शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल

बुधबार, १२ वैशाख २०८१, २० : ०१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडी) कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितिमा तिनै पक्षबिच मन्त्रालयमा नै छलफल भएको हो ।

छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपीएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको जिज्ञासालाई एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङहयून क्वाकले स्पष्ट पारे ।

छलफलपछि श्रममन्त्री अर्यालले कोरिया रिटर्नीको जिज्ञासालाई स्पष्ट पारेकोमा एचआरडी कोरियाका प्रतिनिधिलाई धन्यवाद दिए । ‘एक पटक कोरिया पुगेर आउनु भएका नेपाली युवामा इपीएस प्रक्रियाको विषयमा नै शंका थियो । उहाँहरूलाई एचआरडीले विभेद गरेको गुनासो छ । त्यसैले यो गुनासोलाई मेटाउन दुवै पक्षलाई आमने सामने गराइएको हो । शायद यो छलफल पछि दुवै पक्षको जिज्ञासा मेटियो भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्न श्रममन्त्री अर्यालले तिनै पक्षलाई नै मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । यस्तो खालको छलफल मन्त्रालयले पहिलो पटक गरेको हो । श्रमिकको गुनासो सिधै सम्बन्धित निकाय समक्ष राख्न छलफल गराइएको श्रम सचिव घनश्याम उपाध्यायले बताए ।

छलफलमा कोरिया रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातामा नपुराएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए । त्यस्तै, नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गरेका थिए ।

कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्दै एचआरडी कोरियाको छनौट विभागका निर्देशक क्वाकले कोरिया जाने श्रमिकको छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने बताए । एचआरडी कोरियाले नेपाल कोरियाबिच भएको सम्झौता अनुसार श्रमिक छनौट गरी रोष्टरमा मात्रै राख्ने काम गर्छ । तर, श्रमिकको फाइल पठाउने वा श्रमिक छनौट गर्ने प्रक्रियामा भने कुनै पनि निकायको संलग्नता नहुने उनले स्पष्ट पारे । ‘हामीले अनलाइन मार्फत पारदर्शी रूपमा नै परीक्षा लिन्छाँै । उत्तीर्ण भएका श्रमिकलाई रोष्टरमा सूचीकृत गर्छौं । तर, श्रमिकको छनौट रोजगारदाताले नै गर्छ,’उनले भने ।

कोरियन रोजगारदाताले अनलाइन मार्फत नै श्रमिकको माग गर्छन् । रोजगारदाता र रोष्टरमा रहेका श्रमिकबिच समन्वय गर्ने काम कोरियास्थित जब सेन्टरले गर्छन् । जब सेन्टर कोरियाको श्रम मन्त्रालय अन्तर्गत छन् । रोजगारदाताले तोकेको मापदण्ड अनुसार जब सेन्टरले श्रमिकको सूची पठाउँछ । जब सेन्टरले पठाएको सूचीको आधारमा रोजगारदाताले श्रमिक छनौट गर्ने उनले बताए । तर, जब सेन्टरले पठाएको सूचीमध्ये कति श्रमिक छनौटमा पर्छ भन्ने सुनिश्चितता नहुने उनले बताए । ‘रोजगारदातालाई मन परेमा छनौट गर्न पनि सक्छ नगर्न पनि सक्छ,’उनले भने ।

नेपाली युवामा श्रमिक छनौट गर्ने प्रक्रियाको विषयमा गलत सूचना फैलिएको प्रति उनले दुख व्यक्त गरे । ‘कोरियाका रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया र नेपाली रोजगारदाताले श्रमिक छनौट गर्ने प्रक्रिया एउटै हो । नेपालमा पनि एक कर्मचारी चाहियो भने दर्जनौँले आवेदन दिन्छन् । तर, रोजगारदाताले आफूले चाहेको एक जना मात्रै छनौट गर्छ । त्यसैगरी कोरियन रोजगारदाताले पनि रोष्टरमा सूचीकृत हजारौँ सङ्ख्याका श्रमिकमध्ये केहीलाई मात्रै छनौट गर्छ,’उनले भने । त्यसैले गलत सूचनामा नपर्न पनि उनले आग्रह गरे ।

त्यस्तै, कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । कोरियामा नेपाली इमान्दार र मिजासिला हुन्छन् भन्ने विश्वास छ । त्यसैले कोरिया र नेपाल बिचको सुमुधुर सम्बन्धलाई यथावत् राखी श्रमिक जाने वातावरण बनाउन पनि उनले आग्रह गरे । सन् २०२३ मा नेपालबाट करिब १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको कोरियाले पुरस्कृत पनि गरेको थियो ।

कोरिया र नेपालबिच इपीएस मार्फत कोरिया रोजगारीको लागि सन् २००७ मा सम्झौता भएको हो । सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक इपीएस  मार्फत कोरिया पुगेका थिए । कोरियाले सन् २०२३ सम्ममा कृषि तथा पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अहिले सिप विल्डिगं क्षेत्रमा पनि लैजान थालेको छ ।

श्रमिक छनौटको प्रक्रिया के छ ?

कोरिया सरकारको इपीएस  (रोजगार अनुमति प्रणाली) मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्र्याउँदै आएको छ । आप्रवासी श्रमिक छनौटका लागि कोरियाले एचआरडी कोरियालाई जिम्मेवारी दिएको छ । एचआरडीको मुख्यालय कोरियामा छ भने यसले नेपालमा इपीएस  सेन्टर भनेर कार्यालय खोलेको छ ।

एचआरडी कोरियाको माग अनुसार वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपीएस  शाखाले भाषा परीक्षाको लागि आवेदन माग गर्छ । आवेदन दिएकाको छनौट प्रक्रिया एचआरडी कोरिया इपीएस  सेन्टरले गर्छ । कोरिया सरकारले नै नियुक्त गरेका कोरियाली अधिकारीले नै परीक्षा लिन्छन् । तत्काल रिजल्ट निकाल्छन् । परीक्षामा उत्तीर्ण  भएका श्रमिकलाई इपीएस शाखाबाट रोजगारीको लागि फाराम भराइ विद्युतीय माध्यमबाट एचआरडी कोरिया पठाइन्छ । एचआरडी कोरियाबाट विवरण ठिक भएपछि एप्रुभ गरी रोष्टरमा सूचीकृत गरिन्छ ।

त्यस्तै, कोरियाको रोजगारदातालाई श्रमिकको आवश्यकता परेमा अनलाइन मार्फत जब सेन्टरमा श्रमिकको माग गर्छन् । जब सेन्टरले रोजगारदाताले तोकेको मापदण्ड पुगेका श्रमिकको सूची पठाउँछन् । यसरी जब सेन्टरले श्रमिकको सूची पठाउँदा तीन गुणा बढी बढाउँछ । जस्तै, कुनै रोजगारदाताले १०० जना श्रमिकको माग गरेमा जब सेन्टरले ३०० जनाको सूची पठाउँछ । यसरी जब सेन्टरले पठाएको सूचीबाट रोजगारदाताले श्रमिक छनौट गर्छ । श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा नै हुन्छ । यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता नहुने इपीएस सेन्टर र इपीएस शाखाको दाबी छ ।

त्यस्तै, नेपाल र कोरियाबिचको सम्झौता अनुसार श्रमिकको माग भन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । तर, कोरियाले गत फेब्रुअरीदेखि नयाँ व्यवस्था गरेको छ । रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने सङ्ख्या बराबरको मात्रै भाषा परीक्षाको लागि आवेदन लिनुपर्ने व्यवस्था गरेको छ ।

हालसम्म कति गए कोरिया

विगत १५ वर्षको अवधिमा इपीएस प्रणाली मार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको सङ्ख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ ।

सन् २००८ मा दुई हजार ८१४ नेपाली श्रमिक कोरिया गएका थिए । २००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ । त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०२३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप