाउपडी जस्ता कुप्रथाको दियो कहिल्यै निभेनन् । बरु झन् रापिलो र धापिलो भएर बलि नै रहेका छन् । सुन्दा अचम्म लाग्छ तर पनि हाम्रो घर समाजमा जिउँदो रहेको एक दुःखलाग्दो कुसंस्कार, धार्मिक संस्कारका नाममा महिलामाथि गरिने हिंसा र उत्पीडन हो, छाउपडी कुप्रथा ।   

पुर्खादेखि चलिआएको यो कुप्रथा समयको माग अनुसार परिवर्तन हुँदै वर्तमान अवस्थासम्म निर्मूल भइसक्नुपर्ने थियो । विडम्बना यो सामाजिक समस्याकै रूप रहेकै छ । यस्तो विभेदमा को दोषी ? शिक्षित वर्ग वा अशिक्षित । यसरी वर्गीकरण गरेर हेर्नु नै यस सवालमा भूल हुनेछ । किनकि शिक्षित, अशिक्षित सबैको यस्तो कुप्रथालाई मलजल गर्नुमा समान भूमिका देखिन्छ । कारण शिक्षित महिलाहरू पनि आखिर छाउगोठमै दिन बिताउँछन् । सहरमा पनि गाउँमा जस्तै छाउपडीमाथि विभेद छ । फरक यत्ति छ कि सहरबजारमा महिलाले घरको छानोभित्र बास पाएकी छन्, ग्रामीण क्षेत्रको तुलनामा केही पोषिला र शक्तिवद्र्धक खाने कुरा पाएका छन् । तर पानी भने छुन पाउँदैनन् । त्यस्तै ग्रामीण भेगमा पनि महिनावारी भएकी कन्या वा महिला घरको आँगनभन्दा कम्तीमा १०० मिटर टाढै बस्छन् । ज्यान सुकाएर काम गर्छन्, सुक्खा खाना खान बाध्य छन् ।

यसरी हेर्दा छाउपडीप्रथा देशभरी नै व्याप्त छ । तर अन्य क्षेत्रको तुलनामा विशेषगरी मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यो समस्या विकराल छ । छाउपडी जस्तो कुप्रथाबाट  नारीजाति नै अपहेलित छन् भने उनीहरूको स्वास्थ्यमाथि समेत खेलवाड भइरहेको छ । जुन नेपाली समाजका  महिलाहरूका लागि अभिसाप नै हो । 

के हो छाउपडी (महिनावारी) ? के छ यसभित्रको वास्तविकता ?

महिनावारी अर्थात ठेट नेपाली भाषामा ‘छाउपडी’ महिलाहरूमा हुने नियमित प्राकृतिक प्रक्रिया हो । यो महिलाहरू प्रजनन प्रक्रियाका लागि सक्षम रहेको एउटा सङ्केत हो । 

महिनावारी हुनु भनेको महिलाको बाहिरी प्रजनन अङ्ग ‘योनी’ बाट लगभग हरेक २८ दिनमा ३ देखि ५ दिनसम्म रगत बग्ने प्रक्रिया हो । जुन रगत महिलाको पाठेघरको विकारयुक्त रगत हो । महिनावारीको समयमा एक पटकमा लगभग ५० देखि ९० मिलिलिटर रगत बाहिर निस्किन्छ । महिनावारी सुरु हुने उमर १३ देखि १५ वर्ष हो, जसलाई मेनार्क भनिन्छ । महिनावारी रोकिने उमेर ४५ देखि ५० वर्ष हो, जसलाई मेनोपज  भनिन्छ । यो महिलामा हुने सामान्य प्राकृतिक प्रक्रिया हो । महिनावारीको बारेमा सत्य—तथ्य कुरा जानिसक्दा पनि कोही यसमा परिर्वतन गर्न चाहँदैनन् । किनकि उनीहरूलाई देवी रिसाउने डर छ । अछामकै कुरा गर्दा एक दशकमा १२ महिला तथा किशोरीहरूले छाउपडी गोठमा ज्यान गुमाएका छन् । गतवर्ष मात्रै तिमिल्सैन–७ की डम्बरा उपाध्याय र गाज्रा ७ की  रोशनी तिरवा र यस वर्ष नै तुर्मखादकी गौरी बूढा ले ‘छाउगोठ’मै अकालमा ज्यान गुमाउनुपरेको थियो । नेपालका केही जिल्लाहरूलाई ‘छाउगोठ’ मुक्त घोषणा गर्दा पनि छाउपडीगोठहरू कायमै रहेको पाइन्छन् । ती क्षेत्रमा गोठमा किन बस्नुहुन्छ भनी सोध्दा अधिकांशले देवी रिसाउने, सन्चो नहुने, छुन नमिल्ने हुनाले गोठमा जाने गरेको उत्तर दिने गर्छन् । 

नारीलाई देवीको स्थान दिने धर्मावलम्बी भएको हाम्रो देशमा धर्मले नै नारीलाई पूजा गर्नुपर्छ भनेर सिकाउँछ । तर, यही समाजमा नारीलाई पुरुषको कठपुतली बनाइएको छ । यहाँ पत्थरकी शैलेश्वरीको पूजा गरिन्छ तर जीवित नारीलाई महिनाको ४ दिन अछूत भनी हेला गरिन्छ । जहाँ माता भगवती, पार्वती, मनकामनाको पूजा गरिन्छ तर त्यहाँ नै देवीको रूप नारीलाई महिनाको ४ दिन अपहेलना गरेको पाइन्छ ।

आखिर किन ? 

महिलाको प्रजनन प्रक्रियालाई अछुतका रूपमा परिभाषित गरी महिलाको स्वास्थ्यसँग खेलवाड किन भइरहेको छ ? किन कसैले पनि यो महिलाको प्राकृतिक प्रक्रिया हो भनी जान्न र बुझ्न चाहँदैनन् ? र, जानेकाहरू बुझाउन चाहँदैनन् ? के छाउपडी मान्नुको एक मात्र कारण देवीदेवता रिसाउनु नै हो ? यदि हो भने किन धर्मशास्त्रमा ‘छाउगोठ’का बारेमा उल्लेख छैन ? किन विज्ञानले यसलाई सामान्य प्रक्रिया हो भन्छ ? किन हाम्रो औपचारिक शिक्षामा ‘छाउ’ बार्नु भनी सिकाएन ? यो सबैको एउटै जवाफ हो किनकि यी सबैकुरा यर्थाथ नभई रुढीवादी हुन् । ‘छाउ’का बारेमा जति पनि मान्यता छन्, समाजमा ती सबै अन्धविश्वासमा आधारित छन् । त्यसैले यसलाई समाप्त गर्न आवश्यक छ । हामीलाई सिकाइन्छ कि, भगवान, हल्लाह र गड एउटै हो, मात्र तिनीहरूका नाम अलग हुन् । यदि त्यसो हो भने किन हिन्दु धर्मको पूजा गर्नेहरूले महिनावारी बार्नुपर्ने ? जबकि गडको पूजा गर्नेहरूका लागि महिनावारी सामान्य प्रक्रियाझैं लाग्छ । के अब रुढीवादी अन्धविश्वासलाई समाप्त गर्नका लागि महिलाहरूले धर्म परिर्वतन गर्नुपर्ने हो ? यदि छाउपडी अछुत नै हुने कुनै सर्वमान्य कारण आधार भए सबैलाई समानरूपले दुःख हुनुपर्ने थियो । सबैलाई बिसन्चो हुनुपर्ने थियो । सबैका देवता रिसाएर हानि हुनुपर्ने थियो । 

तर यस्तो छैन । छाउपडीलाई समस्याका रूपमा तिनीहरूले मात्र लिएका छन्, जसले अन्धविश्वासलाई हटाउन चाहँदैनन् । जो रुढीवादी विचारबाट माथि आउन चाहँदैनन् । जो परिर्वतन हुनै चाहँदैनन् वा आफ्नो आँखामा रहेको अन्धविश्वासको ‘कालोपर्दा’ खोल्न चाहँदैनन् । जसले प्राकृतिक प्रक्रिया ‘छाउ’लाई अछुत भनी सङ्कीर्ण मानसकिता बनाएका छन् । तिनीहरूका लागि मात्र ‘छाउ’ समस्याका रूपमा छ । तर सबै यसको सबै प्रक्रिया र आधारहरूलाई केलाएर हर्ने हो भने ‘दूधको दूध पानीको पानी’ हुने स्पस्ट छ । 

छाउ मान्ने मानिस किन हुन्छन् त बिरामी ?

हामीले हाम्रो गाउँ समाजमा धामी झाँक्री र अन्य कैयौँ मानिसहरू छाउपडीले गर्दा सन्चो हुँदैनन भनी सुनेका छौँ । यसलाई स्पस्ट पार्न डा. शिखर स्वाँर (न्याय हेल्थमा मानसिक स्वास्थ्य विभागमा कार्यरत) भन्नुहुन्छ, ‘छाउपडी अथवा महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो, जसले महिलाको प्रजनन प्रक्रियालाई मद्दत गर्छ । छाउपडीले छोए बिरामी हुन्छन् भन्नु सरासर गलत र असत्य कुरा हो । धामीझाँक्री र अन्य मानिसहरू बिरामी हुनुभनेको उनीहरूको मानसिकता मात्र हो अथवा मनको भ्रम मात्र हो ।  र धामीझाँक्री काँप्नु भनेको उनीहरूको उपचार दिने विधि मात्र हो र अन्य बिरामी अथवा काँप्ने हुनु, मूर्छा पर्ने मानिस छन् भने मानसिक समस्या हुन सक्छ । त्यतिबेला धामीझाँक्रीको नभई चिकित्सक अथवा मानसिक परामर्शकर्ताको आवश्यकता हुन्छ ।’

त्यसैगरी सन् १९५० मा गरिएको प्लेसेवो सकारात्मक संवेगको अध्ययनले स्पष्ट पार्छ कि छाउपडीले गर्दा सन्चो नुहुनु, देवी देवता रिसाउनु, काँप्ने आउनु आदि मानिसहरूको नकारात्मक सोचाइले मात्र उत्पन्न भएका रोग हुन् । प्लेसेवो अध्ययन चिकित्सा विज्ञानमा औषधिको बारेमा अध्ययन गर्दा अपनाइने महत्वपूर्ण प्रक्रिया हो । जसमा औषधिजस्तै देखिने तर औषधिको गुण नभएको चक्की वा सुई बिरामीलाई दिइन्छ । बिरामीले औषधि खाइरहेको छ र अब चाँडो निको हुन्छ भन्ने सकारात्मक सोच र विश्वास गरेको कारणले आन्तरिक शक्ति बलियो हुन गई बिरामीलाई सन्चो हुन्छ । त्यसैगरी मुटुका रोगीहरूको उपचार र शल्यक्रिया गर्ने अमेरिकाको एउटा अस्पतालमा बिरामीहरूको मनोपद्धतिको अध्ययन गरिएको थियो । त्यस अध्ययनमा मुटुको रोगले सिकिस्त भए पनि बाँच्न सक्छु भन्ने उत्साह भएका बिरामीहरूलाई छुट्टै वार्डमा राखिएको थियो । अर्कोथरी बिरामीहरू जसले बाँच्ने आशा मारेका थिए उनीहरूलाई छुट्टै वार्डमा राखिएको थियो । अन्त्यमा दुवै खाले  सोचाइ भएका बिरामीको शल्यक्रिया गरियो । जसको परिणाम सकारात्मक सोच भएका बिरामीको उपचारमा सफलता ५० प्रतिशतले बढी पाइएको थियो । 

यसरी अध्ययनबाट पनि स्पष्ट हुन्छ कि महिनावारी भएकी महिलाहरूलाई वा महिलाले छुँदा, सँगै खाँदा देवी रिसाउने, घरमा नराम्रो घटना घट्ने, बिरामी हुने, काँप्ने आउने आदि जस्ता कुरा हाम्रो नकारात्मक सोच र भ्रमले गर्दा मात्र भएको हो । यसर्थ छाउपडी प्रथा एकदमै असत्य कुरा हो, जुन हाम्रो नकारात्मक सोचले मात्र उत्पन्न हुने गर्छ ।

यस कारण छाउपडी प्रथा हटाउन आवश्यक छ 

हाम्रो समाजमा महिलालाई छाउ बार्न लगाएर उनीहरूको स्वास्थ्य अधिकार हनन् भएको छ । महिलाहरूको स्वास्थ्य अधिकार पाउन र उनीहरूको शारीरिक स्वास्थ्यसँग खेलवाड हुन् नदिनका लागि छाउपडीजस्ता कुसंस्कारहरूलाई हटाउन एकदमै आवश्यक देखिन्छ । महिनावारी हुँदा शारीरिक तथा विभिन्न मानसिक समस्याहरू जस्तैः रगत बग्नु, तल्लो पेट दुख्नु, ढाड दुख्नु, टाउको दुख्नु आदि देखा पर्छन् । जुनबेला महिलालाई सफा वातावरण र पोषिलो खानाको आवश्यकता पर्छ । तर, समाजको रुढीवादी सोचले गर्दा महिलाहरू यी सबै कुराबाट वञ्चित हुन पुगेका छन् । उल्टै छाउगोठमा बस्नुपर्ने बाध्यताले गर्दा स्वास्थ्य झन् समस्याहरू बल्झिँदै गएको देखिन्छ । अर्कोतिर स्तनपान गराउने महिलासँगै रहेका कतिपय निर्दोष बालकहरू पनि यस कुप्रथाका कारण विभिन्न रोगहरू जस्तैः झाडापखाला, निमोनिया, जरो, खोकी आदिको शिकार हुन पुगेका छन् । 

तसर्थ महिनावारी कुनै अभिषाप नभई महिलामा हुने प्राकृतिक प्रक्रिया हो । त्यसैकारण छाउपडी जस्तो कुप्रथालाई हटाएर महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै उनीहरूमा आश्रित निर्दोष बालबालिकालाई रोगको शिकार हुनबाट रोक्न यो कुप्रथाको अन्त्य गर्न आवश्यक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजल जोशी
काजल जोशी
लेखकबाट थप