बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

आइतबार, ०९ वैशाख २०८१, १४ : ३३
आइतबार, ०९ वैशाख २०८१

गलेश्वर । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् ।

“खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्”, मङ्गला–५ का किसान टीकानाथ कँडेलले भने । कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” 

खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उनले बताइन् । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । 

वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बेँसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला–५ छिस्वाङका निकेश पुनले बताए । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उनको भनाइ छ । बँदेलले रातिमात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उनले बताए । 

जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका–१ का किसान टेकबहादुर विकले बताए । दुम्सी आफ्नो बस्तीमा छ्यास्छ्यास्ती देखिने गरेका उनको भनाइ छ । बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् ।

डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती/बस्ती पसेका स्थानीय किसानले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप