सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
सन्दर्भ : गोरखा भूकम्पको ९ वर्ष

नेपालमा प्रत्येक दिन १० वटा भूकम्प

गोरखा भूकम्पपछि पनि पाठ नसिक्दा जाजरकोटमा क्षति
बुधबार, १२ वैशाख २०८१, १४ : ००
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । आज वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् । 

नेपालमा २०३७ सालदेखि देशका विभिन्न भागमा भूकम्प मापन उपकरण राख्न थालिएको थियो । त्यस आधारमा २०३७ सालदेखि  २०७२ सालसम्म नेपालमा साना ठुला गरेर करिब ८० हजार भूकम्प रेकर्ड भएको थियो । यस आधारमा २०३७ सालदेखि हालसम्म झन्डै डेढ लाख हाराहारी भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपालमा निरन्तर भूकम्प गइरहेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने–‘नेपालमा निरन्तर भूकम्प गइरहेको छ । ४ रेक्टर स्केल भन्दा तलका भूकम्प थाहा नपाउने किसिमको भएकोले अनुभूति नभएको हो । विगतमा पनि भूकम्प गइरहन्थ्यो भन्ने कुरा त्यतिबेलाको तथ्याङ्कहरूले पनि बताउँछ । अहिलेसम्मको अध्ययनले के देखाएको छ भने नेपालको हिमालयमा भूकम्प गइरहन्छ ।’

अध्ययन अनुसार गोरखाभन्दा पश्चिमतर्फ भूकम्प जाने शक्ति सञ्चित भएको ५ सय वर्षभन्दा बढी समय भएको र त्यो शक्ति महाभूकम्प जानको लागि पर्याप्त हुने भनेर अहिलेसम्मको अध्ययनले देखाएको अधिकारीको भनाई छ । 

हिमालय क्षेत्रमुनि भूकम्पका लागि ऊर्जा सञ्चित भइरहेको क्षेत्र हो । दक्षिणमा भारतीय प्लेट र उत्तरतिर रहेको यूरेसियन प्लेटबिच टकराब हुँदाखेरि जमिनमुनि शक्ति सञ्चित हुन्छ । हिमालयमुनि सञ्चित भएको त्यो शक्ति विभिन्न अन्तरालमा भूकम्पमार्फत बाहिर निस्किन्छ । 

भूकम्प गइसके पछाडि फेरि अर्को शक्ति सञ्चित हुन थाल्छ फेरि त्यो सञ्चित भएको शक्ति बाहिर निस्कँदाखेरि भूकम्प जाने डा. अधिकारीले बताउँछन् । यो प्रक्रिया करोडौँ वर्षदेखि चलिरहेको उनले बताए । 

उनले भने–‘राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पहरू रेकर्ड गरिरहेको हुन्छ । अहिले हामीसँग भएका प्रविधिमा दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू रेकर्ड भइरहेको हुन्छ । अझ त्योभन्दा साना स्केलका भूकम्प त निरन्तर गइरहेको हुन्छ । वर्षभरिको औसत रेकर्ड हेर्दाखेरि दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरू दैनिक १० वटा हाराहारीमा गइरहेको हुन्छ ।’ 

  • जोखिममा छ नेपालको पश्चिम क्षेत्र 

समग्र नेपालको भूगोल नै भूकम्पीय जोखिममा रहे पनि पश्चिम नेपाल सबैभन्दा जोखिममा रहेको भूकम्पविद्को भनाई छ । पश्चिमी क्षेत्रमा महाभूकम्प गएको ५ सय वर्ष भएकोले त्यहाँको जमिनमुनि भूकम्पका लागि शक्ति सञ्चित भएर रहेको अधिकारी बताउँछन् । जमिनमुनिको शक्ति कहिले निस्कन्छ भन्ने निश्चित भने नहुने उनको भनाई छ । 

अधिकारी भन्छन्, ‘नेपालको पश्चिम मध्य वा पूर्व सबै क्षेत्र भूकम्पीय जोखिममा छ । पश्चिममा अहिले भर्खर जाजरकोट, बझाङमा र त्यसअघि गोरखामा गएको भूकम्पलाई हेर्दा जमिनमुनिको सञ्चित शक्ति निश्चित अन्तरालमा निस्किन्छ भन्ने हुँदैन । तरपनि साना–साना भूकम्पहरू भने गइरहेको हुन्छ ।’

lokbijay adhikari

उनी अगाडि भन्छन्, ‘जसमध्ये सानो–सानो भूकम्प त्यति नै छिटो–छिटो जान्छ जति भूकम्पको म्याग्निच्युड बढ्दै जान्छ त्यो ठुलो भूकम्प आउने समय पनि बढ्दै जान्छ । भनाइको अर्थ ठुला भूकम्पहरू लामो समयपछि दोहोरिन्छन् । त्यसका लागि धेरै शक्ति सञ्चित हुनुपर्छ सानो भूकम्पका लागि थोरै शक्ति सञ्चित भए पनि जाने भयो । जाजरकोटमा यसभन्दा अगाडि भूकम्प गएको हामीले सुनेका थिएनौँ । पश्चिम नेपालको कुरा गर्दा १५०५ मा गएको ठुलो महाभूकम्प गएको बुझिन्छ । त्यसभन्दा पछाडि त्यति ठुलो भूकम्प गएको छैन । जाजरकोटमा त्यसरी भूकम्प गएको अहिलेसम्म हामीलाई थाहा थिएन ।’

यता बझाङमा भने २०३७ सालमा पनि भूकम्प गएको, त्यसपछि बैतडीमा,  दार्चुलामा साना भूकम्पहरू भने गएको उनले बताए । तर जाजरकोटमा र डोटीमा भने लामो समयपछि पहिलोपटक भूकम्प गएको बताए । 

अध्ययन अनुसार गोरखाभन्दा पश्चिमतर्फ भूकम्प जाने शक्ति सञ्चित भएको ५ सय वर्षभन्दा बढी समय भएको र त्यो शक्ति महाभूकम्प जानको लागि पर्याप्त हुने भनेर अहिलेसम्मको अध्ययनले देखाएको अधिकारीको भनाई छ । 

जमिनमुनि जम्मा भएको ऊर्जा थोरै थोरै मात्रामा निस्कँदा साना भूकम्प जाने र यसरी सानो मात्रामा निस्कँदा धेरै पटक बाहिर निस्कनुपर्ने, अन्यथा त्यो शक्ति बाहिर ननिस्किए ठुलो भूकम्पको जोखिम रहने उनले बताए ।  

  • २०७२ सालको भूकम्पबाट पाठ नसिक्दा जाजरकोटमा क्षति

२०८० साल कार्तिक १७ गते राति जाजरकोटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी ठुलो जनधनको क्षति भएको थियो । भूकम्पपछि जाजरकोटमा स्थलगत अनुगमनमा गएका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले त्यो भूकम्पबाट पाठ सिक्न नसक्दा ठुलो क्षति भएको बताए । 

अधिकारी भन्छन्, ‘पछिल्लो समय गएका यी दुईवाटा भूकम्पहरूले नेपालमा जुनसुकै बेला जहाँ पनि भूकम्प जान सक्छ है भनेर सचेत गराएको छ । जुनसुकै बेला जहाँ पनि भूकम्प जान सक्छ है भनेर जाजरकोट भूकम्पले हामीलाई शिक्षा दिएको छ ।’ 

उनले अगाडि भने, ‘भूकम्पपछि स्थलगत अवलोकन गर्दा के देखियो भने सानै भूकम्पले ठुलो क्षति पुर्‍याउन सक्छ । ठुलो भूकम्पबाट बच्न पूर्वतयारी गर्नुपर्छ भनिरहेका बेला त्यहाँ सानै भूकम्पले पनि ठुलो क्षति पुर्‍यायो । यदि भविष्यमा यो भन्दा पनि ठुलो भूकम्प गयो भने हाम्रो अवस्था के हुन्छ भन्ने कुराले हामीलाई झस्काइदिएको छ ।’

बझाङमा, जाजरकोटमा भूकम्पबारे जनतालाई कसैले पनि सुसूचित गरेको नपाएको र घरहरू अनुगमन नगरेको र आफूखुसी निर्माण गरेको पाएको अधिकारीले बताए । 

२०७२ सालको भूकम्पको अनुभवपछि हामीले सिकेका कुराहरूलाई, अनुसन्धानबाट पत्ता लागेका कुराहरूलाई प्रयोग गर्न नसकेको, राज्यका निकायहरूले ध्यान दिन नसकेको,  त्यस अनुसार संरचना बनाउन नसकेको र जनतालाई सुसूचित गर्न नसकेको बताए । 

उनी भन्छन्, ‘राज्यको तहबाट निजी क्षेत्रको तहबाट भूकम्पबाट बच्नका लागि गर्नुपर्ने पूर्व तयारी जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामहरू हामीले गर्न सकेका रहेनछौँ ।  भूकम्पबाट पुराना ५०–६० वर्षका घर भत्किनुलाई स्वाभाविक मान्न सकिए पनि जाजरकोटमा भर्खरै बनाएका नयाँ–नयाँ भवनहरू पनि भत्किएको पाइयो । आम नागरिकले बनाएका भवनहरू एकाध बाहेक अधिकांश ५०–६० वर्ष अगाडि जसरी बनाइन्थ्यो त्यसै गरी नै बनाएको पाइयो । त्यहाँ भूकम्प प्रतिरोधी क्षमताको मापदण्ड पालना गरेको देखिएन । भवन बनाउने क्रममा स्थानीय निकायको कुनै भूमिका देखिँदैन त्यसको अनुगमन गरेको पनि देखिँदैन त्यसको स्वीकृति लिएको पनि छैन । जसकारण क्षति बढ्न पुग्यो ।’ 

बझाङमा, जाजरकोटमा भूकम्पबारे जनतालाई कसैले पनि सुसूचित गरेको नपाएको र घरहरू अनुगमन नगरेको र आफूखुसी निर्माण गरेको पाएको अधिकारीले बताए । 

‘जाजरकोटका जनतासँग हामीले कुरा गर्दा उनीहरूले यति ठुलो भूकम्प जाला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ भने । परम्पराकालदेखि हाम्रा बाउबाजेले जस्ता संरचनामा घर बनाएका थिए, हामीले पनि त्यसै गरी नै बनायौँ भनेर त्यहाँका जनताहरूले भने । जाजरकोटमा खोलाबाट ल्याएका चिप्ला ढुङ्गाहरूले एक तलाको घर बनाएको,  त्यहाँ माथि फेरी अर्को तला थप्दा खेरि पनि थप जोखिम बढेको पाइयो । कमजोर खालको घरमा तला थप्दै जाँदा त्यस्ता घर भत्किएर ठुलो जोखिम भएको हो,’ अधिकारीले भने । 

भूकम्पबाट कम क्षति गराउनका लागि संरचनाहरू कसरी सुरक्षित गर्ने भन्ने बारेमा सरकार र व्यक्ति गम्भीर हुनुपर्नेछ ।

भूकम्पबाट हुने क्षतिको बारेमा सरकारी तवरबाट र निजी क्षेत्रबाट जनस्तरसम्म सुसूचित गर्नुपर्ने उनको भनाई छ । गोरखा भूकम्प, बझाङ भूकम्प र जाजरकोट भूकम्पमा परेर दुःख पाउँदा पनि त्यसबाट सचेत हुन नसकेको अवस्था व्यक्ति र राज्य दुवै तर्फको कमजोरी भएको उनको ठम्याई छ । 

उनी भन्छन्, ‘हामीले के सोच्नुपर्‍यो भने हामी अत्यन्तै ठुलो भूकम्पीय जोखिम क्षेत्रमा रहेका छौँ । त्यो भूकम्प हाम्रै जीवन कालखण्डमा पनि आउन सक्छ वा भावी पुस्तालाई क्षति पुर्‍याउने गरी पनि आउन सक्छ । यसरी ठुला घटना बेहोरिसके पछाडि हामीले आगामी दिनमा जोखिम कम हुने तरिकाले भौतिक संरचनाहरू निर्माण गर्नुपर्थ्यो तर त्यसो हुन सकेको छैन  । पछिल्लो समयका यी दुइटा भूकम्पले हामीले सुरक्षित तवरले भवन बनाउनुपर्छ भन्ने कुरामा पाठ सिक्न ढिला भएको छ । अब भने यसबाट पाठ सिकेर आगामी दिनमा विपद्बाट जोखिम कम हुने अवस्था सिर्जना गर्न तर्फ हामी सबै लाग्नुपर्ने अवस्था छ ।’

  • भूकम्पीय जोखिमबाट कसरी बच्ने ? 

भूकम्पबाट कम क्षति गराउनका लागि संरचनाहरू कसरी सुरक्षित गर्ने भन्ने बारेमा सरकार र व्यक्ति गम्भीर हुनुपर्नेछ । २०७२ सालको भूकम्पबाट सिकेको  पाठ अनुसार कस्तो संरचना बनाउने, कस्तो भवन बनाउने, कस्तो भवन बनाउँदा सुरक्षित हुन्छ भनेर गरिएको अध्ययन र अनुभवहरूलाई प्रयोग गर्नुपर्ने अधिकारी बताउँछन् ।  

अधिकारी भन्छन्, ‘हामीले सिन्धुपाल्चोकदेखि गोरखासम्म भूकम्प पछि भौतिक संरचना निर्माणका लागि विभिन्न प्रयोग गरिसकेका छौँ । स्थानीय तहको प्रत्यक्ष निगरानीमा भूकम्प प्रतिरोधी त्यस्ता संरचना निर्माण भयो भने आगामी दिनमा विपद् दोहोरिन पाउँदैन ।  अर्कोतिर जोखिमयुक्त घरमा कोही बसेका छन् भने यसले भोलि सङ्कट आउन सक्छ । विपद्मा पर्न सकिन्छ भनेर त्यस्ता घरहरू व्यक्ति आफैले पनि भत्काएर अर्को बनाउनु पनि पर्ने हुन्छ जसले गर्दा क्षति न्यूनीकरण कम हुन सक्छ ।  त्यसका लागि पनि राज्यले नागरिकहरूलाई उत्प्रेरित गर्ने, त्यहाँ राज्य आफैँ गएर त्यस्ता घरहरूलाई प्रबलीकरण गर्न सकिन्छ कि ? मर्मत गर्न सकिन्छ कि ? अथवा उनीहरूलाई केही सहयोग गर्न सकिन्छ कि ? त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।’

यसरी विभिन्न चरणमा काम गर्ने हो भने भविष्यमा हुने क्षतिलाई कम गर्न सकिने उनले भनाई छ । 

  • नेपालमा ४२ ठाउँमा छन् भूकम्प मापन स्टेसन 

२०७२ सालमा विनाशकारी भूकम्प गइसकेपछि राष्ट्रिय भूकम्प मापन केन्द्रमा झन्डै दोब्बर सङ्ख्यामा स्टेसनहरू थपिएका छन् । २०७२ सालभन्दा अगाडि २२ वटा स्टेसनहरू रहेकोमा अहिले यो सङ्ख्या ४२ वटा पुगेको छ । तर मानव जनशक्ति भने पर्याप्त नरहेको अधिकारीले बताए । 

उनले भने, ‘युरोप अमेरिका जापान लगायतका देशहरूले भूकम्प मापन गर्नका लागि जुन प्रविधिको प्रयोग गर्छन्, हामीले पनि त्यही नै प्रविधि प्रयोग गरिरहेका छौँ । हामीले तिनै दातृ निकायबाट यस्ता प्रविधिहरू सहयोग स्वरूप पाएका थियौँ ।’

उनले भूकम्प सबैको चासोको विषय रहेको र भूकम्प जाने बित्तिकै सम्झने तर गइसकेपछि बिर्सने बानी भएकोले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले अब विद्यालय शिक्षामा पनि यसलाई समावेश गर्नुपर्ने बताए । 

No_page-0001No_page-0002No_page-0003No_page-0004

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप