शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
अध्यात्म

आध्यात्मिक यात्रा र यसप्रतिका भ्रमहरू

सोमबार, १० वैशाख २०८१, ०६ : १७
सोमबार, १० वैशाख २०८१

एकजना आध्यात्मिक व्यक्तित्वले कुनै टेलिभिजन कार्यक्रममा भने, ‘जसले व्यक्तिको तेस्रो आँखा खोल्न सक्दैन, त्यो वास्तविक गुरु होइन ।’ 

अध्यात्मको ज्ञान दिने उद्देश्यले आज हाम्रो समाजमा विभिन्न सङ्घ–संस्था, आश्रमहरू खोलिएका छन् र सञ्चालनमा छन् । 

ध्यान र ज्ञानका लागि अति उत्तम मानिने देश नेपालमा अहिले मानिसहरूको आकर्षण अध्यात्मतिर पनि देखिन्छ । 

व्यक्तिको तेस्रो आँखा खुल्ने वा खोल्ने भन्ने जुन भनाइ माथि आयो, यसले सरल अध्यात्मलाई एकदमै जटिल बनाइदिएको छ । 

अध्यात्म सरल जीवन जिउने एक कला हो । आजको समाजमा मानिसले जन्मेदेखि आफ्नो जीवनकालमा जति पनि चरित्र निर्वाह गर्र्छ, त्यसका लागि उसले विभिन्न नकाब धारण गरिरहेको हुन्छ । ती नकाबलाई नै मानिसले सत्य ठानिरहेको हुन्छ, वास्तवमा नकाबहरूबाट छोपिँदा उसले आफू को हुँ भन्ने पूर्ण रूपमा बिर्सन पुग्छ । यसरी आफूले धारण गरेको नकाबका कारण मानिसले आफ्नो सक्कल रूप जसरी मेटाएको छ, त्यसका पत्रपत्र केलाउँदै नकाबहरू उतार्दै गएर आफूलाई भेटाउनु नै सामान्य रूपमा अध्यात्म हो । 

यति सरल कुरालाई हामीले जटिल बनाइदिएका छौँ । कसैले भगवान्को प्राप्ति, कसैले तेस्रो आँखा खोल्ने वा खुल्ने, कसैले के, के कसैले के भनिदिँदा आम मानिसमा भ्रमहरू सिर्जना भएका छन् । 

आज हामीले किन आम मानिसको जीवनमा आध्यात्मिकता ल्याउन सकेनौँ ? जब कि अधिकांश मानिसले कुनै न कुनै रूपमा आध्यात्मिक जीवनमा आफूलाई ढाल्न चाहन्छ वा आफू आध्यात्मिक जीवन बाँच्न चाहन्छ तर जो आध्यात्मिक जीवनका लागि विभिन्न गुरु, आश्रम चहार्दै छन्; उनीहरूले पनि सन्तुष्ट वा आध्यात्मिक जीवनले दिने आनन्द प्राप्त गर्न सकेका छैनन् । अर्को ठुलो जमात गुरु र आश्रमको खोजीमा समेत जान डराइरहेका छन् । 

विगत चार वर्षदेखि म आध्यामिक यात्रामा हिँडेको नवओशो संन्यासी हुँ । सन् २०२१ को जुलाईमा ओशो आश्रम तपोवनमा सात दिनको विपश्यना तथा ओशोका अन्य विभिन्न ध्यान विधि समेत प्रयोग गरी बोधिसत्व स्वामी आनन्द अरुणबाट दिक्षा लिई ओशो नवसंन्यासीका रूपमा जीवन बिताइरहेको छु । आफूले भोगेका, महसुस गरेका विभिन्न विषयवस्तुले मलाई लाग्यो— आध्यात्मिक जीवन वा ध्यान साधनाका लागि कतिपय मानिस एकदमै महत्त्वाकाङ्क्षाका साथ भौँतारिरहेका छन् । कोही विभिन्न जटिलताका कारण त्यहाँ प्रवेश गरेका छैनन् तर अधिकांशमा आध्यात्मिक प्यास भने देखिन्छ । 

आज समाजमा आध्यात्मिक जीवन भनेर जतिले विभिन्न स्थानमा धाइरहेका छन्, तिनीहरूलाई रातारात आध्यात्मिक गुरु बन्ने, तेस्रो आँखा खुल्ने, समाधि प्राप्त गर्ने अनि वरदान दिँदै हिँड्ने शक्तिको उदयको उच्च महत्त्वाकाङ्क्षाले भड्काइरहेको छ ।

आध्यात्मिक प्यास बोकेका मानिसहरू पनि किन यो यात्रामा छैनन् भन्ने विषय नै आजको आध्यात्मिक चुनौती हो, समस्या हो । कतिपयले आध्यात्मिक यात्राका लागि त्यो आश्रम होइन यो आश्रम, त्यो गुरु होइन यो गुरु, त्यो ठाउँ होइन यो ठाउँ ठिक भनिरहेको देखिन्छ, सुनिन्छ । यसो भन्नेहरूले कतै आध्यात्मिक विषयमा व्यापार त गरिरहेका छैनन् ? होइन भने जुन गुरु, जुन आश्रम, जुन विधि प्रयोग गरे पनि यी सबैको उद्देश्य आध्यात्मिक जीवन अँगालेको मानिस निर्माण गर्नु हो । पूर्व, पश्चिम, उत्तर, दक्षिण जताबाट आउनुस् आध्यात्मिक जीवनमा आउनुस् भनेर हामी आध्यात्मिक अनुयायीले भन्न किन सकिरहेका छैनौँ ? 

कुनै पनि आध्यात्मिक गुरु वा अभियन्ताले मेरो आश्रमबाट मात्र समाधि प्राप्त गर्न सकिन्छ, मेरो आश्रममा मात्र व्यक्तिको तेस्रो आँखा खुल्छ वा तेस्रो आँखा खुल्नु मात्रै आध्यात्मिकता हो भन्छ भने त्यसमा कति सत्यता छ ? आज समाजमा आध्यात्मिक जीवन बाँचिरहेको छु भनेर दाबी गर्ने व्यक्तिको सामान्य व्यवहार परिवर्तन भएको छैन, उसमा प्रेम छैन, सबैलाई स्वीकार गर्न सक्ने स्वीकार भाव छैन, जीवन जिउने कलामा सरलता छैन, कर्ममा प्रेम र कुशलता छैन तर अध्यात्ममार्फत त्यही व्यक्ति समाधि खोजिरहेको छ । 

नपाकेको फललाई औषधी राखेर वा अन्य विधिबाट पकाउन सकिन्छ तर साधना पूरा नगरेका वा आफ्नो जीवन–व्यवहारलाई परिवर्तन नगरेका व्यक्तिलाई आध्यात्मिक यात्राको उच्चतम बिन्दु (तेस्रो आँखा खुल्ने अवस्था)मा पुर्‍याउन सकिँदैन । कसैले त्यो उच्चतम बिन्दुमा पुर्‍याइदिन्छु भन्छ भने आध्यात्मिक रूपमा न्यायसङ्गत हुँदैन । 

आध्यात्मिक यात्रामा रहेका तमाम सङ्घ–संस्था, आश्रम तथा गुरुहरूले यो प्रस्ट पारिदिनुपर्छ— आध्यात्मिक यात्राले मानिसलाई ईश्वर वा समाधि प्राप्त मात्र गराउँदैन । अध्यात्म जीवनमार्फत पहिले व्यक्तिले आफ्नो परिवारमा प्रेम, विश्वास, आदर र जिम्मेवारी वहन गर्न सक्नुपर्छ; समाजमा सामाजिक दायित्व वहन गर्न सक्नुपर्छ । व्यक्तिलाई सामाजिक सद्भाव फैलाउन सक्ने बनाउने; देश र समाजप्रति इमानदार र नैतिकवान् बनाउने; आफ्नो पेसाप्रति इमानदार र जिम्मेवार बनाउने; जस्तोसुकै भ्रष्टाचारबाट मुक्त तथा आनन्दित मानिस निर्माण गर्ने उद्देश्य आध्यात्मिक यात्राले राख्नुपर्छ । 

अझ सरल भाषामा भन्नुपर्दा कुनै व्यक्तिले कुनै पदको खोल ओढेको छ, ऊ त्यही खोल ओढेर घरमा आउँछ । छोराछोरीका लागि ऊ बाबु बन्न सकेको छैन । आफ्ना आमाबाबुको ऊ असल छोरो बन्न सकेको छैन । श्रीमतीका लागि ऊ असल श्रीमान् बन्न सकेको छैन । समग्रमा ऊ खोलमा यति बेरियो कि ऊ मान्छे नै रहेन । अब उसलाई आध्यात्मिक यात्रामार्फत पहिला मान्छे बनाउने कि छुमन्तर गरेर उसमा दिव्य दृष्टि प्रकट गराइदिने झुटो आश्वासन दिने ? 

अर्का थरी, जो आध्यात्मिक यात्रा सुरु गरेपछि यो सारा भौतिक संसारबाट अलग भइने चिन्ता लिइरहेका छन्, त्यस्तो जमातलाई यो बुझाउन जरुरी छ— ती सबै भौतिक सुविधाबाट तिमीलाई छुटाइँदैन तर अर्को योभन्दा राम्रो संसार पाएको अवस्थामा यो छुट्दैमा तिमीलाई रतिभर पछुतो हुँदैन ।

आज समाजमा आध्यात्मिक जीवन भनेर जतिले विभिन्न स्थानमा धाइरहेका छन्, तिनीहरूलाई रातारात आध्यात्मिक गुरु बन्ने, तेस्रो आँखा खुल्ने, समाधि प्राप्त गर्ने अनि वरदान दिँदै हिँड्ने शक्तिको उदयको उच्च महत्त्वाकाङ्क्षाले भड्काइरहेको छ । अर्का थरीले अध्यात्ममा गएपछि यो भौतिक संसार, सुख–सुविधा, परिवार, बच्चाबच्ची, समाज सबैलाई छाड्नुपर्ने डर लिइरहेका हुन्छन् । यी दुवै थरीको भ्रमलाई नचिरेसम्म आध्यात्मिक यात्रामा हामीले सोचेजस्तो उपलब्धि हासिल गर्न वा सबैलाई आध्यात्मिक जीवनको यात्रामा हिँडाउन सक्दैनौँ । 

यहाँ दुई भ्रमहरू जुन देखाइयो, त्यो पूर्ण रूपका भ्रम भने होइनन् । साधकले साधनाको यात्रा तय गरेदेखि आध्यात्मिक यात्राको उच्चतम बिन्दु प्राप्त गर्न सक्दै सक्दैन भन्ने होइन । सक्छ तर त्यो प्राप्ति मात्र आध्यात्मिक यात्रा होइन, उद्देश्य होइन र यो यात्रामा हिँड्ने सबैले त्यो प्राप्त गर्न सक्दैनन् । जसले प्राप्त गर्छन्, तिनको आफ्नो साधना वा विगतका जन्मको आध्यामिक यात्राका कारण प्राप्त गर्छन् । तर आफैँ नपाकी वा पूर्ण समर्पण नभई अरुले उसलाई त्यहाँ पुर्‍याउन सक्दैन । 

अर्का थरी, जो आध्यात्मिक यात्रा सुरु गरेपछि यो सारा भौतिक संसारबाट अलग भइने चिन्ता लिइरहेका छन्, त्यस्तो जमातलाई यो बुझाउन जरुरी छ— ती सबै भौतिक सुविधाबाट तिमीलाई छुटाइँदैन तर अर्को योभन्दा राम्रो संसार पाएको अवस्थामा यो छुट्दैमा तिमीलाई रतिभर पछुतो हुँदैन । पछुतो हुने गरी केही पनि छुट्दैनन् । 

जस्तो : आज तिमीसँग मोटरसाइकल छ । त्यसप्रति मोह छ तर त्यसको ठाउँमा गाडी पाउँदा मोटरसाइकल सहजै छाड्ने मानिसको स्वभाव हुन्छ । ठिक त्यसरी नै तिमीले जबर्जस्ती भौतिक संसार त्याग्नुपर्दैन, त्यसको बदलामा जब तिमी अर्कोे अझ राम्रो वस्तु फेला पार्छाै, त्यो स्वाभाविक रूपमा आफैँ छाडिन्छ । जब आध्यात्मिक यात्रा उपलब्धिमूलक बन्दै जान्छ, यो संसारमा समाउने वा त्याग्ने भन्ने केही रहँदैन । उसले न राग, न वैराग केवल वीतरागको जीवन जिउन सक्छ । नपाक्दै फल पकाइदिने आश्वासन दिने केही आध्यात्मिक अभियन्ताका कारण कोही त्याग गर्न डराएर आध्यात्मिक जीवनसँग जोडिन सकेनन् । कोही नत्यागे त यो यात्रा अधुरो भयो भनेर त्यागको खोल ओढ्न थाले । विभिन्न खोलमाथि फेरि अर्को आध्यात्मिक खोल ओढेपछि उनीहरूमा अझै बेचैनी बढ्न थाल्छ । 

ध्यान विधिहरू सिकेर, मोटिभेसनल कक्षाहरू लिएर कतिको जागिरमा पदोन्नति भएको वा व्यापार बढेको भन्नेहरू पनि भेटिन्छन् । आध्यात्मिक जीवनमा ध्यान–योगको प्रयोगबाट ती सबै प्राप्त हुन्छन् होला, मानिसको क्षमता बढ्छ होला, त्यसलाई प्रचारको रूपमा जसरी ल्याइन्छ, त्यसले प्रश्न उठाउँछ— के आध्यात्मिक यात्रा यही हो त ? 

ध्यान–योगका कारण जुन व्यक्तिको आज पद बढेको छ, भोलि विविध कारण उसको अर्को पद नबढ्ला । त्यतिबेला उसले अध्यात्मलाई कसरी बुझ्ने ? यत्रो विराट एवं सरल अध्यात्म विज्ञानलाई एउटा जीवनको सामान्य सफलता असफलताको उदाहरणमा ल्याउँदा कस्तो असर पर्न सक्छ ? आध्यात्मिक अभियन्ताले यसप्रति हेक्का राख्नुपर्छ । 

आध्यात्मिक यात्रामा रहेका एक व्यक्तिसँग मलाई कसैले परिचय गराइदिएको थियो । उनको परिवार नै कुनै आध्यात्मिक ज्ञान दिने आश्रममा आबद्ध रहेछ । उनले सोधेपछि आफू ओशो तपोवन गएको मैले सुनाएँ । उनले फ्याट्ट भने– रमाइलो गर्ने भए त्यहाँ (ओशो तपोवनमा) ठिक छ, काम गर्ने भए हाम्रोमा आउनुस् । 

मैले भनेँ, ‘आध्यात्मिक आश्रम, ध्यान र योगबाट रमाइलो नगर्ने पनि हुन्छ र ? अर्कोतिर आध्यात्मिक यात्राका दुई स्थानलाई यसरी तुलना गर्न मिल्छ ? तपाईंको पनि नराम्रो पक्कै होइन, ओशो तपोवन पनि नराम्रो तपाईंले भन्नु हुँदैन ।’ 

हामीले वास्तवमै अध्यात्मलाई विस्तार गर्न चाहन्छौँ, हरेक क्षेत्रमा आध्यात्मिक सोच भएका सरल मानिसको निर्माण गर्न चाहन्छौँ भने राजनीतिक दलले जस्तो मेरो दल राम्रो उसको खराब नभनी, उच्च महत्त्वाकाङ्क्षाको सिकार नबनाई एकदमै सरल तरिकाले अध्यात्मबारे बुझाउन आवश्यक छ । 

एकछिन चुप लागेर उनले भने– ‘सबैले भन्ने गरेको, त्यहाँ त सेक्स फ्री छ... ।’ मैले भनेँ– यसरी हेर्न भएन । विद्यालयमा पढ्न गएका विद्यार्थीमध्ये केही जोडी पार्कतिर जालान्, विद्यालयलाई सेक्स फ्री भन्ने ? विद्यालयबाट भ्रमणको आयोजना भयो, कुनै शिक्षक–शिक्षिका वा छात्रछात्राको मन मिल्यो, विद्यालय भ्रमण त्यसका लागि उचित स्थान भन्ने ? सिनेमा हलमा सिनेमा हेर्दै गर्दा कुनै जोडी आलिङ्गनमा बेरिए, अब सिनेमा हललाई त्यसका लागि उचित स्थान भन्ने ? सार्वजनिक बसको अन्तिम सिटमा त्यस्ता क्रिया होलान्, त्यसलाई त्यसका लागि उचित स्थान भन्ने ? यसरी व्याख्या गर्नु कति उचित कति अनुचित भन्ने प्रश्न रहन्छ ।

ओशोले मानव जीवनमा दबिएर रहेको सेक्सको निकासका लागि व्याख्या गरे । ओशो आश्रम भएकाले त्यहाँ पनि सेक्सका विषयमा खुलेर कुरा हुन्छन् होला, त्यसलाई अन्यथा मान्ने कि नमान्ने ? ओशो आश्रममा भएका अनेकौँ विषय छाडेर जुन सेक्सको मात्र हामीलाई ख्याल भयो, हाम्रो सोचलाई के भन्ने ? यति भनेको उनी उठेर हिँड्न थाले । मैले पनि सौहाद्रतापूर्वक मौका मिल्यो भने तपाईंको आश्रममा भेटौँला भनेर बिदा गरेँ ।

हामीले वास्तवमै अध्यात्मलाई विस्तार गर्न चाहन्छौँ, हरेक क्षेत्रमा आध्यात्मिक सोच भएका सरल मानिसको निर्माण गर्न चाहन्छौँ भने राजनीतिक दलले जस्तो मेरो दल राम्रो उसको खराब नभनी, उच्च महत्त्वाकाङ्क्षाको सिकार नबनाई एकदमै सरल तरिकाले अध्यात्मबारे बुझाउन आवश्यक छ । 

एकपटक गन्तव्यमा पुग्ने समय कटिसक्दा पनि प्लेन उडिरहेछ । यात्रुले पाइलट दलका सदस्यसँग सोधेछन्— हामी गन्तव्यमा पुग्ने समय त भयो, केही खराबी त छैन ? अनि पाइलट दलबाट जवाफ आयो— होइन सबै ठिक छ, आत्तिनुपर्दैन, हामी उडिरहेका छौँ तर कम्पासले काम गरिरहेको छैन । 

यही भनाइजस्तै हामीहरू पनि यात्रामा हिँडिरहेका त छौँ, त्यो प्लेनको कम्पासका कारण गन्तव्य नभेटिएजस्तै हाम्रो यत्रो प्रयासमा सानातिना भनिएका समस्याले हामीले यसको भनेजति उद्देश्य प्राप्त गर्न सकेका होइनौ कि !

अन्त्यमा, आध्यात्मिक यात्रालाई अघि बढाउन निरन्तर लागेका सबै गुरुहरूप्रति मेरो नमन ! सम्पूर्ण सङ्घ–संस्था र आश्रमहरूको प्रयास आध्यात्मिक जीवनमार्फत नैतिकवान् समाजको निर्माण गर्ने नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी ध्यान आधार
स्वामी ध्यान आधार
लेखकबाट थप