शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह

बुधबार, १२ वैशाख २०८१, १४ : ५७
बुधबार, १२ वैशाख २०८१

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको बताएका छन् । 

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले बुधबार कौशलटारमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर नक्षेत्र एवं नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता स्व जगन्नाथ आचार्यको १०१औँ जन्मजयन्तीमा उहाँले लोकतन्त्र, सङ्घीय व्यवस्था र प्राप्त राजनीतिक उपलब्धिका विषयमा जनताले प्रश्न गर्न थालेको बताएका हुन् । 

नेता सिंहले भने, “लोकतान्त्रिक सङ्घीय व्यवस्थासहितको संविधान जारी भई दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सरकार गठन भए पनि अझै आवश्यक ऐन कानुन बन्न नसक्दा जनताले प्रश्न गर्न थालेका छन्, जनताले तीन तहको सरकारको अनुभूति गर्न पाएका छैनन्, केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो ? खोइ त ? भन्ने त आइरहेको छ नि, आठ वर्ष बितिसक्दा पनि आवश्यक सङ्घीय ऐन कानुन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।”

उनले सङ्घीयताले पूर्ण नपाउँदै यसलाई जोगाउने चुनौती आइरहेको भन्दै नेपाली कांग्रेसले सङ्घर्षका लागिभन्दा सङ्घीयतालाई पूर्णता दिँदै यसको रक्षाका लागि लाग्नुपर्ने बताए । 

उनले भक्तपुरमा सङ्घीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहमा विजयी भएका कांग्रेस नेताले विकासको काम गरेर जनतालाई देखाउनुपर्ने औँल्याउँदै अरूले गरिदेला भनेर नबसी आफैँ अग्रसर भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति एवं सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले विसं २०४६ को जनआन्दोलनमा काठमाडौँ उपत्यकाका कमाण्डर रहेका स्व आचार्यको राजनीतिक जीवनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दै उनको सालिक स्थापना गरेर नयाँ पुस्तालाई जीवनीका बारेमा जानकारी दिनुपर्ने बताए ।

कार्यक्रममा स्व आचार्यका राजनीतिक सहकर्मी कांग्रेस भक्तपुरका पूर्वसभापति एवं पूर्वसांसद लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुरका अग्रज नेता रामप्रसाद दवाडी, नेपाली कांग्रेस मध्यपुरथिमि ३ नं वडा सभापति कृष्णहरि आचार्यलगायतले स्व आचार्यको राजनीतिक जीवन र उनले भूमि सुधारका विषयमा गरेका सुधारका कार्यको चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप