सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै
बुटवल । बाँकेको खजुरा गाउँपालिका–३ मा रहेको ‘बी ब्लक’स्थित ऐलानी जग्गामा सहिद सेतु विश्वकर्माका श्रीमान् लालबहादुर बस्ने अर्धकच्ची घर छ । दुई वटा कोठा रहेको उक्त घरमा लालबहादुर नेपाली एकातिरको कोठामा बस्छन् भने अर्को कोठामा माइला छोरा सागरको परिवार बस्छन् ।
५१ वर्षीय लालबहादुर दैनिक गुजारा चलाउन अटो चलाउँछन् । बिहानदेखि साँझसम्म अटो चलाउँदा तेल र मर्मत खर्च कटाएर ७÷८ सय रुपैयाँ बच्ने उनको भनाइ छ । त्यो रकमबाट दुई छाक टार्ने र कान्छा छोरा सुमनको पढाइ खर्च जसोतसो धान्ने उनले बताए ।
सहिद सेतुका तीन छोरा छन् । जेठा र माइला छोरा भारततिर काम गर्दछन् । यहाँ माइला छोरा सागरकी श्रीमती र छोरी छन् । उनीहरू लालबहादुर बस्ने घरमै बस्दै आएका छन् ।
कान्छा छोरा सुमन सुर्खेतमा बसेर पढ्ने गरेका छन् । कक्षा ११ मा पढ्ने सुमनलाई यहाँबाट लालबहादुरले अटो चलाएर बचेको पैसा बेला बेलामा पठाउने गर्दछन् । सहिद परिवारलाई पढ्न मासिक २ हजार रकम पाउने गरे पनि त्यो रकमले कोठा भाडा तिर्न पुग्ने लालबहादुरले रातोपाटीलाई बताए ।
लालबहादुर भारतमा भएको बेला नेपालमा २०६२÷०६३ को जनआन्दोलन चर्किएको थियो । त्यही बेलामा सेतु विश्वकर्मा बाँकेको खजुराबाट ट्याक्टरमा चढेर दैनिक नेपालगन्जमा हुने आन्दोलनमा सहभागी हुन आउने गरेकी थिइन् ।
२०६३ वैशाख ५ गते सेतु सधैँ झैँ ट्याक्टर चढेर खजुराबाट आन्दोलनमा भाग लिन नेपालगन्ज आएकी थिइन् । त्यो दिन उनी अग्रपंक्तिमा बसेर गणतन्त्रको पक्षमा नारा लगाइरहेकी थिइन् ।
आन्दोलनकारीको जुलुस नेपालगन्जको ज्ञानेन्द्र चोकमा पुगेपछि प्रहरी र आन्दोलनकारी बिच झडप भयो । यस क्रममा तीन दर्जनभन्दा बढी घाइते भए । केहीलाई गोली लाग्यो, अग्रपंक्तिमा रहेको बेलामा सेतु विश्वकर्माको छातीमा अश्रुग्याँसको सेल लाग्यो । उनी बेहोस भइन् ।
उपचारका लागि नेपालगन्जबाट भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । वैशाख ६ गते बसेको सात दलको बैठकले सेतुलाई सहिद घोषणा गरेको नेपालगन्जका नेपाली कांग्रेस नेता एवं लुम्बिनी प्रदेशका पूर्ववनमन्त्री सुरेन्द्र हमालले रातोपाटीलाई बताए ।
नेपालगन्जको न्युरोडमा सहिद सेतु विश्वकर्माको सालिक निर्माण गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाले पनि धनौलीमा सहिद सेतु विक गेट निर्माण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले धनैलीदेखि वडा नम्बर ३ मा पर्ने सेतुको विकको घरसम्मको सडकलाई सहिद सेतु विक मार्ग नामकरण गरिएको रातोपाटीलाई बताए ।
लालबहादुरले आफूलाई पछिल्लो समय सुगर रोगले च्याप्दै गएको बताउँदै बाध्यताले अटो चलाएर गुजारा चलाउनु परेको गुनासो गरे । रोग लाग्दा, हातखुट्टा नचल्दा हेर्ने कोही पनि नभएको उनको भनाइ छ ।
बेलाबेला सहिद परिवार भन्दै नेताहरू घरमा आउने, तस्बिर खिच्ने गरे पनि न देशमा राम्रो काम भएको, न त सहिद परिवारलाई हेरेको उनी बताउँछन् । अहिले देशमा नेताहरूले गरेको कामबाट आफूलाई चित्त नबुझेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा