२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
![२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो](https://npcdn.ratopati.com/media/news/yam-bhima_Kbxxw1wDg0.jpg)
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अघिल्लो बिहीबार डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनिएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चासो व्यक्त गरेका छन् । बुधबार परिवारले मागहरू सम्बोधन नभए शव नबुझ्ने भनेपछि मुख्यमन्त्री कँडेलले घटनाको विषयमा चासो दिएका हुन् ।
कँडेलले बिहीबार परिवारका सदस्यहरूलाई बोलाई छलफल गरेका छन् । छलफलका क्रममा कँडेलले छानबिन समिति बनाइ छानबिन गर्ने कुरामा सकारात्मक धारणा राखेको तर, क्षतिपूर्ति र खर्च व्यवस्थापन गर्न नसकिने कुरा राखेका थिए ।
भीमाका हजुरबुबा नाता पर्ने कृष्ण गुरुङका अनुसार आफूहरूले पहिला छानबिन समिति बनाउन आग्रह गरेको र त्यसपछि शवको व्यवस्थापन गरी दैलेख पुर्याउने खर्चको व्यवस्थापन गरिदिन आग्रह गरेको उनले बताए । ‘उहाँले चासो लिनु भएको छ, तर कुरा टुङ्गोमा पुगेको भने छैन,’ उनले भने।
पीडित परिवारको माग ७ महिने दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये १ जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्च स्तरीय छानबिन समिति गठनको माग राखेको छ । तर अस्पताल र प्रदेश सरकारले घटनाको उच्च स्तरीय छानबिन बाहेकका अरू माग पुरा गर्न नसकिने बताएको छ ।
प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले अस्पतालले क्षतिपूर्ति दिन नसक्ने कुरा आफूहरूले पहिले नै बताइसकेको बताए । तर, छानबिन समिति बनाइ अनुसन्धान गरे त्यसमा आफूहरू तयार रहेको उनले रातोपाटीलाई बताए ।
‘क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । छानबिन समिति गठन गर्न हामी सहमत छौँ,’ उनले भने, ‘अस्पतालबाट गल्ती भएको छ भने कानुन अनुसार कारबाही भोग्न तयार छौँ भन्ने कुरा हाम्रो छ ।’
उनका अनुसार परिवारको मुख्य माग बच्चाको लालनपालनको ग्यारेन्टी हुनुपर्यो भन्ने रहेको बस्नेतले बताए । तर अस्पतालसँग त्यस्तो स्रोत पनि नभएको र ग्यारेन्टी गर्न नसकिने कुरा अस्पतालले प्रष्ट रूपमा भनिदिएको उनको भनाइ छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्य छानबिन समिति बनाउने विषयमा कुरा अघि बढेको बताउँछन् । ‘छलफल भइरहेको छ, छानबिन समितिका लागि प्रदेश सरकारले अग्रसरता देखाउला,’ उनले भने ।
भीमाको मृत्यु भएको एक हप्ता बितिसकेको छ । तर, शव अझै अस्पतालमै छ । उनको ७ महिने छोरी छिन् । शव अस्पतालमै छाडेर आफन्तहरू घर फर्किसकेका छन् भने भीमाका बुबा–आमा, ससुरा, श्रीमान् मात्रै सुर्खेतमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन