मधेसमा माओवादीभित्र विवाद : प्रचण्डको हस्तक्षेप नपुगेको हो कि नेताहरूले नटेरेको ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले चैत १५ गतेदेखि चैत मसान्तसम्म पूर्व झापादेखि पश्चिम मधेससम्म हुलाकी सडक हुँदै तराई मधेस जागरण अभियान चलाउने निर्णय गरेको थियो । तर चैत ८ गते माओवादीले सो कार्यक्रम स्थगित भएको घोषणा गर्यो ।
माओवादी केन्द्रले तयारी नपुगेका कारण बैठक अभियान स्थगित गरिएको भने पनि मुख्यतः मधेस प्रदेशमा पार्टीभित्र देखिएको विवाद नै प्रमुख कारण रहेको नेताहरू बताउँछन् ।
समस्या सुल्झाउने सूत्र
मधेस प्रदेशमा माओवादीको सङ्गठन अस्तव्यस्त छ । नेतैपिच्छे गुट छन् । वडा तहदेखि प्रदेशसम्म समितिहरू बन्न सकेको छैन । सीमित केही समिति पनि व्यवस्थित छैनन् । हरेक समितिमा विवाद छ । यस्तो अवस्थामा कार्यक्रम गरेमा सफल नहुने देखेर स्थगित गरिएको माओवादी पार्टीकै कतिपय नेता बताउँछन् ।
मधेस प्रदेशको संगठन चुस्त दुरुस्त बनाउने, त्यसपछि मात्र अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ । त्यसका लागि माओवादीले मधेसको जिल्लामा इन्चार्ज, सहइन्चार्ज, प्रत्येक क्षेत्रमा एक जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । यी सबैले आफ्नो कार्य सुरु गरिसकेको मधेस प्रदेशका सहइन्चार्ज विश्वनाथ साहले बताए ।
उनले भने, ‘विगतमा जे–जस्तो विवाद थियो, त्यो अब सबै समाधान हुन्छ र पार्टीको नयाँ विधान अनुसार मधेस प्रदेश पनि क्रियाशील हुन्छ ।’
वैशाख १५ गते सर्लाहीमा मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठक छ । सो बैठकले प्रदेश सम्मेलनको मिति तय गर्छ र, त्यही सम्मेलनबाट मधेस प्रदेशका सबै समस्या समाधान गरी अगाडि बढ्ने सहइन्चार्ज साहले बताए ।
के छ विवाद ?
मधेस प्रदेशमा माओवादीभित्र विवाद रहेको पार्टीका नेताहरूले समेत स्वीकार गरेका छन् । मधेस प्रदेशका शीर्ष नेताहरू पार्टीको ‘हाइ कमाण्ड’ले मधेसप्रति ध्यान नदिएका कारण यस्तो अवस्था सिर्जना भएको बताउँछन् ।
तर मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल पार्टीको आन्तरिक कुराबारे एउटा इन्चार्जको हैसियतले बोल्न नमिल्ने भन्दै पन्छिए । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘म मधेस प्रदेशको पार्टी इन्चार्ज हुँ । पार्टीमा त्यहाँ के भइरहेको छ भनेर मैले भन्न मिल्दैन ।’
सहइन्चार्ज साहले पार्टीमा पहिलादेखि नै अन्तरविरोध देखिएको बताउँदै त्यसलाई सुरुदेखि समाधानका लागि प्रयास नगरेको कारण विस्तार हुँदै गएको प्रतिक्रिया दिए ।
‘मधेस प्रदेशमा पार्टी संस्थागत चल्न सकेन, त्यसले थुप्रै समस्या निम्त्याएको छ,’ उनले भने, ‘केन्द्रले पनि मधेसको समस्या समाधान गर्न प्रयास नगरेको होइन तर त्यसलाई हल्का ढङ्गले लिइयो । त्यहीँ त्रुटि भएको छ ।’ मधेस प्रदेशको समस्या हल्का ढङ्गले समाधान नहुने उनको भनाइ छ ।
शीर्ष तहमै गुट
मधेस प्रदेशमा माओवादी केन्द्रका उपमहासचिवद्वय मातृका यादव र गिरिराजमणि पोखरेलबिचको द्वन्द्वका कारण विवाद भएको धेरैको टिप्पणी छ । यी दुई नेताको बिचमा सुरुदेखि नै मनमुटाव थियो । तर जब गिरिराजमणि पोखरेलले सहिद रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको राख्न थालेपछि विवादले उग्र रुप लिएको थियो ।
मातृका यादव पक्षका नेताहरूले त्यसको खुलेर प्रतिवाद गरे । यो विवाद माओवादी केन्द्रको हरेक बैठकको विषय बन्यो । यो विषयलाई लिएर बैठकमा समेत चर्काचर्की हुन्थ्यो । त्यो विवाद अझै साम्य भएको छैन ।
मधेस प्रदेशमा यी दुई नेताको बिचमा स्पष्ट गुट देखिएको मधेस प्रदेशका माओवादी केन्द्रका एक नेताले बताए । उनले भने, ‘मातृका यादव र गिरिराजमणि पोखरेलबिच गुटबन्दी छ । त्यसमा गिरिराजमणि पोखरेल हाबी छन् ।’
पोखरेलले केन्द्रदेखि प्रदेशसम्म बलियो पकड बनाएको नेताहरूको बुझाइ छ । केन्द्रमा नारायणकाजी श्रेष्ठको बलियो उपस्थितिका कारण तलसम्म त्यसको प्रभाव देखिएको मधेस प्रदेशका माओवादी नेताहरू बताउँछन् । पोखरेल नारायणकाजी श्रेष्ठ निकट हुन् ।
नारायणकाजी श्रेष्ठले आफ्ना पक्ष (जनमोर्चा पृष्ठभूमि)का नेतालाई संरक्षण र अवसर दुवै दिने गरेको कारण नेता, कार्यकर्ता उनीप्रति आकर्षित देखिएको मधेसका नेताहरू बताउँछन् ।
मातृका यादव निकट एक नेताले भने, ‘नारायणकाजी श्रेष्ठ मधेस प्रदेशमा हाबी भएको कुरा लीलामणि पोखरेललाई इन्चार्ज र विश्वनाथ साहलाई सहइन्चार्जको जिम्मेवारी दिएबाट पनि पुष्टि हुन्छ ।’ उनीहरू दुवै जना नारायणकाजी गुटका हुन् ।
तर मातृका यादवले नारायणकाजी पक्षका नेताहरूलाई माओवादी नै मान्दैनन् । पोखरेल पक्षका एक नेताले भने, ‘मातृकाजीमा एउटा समस्या छ, उहाँ पनि दुई चार जनालाई लिएर गुटमै रमाउनु हुन्छ र हामीजस्तालाई उहाँले माओवादी नै मान्नु हुन्न । उहाँले जनयुद्ध लडेर आएकाहरूलाई मात्र माओवादी मान्नुहुन्छ ।’
प्रचण्डको प्रयास
मधेस प्रदेशको समस्या समाधान गर्न माओवादीका अध्यक्ष प्रचण्डले प्रयास नगरेका होइनन् । मधेसका नेताहरूलाई पटक पटक पेरिसडाँडा, बालुवाटार, खुमलटार बोलाएर उनले छलफल गरेका छन् ।
कहिलेकाहीँ मधेस प्रदेशमै गएरसमेत उनले बैठक राख्ने र प्रशिक्षण दिने गरेका छन् । उनले व्यक्ति–व्यक्ति बोलाएरसमेत कुराकानी गरेका छन् । तर कोही पनि एक कदम पछाडि हट्न तयार भएनन् ।
दुवै गुटबिच चर्काचर्की हुँदा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा पार्टी सचिव गणेश साहलाई इन्चार्ज बनाएर पठाएका थिए । उनी कुनै गुटमा नरहेका कारण इन्चार्जको जिम्मेवारी दिएर पठाए पनि मधेसको समस्या सुल्झाउन सकेनन् ।
त्यसपछि अध्यक्ष प्रचण्डले मातृका यादव र गिरिराजमणि पोखरेललाई मधेस प्रदेशभन्दा बाहिर जिम्मेवारी दिए । मधेस प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्ज बनाएर पठाइयो । तर मधेस प्रदेशमा झन् असन्तुष्टि बढ्यो ।
समस्या समाधान गर्न भन्दै पटकपटक जिल्ला इन्चार्ज तथा प्रदेश इन्चार्ज र अध्यक्ष परिवर्तन गर्ने काम भए पनि त्यसले पार्टी झन् गिजोलियो ।
प्रदेश, जिल्ला, स्थानीय तहका नेताहरूको बिचमा गुटबन्दी मौलाउनुका साथै असन्तुष्टि पनि बढ्दै गयो । यहाँसम्म कि चैत १५ गतेदेखि गर्ने भनिएको अभियानलाई कतिपय नेताहरूले बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
व्यक्तिपिच्छे गुट
सहिद परिवारका सदस्य एवं माओवादीका नेता रामकुमार यादवले दुई नेताको बिचमा मात्र होइन, माओवादी पार्टीमा व्यक्तिपिच्छे गुट रहेको दाबी गरे ।
माओवादी पार्टी पछिल्लो समय कमिसनमा रमाइरहेको गुनासो गर्दै उनले माओवादीप्रति दिनदिनै विश्वास घट्दै गइरहेको टिप्पणी गरे ।
मधेस प्रदेशमा थुप्रै नेताले माओवादी पार्टी छाडिसकेका छन् । हालै रामकुमार शर्मा माओवादी छाडेर जसपामा प्रदेश गरेका छन् । उनले पनि मधेस प्रदेशको समस्या समाधान गर्न आफ्नो तहबाट पार्टीभित्र धेरै प्रयास गरे पनि नेतृत्व पक्षबाटै ध्यान नदिएको कारण विवाद बढ्दै गएको गुनासो गरे ।
मधेस प्रदेशमै देखिएको विवाद समाधान गर्न पार्टीले चासो नलिएपछि आफूले पार्टी छाडेको उनले बताउँदै आएका छन् ।
माओवादीका केन्द्रीय सदस्य उमेश यादवले माओवादीलाई मधेस चाहिए पनि मधेसी नचाहिएका कारण विभिन्न खालका विवाद देखिएको टिप्पणी गरे । उनले भने, ‘मधेस प्रदेशमा पार्टी कुनै पनि पद्धतिमा चलेको छैन, न त्यहाँ मूल्याङ्कन छ, न पदोन्नति छ । जसलाई जे मन लाग्यो त्यही ग¥यो, कसैले कसैलाई स्वीकार गरेका छैनन् ।’
गुटबन्दीका कारण आफ्ना आसेपासेलाई काखी च्यापेर पार्टीका नेताहरू चलेका कारण माओवादीको मधेस प्रदेशमा समस्या देखिएको उनले बताए ।
केन्द्रले निर्मम ढङ्गले निष्पक्ष रूपमा यसलाई समाधान गर्ने प्रयास नगरे पार्टीलाई ठुलो क्षति हुनसक्ने यादवले बताए ।
नेता तथा कार्यकर्तामा व्यापक निराशा रहेको भन्दै उनले पार्टीमा कुनै जिम्मेवारी नभएका कारण नेताहरूमा बढ्दो असन्तुष्टि विष्फोट भएमा सम्हाल्न मुस्किल हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन