एमाले प्रतिनिधि परिषद् बैठक : यथास्थिति र सुधारवादी दस्ताबेज
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् दुई दिन ललितपुरको गोदावरीमा आयोजना गरेको छ । नेपालको राजनीतिलाई नजिकबाट हेर्ने र बुझ्ने सबैका लागि यो अधिवेशनको विशेष महत्त्व छ । सत्ता गठबन्धनको एउटा प्रमुख घटक भएको नाताले पनि यो छलफल हाम्रा लागि अध्ययनको विषय छ र बन्नुपर्छ ।
विचारभन्दा पनि मुख्यगरी विधि र सङ्गठनको बलमा नेपालको राजनीतिमा आफ्नो अलग्गै पहिचान बनाएको एमालेको जमघटमा वैचारिक तथा राजनीतिक प्रश्नमा स्पष्टता र क्रान्तिकारिताको त्यति धेरै अपेक्षा राख्नु निरर्थक हो, तर अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा यो दलको धारणा बुझ्न र मुख्य गरी उसको आन्तरिक स्थितिका बारेमा जानकारी लिन पनि उसका दस्ताबेजहरू अध्ययन गर्न आवश्यक छ ।
राजनीतिक र संगठनात्मक प्रतिवेदनसँगै यसपालि सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगका प्रतिवेदन समेत आएका छन् । यीमध्ये खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र सोही पार्टीका महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक कामको प्रतिवेदन नै मुख्य छन् ।
आफ्ना कामहरूको व्यवस्थित दस्ताबेजीकरण गर्ने र ती दस्ताबेजका आधारमा आफ्नो पङ्क्तिलाई उत्साहित पार्ने काममा यो पार्टीले अलग्गै पहिचान बनाउँदै आइरहेको छ । विचार, कार्यदिशा, कार्यक्रम, आदर्श, मूल्य–मान्यता, त्याग–समर्पण आदिभन्दा सङ्गठन, विधि, प्रचार, व्यवस्थापन आदिमार्फत आफ्नो श्रेष्ठता खोज्ने परम्परा वा अभ्यासलाई यस बैठकले पनि कायम गरेको देखिन्छ ।
यी प्रतिवेदनलाई मुख्य गरी वैचारिक र राजनीतिक कार्यदिशा, तत्कालीन कार्यनीति, देशको परिस्थितिको विश्लेषण र आगामी कार्यभारको कोणबाट हेर्न जरुरी छ । सत्ता गठबन्धनका बारेमा, नेकपा माओवादी केन्द्रका बारेमा, शान्ति प्रक्रिया र विगतका आफ्ना कामका बारेमा एमालेको धारणा बुझ्न यी दस्ताबेजले सघाउँछन् । यो दस्ताबेजको साङ्गोपाङ्गो विश्लेषण गर्न यो सानो टिप्पणीमा सम्भव छैन । यहाँ सङ्क्षिप्त वा बुँदागत रूपमा केलाउने कोसिस गरिएको छ ।
१) वैचारिक तथा राजनीतिक कार्यदिशाको कोणबाट यो पार्टी अहिले पनि बहुदलीय जनवादको घेराभन्दा माथि उक्लिन सकेको छैन । यसबारे विगतमा क्रान्तिकारी माक्र्सवाद र संशोधनवादमाथि लामो बहस भइसकेको छ । नयाँ जनवादी क्रान्तिकालमा यो कार्यदिशाको केही सहयोगात्मक भूमिका भए पनि क्रान्ति अहिले महान् समाजवादतिर प्रवेश गरिसकेको यो समयमा पुनः उही बहुदलीय जनवादलाई मुख्य कार्यदिशाको रूपमा राखिराख्नु अग्रगमन होइन, बरु त्यसको ठिक उल्टो यथास्थिति र अझ कतिपय सन्दर्भमा पश्चगमन हुन पुग्छ ।
आज विश्व र नेपालको कम्युनिस्ट आन्दोलन वास्तविक अर्थमा रक्षात्मक अवस्थामा धकेलिएको छ । माओपछाडि एउटा पनि देशमा साँचो अर्थमा कम्युनिस्ट क्रान्तिकारीहरूको नेतृत्वमा सत्ता लिन सफल भइरहेका छैनन् । थुप्रै सङ्घर्षहरू र बलिदानहरूका अनगिन्ती कीर्तिमानहरूका बाबजुद कम्युनिस्टहरू कुनै पनि देशमा पूर्ण सफलता हासिल गर्न सकिरहेका छैनन् । दायाँ र बायाँ भड्काउ झन् पछि झन् बढिरहेका छन्, ती विसर्जन र विघटनतिर गइरहेका छन् । आज कम्युनिस्टहरूले सर्वाधिक रूपमा यो प्रश्नको सही जवाफ खोज्न जरुरी छ । यो भनेको विचारको विकास नै हो, नयाँ कार्यदिशाको निरूपण नै हो तर नेकपा एमाले आज नेपाल र संसारभर कम्युनिस्टहरूले सामना गरिरहेको यो प्रश्नको अध्ययन, खोज र अनुसन्धान गर्ने प्रश्नमा पूरै बेवास्ता र उदासीनता देखाइरहेको छ ।
तत्कालीन स्थितिको विश्लेषण गर्ने सन्दर्भमा यो पार्टी अहिले आत्मकेन्द्रित, आत्मप्रशंसा र मनोगतवादमा नराम्ररी फसेको स्पष्ट देख्न सकिन्छ ।
२) तत्कालीन स्थितिको विश्लेषण गर्ने सन्दर्भमा यो पार्टी अहिले आत्मकेन्द्रित, आत्मप्रशंसा र मनोगतवादमा नराम्ररी फसेको स्पष्ट देख्न सकिन्छ । आफ्नै पार्टीको गत ग्रासरुट अभियानको सन्दर्भमा पार्टी सदस्यता आधाभन्दा बढी घटेको र दैनिक रूपमा आफ्नो जनमत खस्किँदै गएको यथार्थ स्थितिलाई लुकाउँदै र त्यसको वस्तुनिष्ठ समीक्षा नगरीकन यो तथ्यहरूको तोडमोड गर्दै आत्मरतिमा डुबेको प्रस्ट देख्न सकिन्छ ।
३) तत्कालीन परिस्थितिकै विश्लेषणका सन्दर्भमा आत्मालोचनाको अभाव हुनु यसको अर्काे ठुलो कमजोरी देखिन्छ । खासगरी नेपालमा प्रियतावादी राजनीतिको विकास हुनु, चरम निराशा, विदेश पलायनको मात्रा बढ्नु, विकास निर्माणको प्रक्रियामा गत्यावरोध पैदा हुनु, कम्युनिस्टहरूप्रतिको आकर्षणमा कमी हुनु र मुख्य गरी नेकपाको विभाजन हुनुमा यो पार्टी र यसको मुख्य नेतृत्वको कमजोरीबारे एक शब्द पनि नराख्नु कम्युनिस्ट नैतिकता बिल्कुलै होइन ।
कम्युनिस्ट आन्दोलन र मुख्यतः नेपाली जनताको वामपन्थी हिस्साले अहिले यो पार्टी र यसको नेतृत्वले गम्भीर आत्मालोचना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकरण र ध्रुवीकरणको दिशामा केही पाइला चालोस् भन्ने अपेक्षा गरिरहेका छन् तर त्यसको ठिक विपरीत उसले आफ्नो दस्ताबेजमार्फत ती सबैलाई खारेज गरिरहेको छ । दम्भ, घमण्ड र मनोगतवादमा यो पार्टी नराम्ररी फसेको छ भन्ने यो दस्ताबेज अध्ययन गर्ने जो–कोहीले प्रस्ट रूपमा देख्न सक्छ ।
नेपालमा नेकपाको फुटपश्चात् नेपाली जनतामा चरम निराशा आएको र वामपन्थी जनमत केही भड्किएको यथार्थलाई यसले बुझ्न सकिरहेको छैन । यथास्थितिवाद र प्रतिगमनकारी शक्तिहरू विभिन्न रूपमा जुर्मुराइरहेको र यसमा कहीँ न कहीँ नेकपा एमाले नेतृत्वको गलत सोच–चिन्तन र कार्यशैलीले मलजल गरिरहेको यथार्थलाई यसले नजर अन्दाज गरिरहेको छ ।
४) माओवादी जनयुद्ध र शान्ति प्रक्रियाप्रति उसको विरोध र ईष्र्या अत्यन्त चिन्ताजनक छ । अहिलेको सम्पूर्ण परिवर्तनको केन्द्रमा १० वर्षको महान् जनयुद्ध रहेको र यसैको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशिता आदि महत्त्वपूर्ण उपलब्धि आएको तथ्यलाई उसले हरदम बेवास्ता र गलत सूचना दिएर जनतालाई भ्रमित पारिरहेको छ ।
जनताको महान् विद्रोहलाई यसले अत्यन्त न्यूनीकरण गरिरहेको मात्रै छैन, वैरभावपूर्ण रबैया अपनाइरहेको छ । नेकपा कालमा संश्लेषण गरेको जनयुद्धको महत्त्वलाई यसले पूरै बिर्सिएर त्यसप्रति ठिक उल्टो व्यवहार गरिरहेको छ । एमालेसँग अहिले यी विविध प्रश्नमा लामो बहस छलफल र सङ्घर्ष अति आवश्यक छ । यति हुँदाहुँदै पनि शान्ति प्रक्रियालाई टुङ्ग्याउने सन्दर्भमा थोरै भए पनि सकारात्मक धारणा आउनु राम्रो मान्नुपर्छ ।
५) अहिले यो दल सत्ता गठबन्धनको मुख्य शक्ति हो । यसले यो सरकारलाई आगामी निर्वाचनसम्म लैजाने प्रतिबद्धता जाहेर गरेको छ, यो सकारात्मक छ । सरकार सञ्चालन गर्न गठबन्धनभित्र समानताको व्यवहार गर्ने र सरकारको नेतृत्वलाई सहज रूपमा काम गर्ने वातावरण तयार गर्ने सन्दर्भमा यसले विगतभन्दा केही सकारात्मक व्यवहार र निष्कर्ष निकालेको छ । जुन अहिलेको सन्दर्भमा उचित र आवश्यक छ, तर यो निष्कर्षमा ऊ कति टिक्छ यसैमा सरकारको स्थायित्व र आयु रहेको छ ।
६) कम्युनिस्ट पार्टी स्थापना भएको ७५औँ वर्षका रूपमा हीरक उत्सव मनाउने गरी विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय, राष्ट्रियताको सन्दर्भमा लिएका अडानहरू, विकास निर्माणमा देखाएका चासो, सरकारका राम्रा कामहरूको प्रचार, विदेश नीति आदि केही राम्रा निष्कर्ष यसले निकालेको छ, जसको प्रशंसा गर्न आवश्यक छ । पार्टी सङ्गठन सञ्चालन गर्ने सन्दर्भमा यसले लिएका निर्णयहरू भलै ती नेकपा एमालेभित्रका आन्तरिक विषय हुन् तर अहिलेको अराजक परिस्थितिमा केही मात्रामा भए पनि पार्टीलाई व्यवस्थित बनाउने सन्दर्भमा गरिएका अरुका निर्णय पनि अध्ययन र सन्दर्भ सामग्री पक्कै बन्छन् ।
७) नेकपा एमालेको यो कुम्भ मेलाले अहिले नेपाल राष्ट्रका यावत् समस्याको सही र क्रान्तिकारी समाधान निकाल्न असफल बनेको छ । प्रस्तुत दस्ताबेजहरू यथास्थितिवाद र सुधारवादभन्दा माथि उक्लिन सकिरहेका छैनन् । आज नेपाललाई चाहिएको नेपाली विशेषताको समाजवाद हो तर नेकपा एमाले यो दिशातिर बिल्कुलै हिँड्न तयार छैन ।
(लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारै तिर सडक तर टोड्के पुग्नै सकस
-
इजरायली सैनिकमाथि जिहादी समूहद्वारा मोर्टार प्रहार
-
सचिवहरुको बैठक : ‘राजस्व चुहावट’ रोक्न कम्मर कस्ने
-
एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?
-
पुटिनले गरे नयाँ परमाणु नीतिमा हस्ताक्षर
-
१२ बजे, १२ समाचार : मन्त्रिपरिषद् बैठक रोकेर कांग्रेस-एमाले शीर्ष नेताबिच छलफलदेखि प्रसाईंको गिरफ्तारीसम्म