आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती सरसफाइ

मदन भण्डारीको शवमा जल चढाएको भोलिपल्ट जब विद्यादेवीका हातबाट गन्ध आयो

आइतबार, ०९ वैशाख २०८१, १२ : ३९
आइतबार, ०९ वैशाख २०८१

बागमती सफाइ महाअभियान २०७० जेठ ५ गते सुरु भएको थियो । यो अभियान सुरु हुनुपूर्व नै नेपाल सरकारको आधिकारिक निकाय अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको स्थापना भइसकेको थियो ।  

कसरी सुरु भयो त बागमती नदीको संरक्षण र सफाइ अभियानको अवधारणा ? यही साता यस पंक्तिकारले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको थियो । भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले बागमती सरसफाइ सुरु गर्नुको घटना सुनाइन् । 

२०५० जेठ ३ गते जननेता मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा परी अकल्पनीय मृत्यु भएपछि उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा ल्याइयो । ब्रह्मनालमा राखिएको शवलाई हिन्दु परम्परा अनुसार धर्मपत्नी (विद्यादेवी भण्डारी)ले वागमतीको जल चढाइन् । त्यसको भोलिपल्ट हात र औँलाबाट अलि फरक किसिमको गन्ध आएको उनलाई महसुस भएछ । गन्धको कारण बागमतीको जल भन्ने उनलाई थाहा भयो । त्यसपछि ‘यो त अति भयो, अब केही गर्नुपर्छ’ भन्ने भाव उनीमा जागृत भएछ । 

आफू काठमाडौँबाहिर जन्मे–हुर्केकाले उनलाई बागमती यतिसम्म फोहोर होला, गन्हाउने होला भन्ने कल्पनासम्म थिएन । बागमती नदी पवित्र धार्मिक नदी भएकाले सफा होला भन्ने उनको धारणा रहेछ । जब पानी छोएको हातबाट फरक गन्ध आयो, त्यसपछि यसबारे आफूलाई गहिरो छाप परेको र सोही दिनदेखि बागमती नदीका बारेमा चिन्ता र चासो बढेको उनले बताइन् ।

त्यसपछि भएको उपनिर्वाचनमा उनी काठमाडौंबाट निर्वाचित भइन् । जिम्मेवार बढेको महसुस गरी बागमती नदीलाई सफा र संरक्षण गर्नुपर्छ भनी विभिन्न छलफल गरेको र यही एजेन्डा लिएर सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवकहाँ गएको उनले स्मरण गरिन् । 

बागमती सफाइबारे अहिले भइरहेको धेरै कामप्रति उनको चित्त बुझेको छैन । नदीको पानीको बहाव बढाउन बनेको ड्यामबारे समेत उनले चासो दिइन् ।

बागमती नदीको शुद्धीकरणका लागि २०५१ चैत २८ गते तत्कालीन श्री ५ को सरकार (एमालेको नौमहिने शासन)ले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो । त्यस समितिमा पहिलो अध्यक्षको रूपमा आफू रहेपछि झनै जिम्मेवारी बढेको उपराष्ट्रपति भण्डारीको भनाइ थियो । 

त्यति बेला निकै छोटो कार्यकाल रहेकाले आफूले सोचेजस्तो काम गर्न नसके पनि यसबारे चिन्ता–चासो निरन्तर रहिरहेको, नदी संरक्षणमा आफू सधैँ प्रतिबद्ध हँुदै अगाडि बढेको उनले बताइन् । नदीलाई प्राकृतिक बहावमा बग्न दिनुपर्ने, नदीलाई नहरजस्तो बनाउन नहुने, नदी छेउछाउमा मानिस हिँड्न मिल्ने पेटी हुनुपर्ने भन्ने पक्षमा आफू सधैँ रहेको उनको भनाइ छ । नदी ढलमुक्त नभएसम्म जति सफा गरे पनि परिणाम आउँदैन भनी आफू पदमा रहँदा वा नरहँदा पनि पटकपटक सम्बन्धित निकायलाई भन्ने गरेको उनले सुनाइन् । 

बागमती सफाइबारे अहिले भइरहेको धेरै कामप्रति उनको चित्त बुझेको छैन । नदीको पानीको बहाव बढाउन बनेको ड्यामबारे समेत उनले चासो दिइन् । आफूले पटक–पटक नदी संरक्षणका विषयमा सम्बन्धित निकायमा भने पनि सोचेजस्तो ठोस काम हुन नसकेकामा उनले चिन्ता व्यक्त गरिन् । यद्यपि यसका अभियन्ताहरू निस्वार्थ भावनाका साथ लागिरहेको आफूले नजिकबाट नियालेको भन्दै प्रशंसा समेत गरिन् । नदीलाई ढलमुक्त बनाउनतर्फ जोड दिनुपर्ने उनको सुझाव रह्यो । 

एउटा भावनात्मक घटनाले जन्माएको नदी संरक्षण अभियानलाई सार्थकता दिन सरकारी स्तरबाट निकाय गठन गरी काम–कारबाही गर्ने ज्यादै प्ररेणादायी कार्य हो भन्ने लाग्छ । पूर्वराष्ट्रपति भण्डारीले नदी संरक्षणमा दिएको योगदान, चिन्ता र चासोलाई हामीले सुन्दै र महसुस गर्दै आएका छौँ । 

नदीलाई ढलमुक्त बनाउनतिर सरकारी निकायको ध्यान जान जरुरी छ । २०५२ मङ्सिर ६ गते ‘अधिकार सम्पन्न बागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति’ गठन भएको थियो । त्यसपछि यसलाई २०६५ जेठ २६ मा ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’को रूपमा गठन गरियो । यो करिब ३० वर्षको दौरानमा सरकारी निकायले जति काम कारबाही गर्नुपर्ने हो, त्यो गर्न सकेन भन्दा फरक नपर्ला । 

जब नागरिक स्तरबाट २०७० जेठ ५ गते बागमती सफाइ महाअभियानको थालनी भयो, तब केही सुधार हुन थाले । प्रायः मृत अवस्थामा रहेको नदी नागरिक जागेपछि परिणाम आउन थाल्यो, सरकारी निकायमा पनि यसको प्रभाव र दबाब पर्न गई नदीको स्च्छताका लागि विभिन्न निर्माण कार्यले तीव्रता पाउन थाले । सरकारी उदासीनता क्रियाशीलतामा परिणत हुन लाग्यो । 

बागमतीलगायत काठमाडौं उपत्यकाका अन्य सहायक नदीबाट हालसम्म करिब २० हजार मेट्रिक टनभन्दा बढी फोहोर नदीहरूबाट निकाली व्यवस्थापन गरिएको छ ।

नागरिक अभियान सुरु भएदेखि हालसम्म नदी सफाइमा करिब १५ लाख जनाभन्दा बढीको संलग्नता रहेको छ । देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राज्यका उच्चपदस्थ पदाधिकारी, कर्मचारी तथा कलाकारदेखि नागरिकसम्म यो अभियानमा सहभागी भई योगदान दिएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठुलो साथ, सहयोग र योगदान रहँदै आएको छ । नेपाल टेलिकम लगायत विभिन्न संघ–संस्थाले सफाइ सामग्री सहयोग गर्दै आएका छन् । 

बागमती नदीका सहायक नदीहरूको पनि सरसफाइ अभियान चलेको छ । काठमाडौं उपत्यका बाहिर देशैभरि गरी सयभन्दा बढी स्थानमा सरसफाइ अभियान सञ्चालनमा छन् । पछिल्लो समय नदी संरक्षणमा काठमाडौं महानगरका मेयर बालेन शाहको सक्रियता बढ्दो छ । महानगर आफैँले नदी सफाइ अभियानलाई तीव्रता दिँदै आएको छ । 

बागमतीलगायत काठमाडौं उपत्यकाका अन्य सहायक नदीबाट हालसम्म करिब २० हजार मेट्रिक टनभन्दा बढी फोहोर नदीहरूबाट निकाली व्यवस्थापन गरिएको छ । नदी किनारमा ६ हजारभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । यो अभियानको दबाब र अगुवाइमा नदी किनाराका सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता ल्याउन सकिएको छ । अभियानको प्रभाव र सक्रियतामा विभिन्न सङ्घसंस्था तथा निकायले सामाजिक उत्तरदायित्व अन्तर्गत नदी किनारामा पुरातात्त्विक स्थलको संरक्षण तथा तीन दर्जनभन्दा बढी पार्कहरू निर्माण भएका छन् । 

बागमती सरसफाइमा सहभागी हुने र परोक्ष सहयोग गर्ने सबै यसका अभियन्ता हुन् । यस अभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो । 

  • सरसफाइका लागि निम्न सचेतना आवश्यक छ :

१) घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी कुहिने फोहोरलाई अर्गानिक मल बनाई कौसी खेती गर्ने । 

२) प्लास्टिक, फलाम र कागजलाई बिक्री गर्न सकिने भएकाले त्यो फोहोरलाई मोहोर बनाउने ।

३) घर–आँगन, गाउँसहर, सार्वजनिक स्थल, मठमन्दिर र नदीहरू सफा राख्न आफू अग्रसर भई अरूलाई पनि प्रेरणा दिने । 

४) यात्रा गर्दा सवारी साधनभित्रको फोहोर सवारीसाधनभित्रै तोकिएको ठाउँमा मात्र फाल्ने परिपाटीको विकास गर्ने ।

५) बागमती, सहायक नदीहरू र देशका सम्पूर्ण नदी तथा सार्वजनिक स्थलहरू सफा र संरक्षण गर्ने अभियानमा लाग्ने । 

६) प्लास्टिक नजलाउने, प्लास्टिकजन्य वस्तु जलाउनु हँुदैन भन्ने चेतना सबैमा जगाउने । 

७) वायु प्रदूषण घटाउन आफ्नो तर्फबाट भरपूर प्रयास गर्ने । 

८) आफ्नो सामाजिक सञ्जालमा हप्तामा कम्तीमा एकपटक सफाइ र वातावरण संरक्षणमा प्रभाव पार्ने सन्देश राख्ने । 

९) फोहोर व्यवस्थापनमा मेरो जिम्मेवारी भन्ने भावनाको विकास गर्ने ।

१०) आफ्नो बासस्थान, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरू सफा राख्ने अभियानमा लाग्ने । 

(लेखक चन्द बागमती सफाइ महाअभियानका अभियन्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चक्रबहादुर चन्द
चक्रबहादुर चन्द
लेखकबाट थप