१९ दिने जनआन्दोलन : बागमतीका १३ जिल्लामा कहाँ के भयो ?
मकवानपुर । २०६२/०६३ मा भएको जनआन्दोलनको बलमा २०६३ वैशाख ११ मा राजसंस्था ढल्यो । सोही आन्दोलनको बलमा नेपाली जनताले राजाको प्रत्यक्ष शासनलाई ढालेर लोकतन्त्र स्थापना गरेका थिए ।
२०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ गतेसम्म भएको जनआन्दोलनलाई देशका ७ संसदवादी दल र तत्कालीन विद्रोही राजनीतिक शक्ति माओवादीले अगुवाइ गरेका थिए ।
जनआन्दोलनमा राजनीतिक दलका नेता, कार्यकर्तासहित आम नागरिकको प्रत्यक्ष संलग्नता थियो । आन्दोलनमा निस्किएका नागरिकमाथि तत्कालीन राज्यसत्ताले प्रहरी, सशस्त्र प्रहरी र सेनालाई प्रयोग गरी दमन गरेको थियो । हाल बागमती प्रदेशमा कायम भूगोलभित्र १० जना नागरिकले जनआन्दोलनका क्रममा ज्यान गुमाएका थिए ।
‘जनआन्दोलन र मानवअधिकार’ नामक पुस्तकमा उल्लेख भए अनुसार जनआन्दोलनका क्रममा बागमती प्रदेशका १३ जिल्लामध्ये प्रमुख रुपमा काठमाडौँ उपत्यका, चितवन र काभ्रे प्रभावित भएका थिए ।
जनआन्दोलनमा सबैभन्दा बढी प्रभावित भएको काठमाडौँमा मात्रै १ हजार १३७ जना घाइते भएको पुस्तकमा उल्लेख छ । जनआन्दोलनमा राजधानी बाहिर सबैभन्दा बढी प्रभावित भएको जिल्ला हो चितवन । जनआन्दोलनका क्रममा चितवनमा एक जना महिलाको ज्यान गएको थियो भने सुरक्षाकर्मीको लाठी चार्ज, अश्रु ग्यास तथा गोली प्रहारबाट ५०४ जना घाइते भएका थिए ।
जनआन्दोलनमा भक्तपुरका २१ जना, ललितपुरका १६९ जना, दोलखाका ६० जना, धादिङमा २५ जना, सिन्धुलीमा ४ जना, नुवाकोटमा २ जना, रसुवामा २ जना, काभ्रेमा ७७ जना, रामेछापमा १ जना, सिन्धुपाल्चोकमा ९ जना र मकवानपुरमा २३ जना घाइते भएको सो पुस्तकमा उल्लेख छ ।
- १. काठमाडौँ
२०६२ चैत २४ देखि ०६३ वैशाख ११ गतेसम्मको अवधिमा काठमाडौँको कलंकी, गोंगबु, चावहिल, माइतीघर, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर, कीर्तिपुर, बल्खुमा गोली चलेको थियो । तीमध्ये कलंकी, चुच्चेपाटी, त्रिपुरेश्वर, चावहिलमा नागरिकले ज्यान गुमाएका थिए ।
आन्दोलन दबाउने नाममा १८ घण्टासम्म कर्फ्यु आदेश जारी गरिएको थियो । २०६३ वैशाख ७ गते आन्दोलनकारीले राजधानीको चक्रपथ घेराउ कार्यक्रम घोषणा गरेका थिए । तत्कालीन शाही सरकार भने चक्रपथ घेराउ कार्यक्रम बिथोल्ने तथा असफल पार्ने रणनीतिमा थियो ।
सरकारले वैशाख ६ गते बिहान २ बजेदेखि नै कर्फ्यु लगाएको थियो । उक्त दिन बिहानैदेखि व्यापक रुपमा सशस्त्र प्रहरी र सेना परिचालन गरिएको थियो । नागरिकहरूले कीर्तिपुर, थानकोट, सातदोबाटो आदि स्थानबाट कलंकीतर्फ जुलुस अघि बढाएका थिए । वैशाख ७ गते दिउँसो करिब २ बजे थनकोटको जुलुस कलंकीको आसपास भेला भइसकेको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट कलंकीमा सोलुखुम्बुका दीपक कामी (विश्वकर्मा), काभ्रेका सगुन ताम्राकार, मकवानपुरका बासु घिमिरे र काठमाडौँका प्रद्युम्न खड्काको मृत्यु भएको थियो ।
- २. सिन्धुली
जनआन्दोलनका क्रममा सिन्धुलीमा २०६२ चैत २४ गतेदेखि आमहड्तालको घोषणा गरिएको थियो । जनआन्दोलनका क्रममा सिन्धुलीमा मानवीय क्षति भने भएन ।
जनआन्दोलनका क्रममा जिल्लामा गिरफ्तारी, शान्तिपूर्ण जुलुसमा प्रहरी/सैनिक हस्तक्षेप, लाठीचार्ज जस्ता दमनका तरिका अपनाइएको थियो । १९ दिने आन्दोलनका क्रममा सिन्धुलीमा प्रहरीले २ राउण्ड गोली चलाएको थियो भने २ सेल अश्रु ग्यास हानिएको थियो ।
प्रहरीको कुटपिटबाट ४ जना आन्दोलनकारी घाइते हुनका साथै ४ जनालाई गिरफ्तार गरिएको थियो । प्रहरीले चैत २९ गते जुलुसमाथि लाठीचार्ज गर्दा ४ जना आन्दोलनकारी घाइते भएका थिए । सिन्धुलीमा जनआन्दोलन दबाउन सादा पोसाकमा प्रहरी तथा सैनिक परिचालन गरिएको थियो ।
- ३. रामेछाप
जनआन्दोलनको क्रममा २०६२ चैत २४ गतेदेखि रामेछापको मन्थली लगायतका मुख्य बजारहरू बन्द गरिएको थियो । आन्दोलनकै क्रममा २०६३ वैशाख ४ गते संयुक्त विरोध प्रदर्शनको क्रममा सादा पोसाकमा रहेका सैनिकले ढुङ्गा प्रहार गर्दा ३ जना घाइते भएका थिए ।
- ४. दोलखा
दोलखामा चैत २४ देखि २७ गतेसम्मको नेपालबन्द सफल बनाउन ४१ वटा गैरसरकारी संस्थाले ¥याली तथा सभा सञ्चालन गरेका थिए । सो क्रममा राति आन्दोलनकारीले मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा ३ जना घाइते भएका थिए । जनआन्दोलनका क्रममा जिल्लामा ७३ जना घाइते भए ।
आन्दोलन कमजोर बनाउन स्थानीय प्रशासनले दमन गर्ने क्रममा आन्दोलनकारीको कोठा खानतलासी गरी गिरफ्तारसमेत गरेको थियो । १९ दिनको आन्दोलनका क्रममा दोलखामा ११ जना गिरफ्तार भएका थिए ।
- ५. चितवन
चितवनमा जनआन्दोलनका क्रममा चैत २४ गतेबाट आमहड्ताल सुरु गरिएको थियो । आमहड्तालको दोस्रो दिन चैत २५ गते बिहान ९ः३० बजे प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गरेको थियो । जसका कारण राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ३ जना घाइते भए । आन्दोलनकारीलाई तितरबितर गर्न त्यस दिन दर्जनभन्दा बढी सेल अश्रु ग्यास हानिएको थियो ।
चैत २६ गते लायन्सचोक नारायणगढबाट भरतपुरतर्फ अघि बढेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले ३ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । त्यस दिन समाचार सङ्कलनमा रहेका पत्रकारदेखि २ दर्जन आन्दोलनकारीलाई प्रहरीले निर्घात पिटेर घाइते बनाएको थियो । भरतपुर–११ की ३० वर्षीय तुलसी डुम्राकोटी क्षेत्री चैत २६ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भइन् । उनको उपचारको क्रममा मृत्यु भएको थियो । ६. मकवानपुर
मकवानपुरमा राजनीतिक दलले चैत २४ गते हेटौंडा बजारमा विरोध प्रदर्शन गरेका थिए । हेटौंडामा चैत २४ गते लोकतान्त्रिक चोकबाट निस्केको जुलुसलाई प्रहरीले हस्तक्षेप गरी आन्दोलनको अग्रपंक्तिमा रहेका ६४ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १४ जनालाई स्थानीय प्रशासनले नजरबन्दमा राख्न तीन महिने पुर्जी थमाएको थियो ।
स्थानीय प्रशासनले चैत २५ गते बिहानदेखि हेटौंडाको विभिन्न भागमा निषेधाज्ञा लगाएको थियो । चैत २५ गते निषेधाज्ञा तोड्दै हेटौंडा बजारमा विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शनमा शिक्षक, इन्जिनियर, डाक्टर, मानवअधिकारकर्मी, पत्रकार र वकिलहरू सामेल थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरी २८ जनालाई पक्राउ गरेको थियो । प्रहरीको लाठी चार्जबाट १२ जना आन्दोलनकारी घाइते भएका थिए ।
चैत ३१ गते गाउँ–गाउँबाट आन्दोलनमा सहभागी हुन हेटौंडामा हजारौँ मानिस आएका थिए । सो पश्चात प्रशासनले लगातार १८ घण्टा कर्फ्यु आदेश गरेको थियो । आन्दोलनलाई दबाउन प्रशासनले २०६३ वैशाख १ र २ गते कर्फ्यु लगाएको थियो । १९ दिने आन्दोलनका क्रममा मकवानपुरमा ३४९ जना पक्राउ परेका थिए भने २३ जना आन्दोलनकारी घाइते भएका थिए ।
- ७. ललितपुर
१९ दिने जनआन्दोलनमा ललितपुरको चापागाउँबाट दिनहुँ जुलुस निकालिएको थियो । जनआन्दोलनका क्रममा ललितपुरको पाटन, सातदोबाटो, पुल्चोक, ग्वार्को लगायतका स्थानमा दिनहुँ प्रदर्शन र धरपकड हुने गरेको थियो ।
तत्कालीन सरकारको दमनका कारण ललितपुरमा १६९ जना घाइते भएको तथ्याङ्क छ । वैशाख ७ गते ग्वार्को र सातदोबाटोमा सुरक्षाकर्मीले गोली चलाएका थिए । आन्दोलनकारीलाई त्रसित बनाउन सेनाको बख्तरबन्द गाडी खुमलटारमा तैनाथ गरिएको थियो । सोही बख्तरबन्द गाडीको आडमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो ।
वैशाख २ गते प्रदर्शनकारी सानेपाबाट रिङरोडभित्र छिर्ने क्रममा सुरक्षाकर्मीले रबरको गोली चलाएको थियो । जसबाट २ दर्जन प्रदर्शनकारी घाइते भएका थिए । ललितपुरमा प्रशासन कार्यालयले २०६२ चैत २३ गते बेलुकादेखि नियमित रुपमा २०६३ वैशाख ११ गतेसम्म कर्फ्यु निश्चित अवधिका लागि कर्फ्यु लगाएको थियो । प्रशासन कार्यालयले वैशाख ६ गते १८ घण्टे कर्फ्यु आदेश जारी गरेको थियो । आन्दोलनको दौरानमा ललितपुरका विभिन्न स्थानबाट २० जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । गिरफ्तार गरिएकालाई जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा थुनुवाको रुपमा राखिएको थियो ।
- ८. काभ्रे
जनआन्दोलनका क्रममा काभ्रेमा ७७ जना घाइते भए भने १५ जना नेता कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । जनआन्दोलनका क्रममा २०६३ वैशाख ४ गते बनेपामा महिलाहरूको जुलुस निकालिएको थियो । रित्ता गाग्रीहरू बोकेर आन्दोलनमा ठुलो सङ्ख्यामा महिला आएका थिए । महिलाहरूको जुलुसमा पुरुषहरूले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
जनआन्दोलनका क्रममा काभ्रेमा चैत २४ गतेबाट आमहड्ताल गरिएको थियो । सोही क्रममा स्थानीय प्रशासनले चैत २३ गते एसएलसी परीक्षा सकेर बाहिर निस्किएका परीक्षार्थीलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका विद्यार्थीलाई ३ महिने पुर्जी दिएर धुलिखेल कारागार चलान गरिएकोमा वैशाख ३ गते रिहा गरिएको थियो ।
चैत २७ गतेको प्रदर्शनमा प्रहरीले चलाएको गोलीका कारण ३ घाइते भए । प्रहरीको गोलीबाट जनआन्दोलनमा घाइते भएका मुकेश कायस्तको केही अघि मृत्यु भएको थियो । उनी वर्षौंसम्म थला परेका थिए । यस क्रममा उनलाई जनआन्दोलनको जिउँदो सहिद भनेर पनि चिनिन्थ्यो ।
पनौतीबाट आएका प्रदर्शनकारीलाई चैत २८ गते सुरक्षाकर्मीले रोक्दा झडप भइ ३३ जना घाइते भए । आन्दोलनलाई असफल पार्न राज्यले राजधानी छिर्नसमेत रोक लगाएको थियो । आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले चैत २७ गतेदेखि ३० गतेसम्म कर्फ्यु लगाएको थियो । आन्दोलनलाई नियन्त्रण गर्न सेना परिचालन गर्नुका साथै काठमाडौँबाट थप बल मगाइएको थियो । स्थानीय प्रशासनले बनेपा, पनौती र धुलिखेलका सडकका मुख्य भागलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
कर्फ्यु तोड्ने क्रममा चैत २८ गते प्रदर्शनकारी माथि सुरक्षाकर्मीले लाठी प्रहार गरेको थियो भने सेनाको बख्तरबन्द गाडीले पेल्न खोजिएको थियो । २ घण्टासम्मको घम्साघम्सीपछि प्रहरीले लाठी, अश्रु ग्यास र एक राउन्ड गोली प्रहार गरेको थियो ।
- ९. भक्तपुर
जनआन्दोलनका क्रममा भक्तपुरमा गाविस र नगरपालिकामा विरोध जुलुस प्रदर्शन भए । प्रदर्शनमा निस्किएको भन्दै सरकार पक्षबाट राजनीतिक दलका कार्यकर्ता र घरमा बसेका सर्वसाधारण नागरिक र बटुवा गरी ४१ जनालाई गिरफ्तार गरी थुनामा राखिएको थियो । १९ दिनको आन्दोलनका क्रममा प्रहरीको कुटाइबाट भक्तपुरमा २१ जना घाइते भएका थिए ।
- १०. धादिङ
जनआन्दोलन दबाउन धादिङमा स्थानीय प्रशासनले सेनाको प्रयोग गरेको थियो । धादिङमा पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ र कालु पाण्डे मार्गमा चैत २१ गतेदेखि राति ९ बजेदेखि बिहान ४ बजेसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
सेनाद्वारा चैत २४, २५, २६, २७ र २८ गते बेनीघाट र आदमघाटमा विरोध प्रदर्शनमा समेत रोक लगाइएको थियो । चैत २८ गते पृथ्वी राजमार्गको नौबिसेमा झडप हुँदा ३ जना घाइते भएका थिए । वैशाख ७ गते शिक्षकहरूको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । १९ दिने जनआन्दोलनका क्रममा धादिङमा २५ जना घाइते भए ।
- ११. सिन्धुपाल्चोक
२०६२ चैत २३ गतेदेखि ०६३ वैशाख ११ गतेसम्म सिन्धुपाल्चोकको चौतारा लगायतका स्थानमा नियमित प्रदर्शन भएका थिए । मेलम्चीमा चैत २३ गतेको प्रचारात्मक मसाल जुलुस नियन्त्रण गर्न सेनाले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको थियो ।
२०६३ वैशाख ५ गते विद्यार्थीहरूद्वारा चौतारामा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । जनआन्दोलनभर सिन्धुपाल्चोकमा अप्रिय घटना भने भएन ।
- १२. नुवाकोट
२०६२ चैत २४ गतेदेखि राजनीतिक दलको अगुवाइमा भएको जनआन्दोलन अन्तर्गत नुवाकोटको अधिकांश भागमा विरोध प्रदर्शन गरिएको थियो । जनआन्दोलन दबाउन सरकारका तर्फबाट चैत २४ गतेदेखि नै पासाङल्हामु राजमार्गमा चल्ने यातायातका साधनलाई रोक लगाएको थियो । जनआन्दोलन अवधिभर नुवाकोटका सबै शिक्षण संस्था, कलकारखाना, यातायातका साधन तथा प्रमुख बजार बन्द गरिएको थियो । चैत २७ गते आन्दोलनकारीहरूले नापी कार्यालय र जिल्ला तथ्याङ्क कार्यालयमा तोडफोड गरेका थिए । आन्दोलनको क्रममा वन कार्यालय, विदुर नगरपालिका कार्यालय, जिल्ला विकास समिति, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका थिए ।
- १३. रसुवा
रसुवाको धुन्चेमा २०६२ चैत २४ गते बजार बन्द गरिएको थियो । २४ गतेबाट सुरु गरिएको बजार बन्द कार्यक्रम सफल भएको थियो । चैत ३१ गते भने प्रहरी हस्तक्षेपका कारण बजार बन्द सफल हुन सकेन ।
वैशाख ७ गते धुन्चेमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपका कारण २ जना घाइते भएका थिए । १९ दिने आन्दोलनमा जिल्लामा १७ जना आन्दोलनकारी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार