बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल

मङ्गलबार, ११ वैशाख २०८१, १८ : ५३
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबिच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो कुरा बताएका हुन् ।

रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गरेका थिए । भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताए ।

ढकालले मंगलबारको भेटले नेपाल र रुसबिचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । उनले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरे । भेलालाई ढकालले नेपाल र रुसबिचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत संघले नेपाललाई महत्त्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्‍याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताए ।

उनले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उनले बताए । यसैबिच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिए । उनले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिए ।

यसैबिच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताए । उनले रुस ठुलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा सेन्ट–पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए । रुसी संघको उद्योग वाणिज्य संघ र रुसी लगानीकर्ता लगानी सम्मेलनमा समेत सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप