पार्टी विभाजनबारे ओलीको टिप्पणी : अहिले नै मिल्यौ भने किन फुटेका थियौ भन्छन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन अत्यन्त हानिकारक भएको तर अहिले फेरि त्यसबाट उठ्न लागेको बताएका छन् ।
सोमबार नेकपा स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालका कम्युनिस्टहरू तत्काल एकता नहुने बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुने बताएका हुन् । ‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, ओलीले भने, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन् ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अहिलेनै पार्टी एकीकरण गरिहालौँ र भइहाल्छ भन्ने कुरा व्यक्तिगत तुष्ट र आकांक्षामात्र हुने बताए ।
उनले अहिले वामपन्थीहरू ठ्याक्कै मिलेर मात्रै अगाडि बढ्ने अवस्था पनि नभएको बताए ।
‘देशभक्त शक्तिहरू, राष्ट्रिय शक्तिका रूपमा काम गर्न जसले मञ्जुर गर्छ त्यस्ता शक्तिहरू, देशको पक्षमा सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा हुनेहरू’, उनले भने, ‘अनेक प्रकारका साम्प्रदायिक भड्काउने र अविश्वास बढाउने गर्यो भने देश बिथोलिन्छ । ’