बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

शनिबार, ०८ वैशाख २०८१, १४ : ५३
शनिबार, ०८ वैशाख २०८१

-राजकुमार पराजुली
काभ्रेपलाञ्चोक ।  अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिँदा समस्या निम्तिने भएको छ । 

तीन वर्षमा सक्नेगरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा पहिलेकै स्थानमा पुरानै शैलीका ढल राख्दा र आवश्यक स्थानमा नराख्दा ढल व्यवस्थापन भने अस्तव्यस्त हुने भएको हो । 

अरनिको राजमार्ग विस्तारका क्रममा भएका सबै संरचनाको पुनःनिर्माण गर्ने गरी आयोजनाले गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा उल्लेख भएअनुसार सडक क्षेत्रमा पर्ने ढल, खानेपानीलगायतका संरचना पुनर्निर्माण हुने तर आयोजनाले कुनै नयाँ स्थानमा नयाँ व्यवस्थापन नगर्ने सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए ।

उनका अनुसार पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन हुन्छ । नयाँ ढल राख्ने वा थप्ने योजना छैन । खनालले भने, “त्यो काम अन्य निकायको कार्यक्षेत्रमा पर्छ ।” धुलिखेल नगरपालिका–३ बाँसघारीमा हाल ढल परिवर्तनको काममा भइरहेको छ । बनेपामा भने साविकको ढल परिवर्तन गर्ने भए पनि नयाँ ढलमा आयोजना संलग्न नहुने खनालको भनाइ छ । 

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल साँगामा खुला ढल छाडिएको छ । खुला ढल नयाँ बन्ने सडकको किनार हुँदै विकटेश्वर खोलामा मिसिनेछ । उक्त खोला र घाटलगायतका अन्य संरचनामासमेत असर पुग्ने स्थानीय बताउँछन् । स्थानीयहरुले आयोजनामार्फत नयाँ र व्यवस्थित ढल निर्माण गर्न अनुरोध गर्दै आएका छन् ।

स्थानीय सुकदेव जोशीले पटक–पटक वडा कार्यालयमार्फत आयोजनालाई व्यवस्थित ढलका लागि अनुरोध गर्दै आएको तर आयोजना र निर्माण व्यवसायीले बेवास्ता गरेको बताए । “अहिलै आवश्यक स्थानमा व्यवस्थित ढल निर्माण नगरे ढल अस्तव्यस्तसँगै वातावरण प्रदूषण हुनेछ”, उनले भने ।

अर्का स्थानीय राजेन्द्र जोशीले आयोजनाले निर्माण गरेको कार्य अलपत्र छाड्दा स्थानीयलाई थप सास्ती भएको बताए । उनले स्थानीयका घर जाने बाटोमा समेत अवरोध हुने गरी संरचना निर्माण गरिएकामा आयोजना गम्भीर हुनुपर्ने गुनासो गरे । उनले भने, “विशेषगरी ढल व्यवस्थापनमा गम्भीर नभए स्थानीयले विरोधकमा उत्रने चेतावनी दिइरहेका छन् ।” 

स्थानीयले तत्काल खुला ढल, खानेपानी, पुरातात्विक संरचनाको व्यवस्थापन गर्न बनेपा नगरपालिकालाई आग्रह गरेका छन् । यसैगरी सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएको खानेपानीका पाइप तथा ढल व्यवस्थापनमा कठिनाइ भएको आयोजनाले जनाएको छ । 

यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आयोजनासमेत अन्योलमा परेको हो । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ ।

विशेषगरी बनेपा नगरको मुख्य बजारक्षेत्र पुलबजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन हजार दुई सय मिटर सडक दायाँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनका विषयमा चुनौती देखिएको खनालले बताए । उनका अनुसार धुलिखेलमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । 

खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रको खानेपानी र ढल व्यवस्थापनको काम भइरहेको छ । आयोजनाका अनुसार खानेपानी तथा ढल व्यवस्थापनमा अध्ययनबाट धुलिखेलमा खानेपानीको व्यवस्थापनमा रु एक करोड र ढल व्यवस्थापनमा रु चार करोड खर्च हुने अनुमान गरिएको छ । 

यस्तै आयोजनाले बनेपामा खानेपानी र ढलको काम सुरु गर्दा कुन तरिकाबाट काम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । यसअघि पनि सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको थियो । 

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप