हङकङ र सिङ्गापुरमा मसलामा क्यान्सर गराउने तत्त्व, के हो मामिला ?
सिंगापुर । हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेट मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ । मानिसहरूलाई यी मसला प्रयोग नगर्न सल्लाह दिइएको छ । साथै यी मसलाको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । सिंगापुरमा पनि एभरेष्टको फिश करी मसाला बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।
हङकङको खाद्य सुरक्षा विभाग सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्भर मसाला मिक्स्डि पाउडर र करी पाउडर मिक्स्डि मसालामा कीटनाशक एथिलिन अक्साइड फेला पारेको छ । मानिसहरूलाई यसको प्रयोग नगर्न आग्रह गरेको छ ।
क्यान्सरको अनुसन्धान गरिरहेको एजेन्सीले एथिलिन अक्साइडलाई क्यान्सर गराउन सक्ने तत्त्वहरूको पहिलो समूहमा राखेको भन्दै बेचबिखन र प्रयोग बन्द गर्नु परेको सेन्टर फर फुड सेफ्टीले बताएको छ । कार्सिनोजेन्स यस्तो पदार्थ हो जसमा क्यान्सर गराउने तत्त्व हुन्छ ।
खाद्य सुरक्षा विभागले खाद्य पदार्थमा विषादीको अवशेष (क्याप. १३२ सेमी)सम्बन्धी नियमलाई उद्धृत गर्दै त्यसको प्रयोग स्वास्थ्यका लागि हानिकारक वा खतरनाक नभए मात्रै त्यस्ता खानेकुरा बिक्री गर्न सकिने बताएको छ । हङकङको सेन्टर फर फुड सेफ्टीले तीनवटा खुद्रा पसलबाट मसलाको नमुना संकलन गरेको थियो । सेन्टर फर फुड सेफ्टीका प्रवक्ताका अनुसार हङकङमा खानामा इथिलिन अक्साइड जस्ता विषादी प्रयोग गर्नेलाई अधिकतम ५० हजार डलर जरिवाना हुनसक्छ । दोषी प्रमाणित भएमा जरिवानासहित ६ महिनासम्म कैद सजाय हुनसक्छ ।
यसैबिच, सिंगापुरले एभरेष्टको फिश करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । त्यहाँ यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लैजान भनिएको छ । एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको फिस करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ । आफ्नो निर्णयको समर्थनमा सिंगापुरको फुड एजेन्सीले हङकङको खाद्य सुरक्षा विभागले जारी गरेको उही निर्देशनलाई उद्धृत गरेको छ । निर्देशनमा एमडीएच र एभरेष्टको फिश करी मसलामा क्यान्सर गराउन सक्ने तत्त्वहरू भएको बताइएको थियो ।
के भन्छ एभरेष्ट ?
थोरै मात्रामा इथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने सिंगापुरको फुड एजेन्सीले बताएको छ । तर लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्ने बताइएको छ । समाचार वेबसाइट भिआनलाई दिएको जवाफमा एभरेष्टले आफू पचास वर्ष पुरानो र प्रतिष्ठित ब्रान्ड भएको बताएको छ ।
‘हाम्रा सबै सामाग्रीहरू कडा जाँचपछि मात्रै उत्पादन र निर्यात गरिन्छ । हामी सरसफाइ र खाद्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालन गर्छौं । हाम्रा उत्पादनहरूमा भारतीय मसला बोर्ड र एफएसएसएआईलगायत सबै एजेन्सीहरूको छाप छ,’ कम्पनीले भनेको छ,‘हरेक पटक निर्यात गर्नुअघि सामाग्रीहरू भारतको मसला बोर्डमा परीक्षण गराइन्छ । अहिले हामी आधिकारिक जानकारी पर्खिरहेका छौँ । हाम्रो गुणस्तर नियन्त्रण टोलीले यस विषयमा राम्ररी अनुसन्धान गर्नेछ ।’
के हो इथिलीन अक्साइड ?
इथिलीन अक्साइड एक खालको रंगहीन र ज्वलनशील ग्यास हो । यो सामान्यतया कृषि, स्वास्थ्य सेवा र खाद्य प्रशोधन उद्योगहरूमा कीटनाशक र स्टरलेन्ट फ्युमिगेन्ट बनाउन प्रयोग गरिन्छ । मसला र अन्य सुख्खा खानाहरूमा माइक्रोबियल प्रदूषण हटाउन र कीराहरू नियन्त्रण गर्न इथिलीन अक्साइड प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, ढुसी र कीराहरूबाट जोगाउन पनि इथाइलिन अक्साइड प्रयोग गरिन्छ ।
कयौँ स्वास्थ्य संस्थाहरूले यसलाई कार्सिनोजेनको श्रेणीमा राखेका छन् । कार्सिनोजेन्सले क्यान्सरको जोखिम निम्त्याउन सक्छ । इथिलिन अक्साइडको सेवनबाट हुन सक्ने खतरालाई ध्यानमा राख्दै धेरै देशका खाद्य नियामकहरूले खाद्य वस्तुहरूमा यसको प्रयोगका सम्बन्धमा कडा नियम बनाएका छन् । यी देशहरूमा इथिलीन अक्साइडको मात्रा निर्धारण गर्न कडा कानुनहरू पनि छन् ।
अमेरिकामा समस्या
यसअघि पनि भारतीय कम्पनीले बनाएका मसलाहरूमाथि विदेशमा प्रश्न उठाइएको थियो । यसअघि सन् २०२३ मा अमेरिकी खाद्य र औषधि प्राधिकरणले एभरेष्टको साम्बर मसाला र गरम मसालालाई बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो । यी मसलाहरू साल्मोनेला पोजेटिभ पाइएको थियो । यो ब्याक्टेरियाले पखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने वा बान्ता हुने आदि समस्या देखिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा हजार गुम्बा विहारको उद्घाटन
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन