शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तराई मधेसमा बदनाम बन्दै वरमाला

बिहीबार, ०६ वैशाख २०८१, १२ : २१
बिहीबार, ०६ वैशाख २०८१

पछिल्लो समय तराई मधेसमा वरमाला वा स्वयंवर विकृति बन्दै गएको छ । परापूर्वकालदेखि चल्दै आएको वरमाला पछिल्लो समय ठगी गर्ने भाँडो बनाएको कारण विकृतिको रूप लिँदै गएको हो । 

स्वयं र वर दुई शब्द मिलेर स्वयंवर बनेको छ, यसको अर्थ हुन्छ— कन्याले आफूलाई मन पर्ने वर (पति) स्वयं चुन्नु । प्राचीनकालमा भारतमा यही प्रथा थियो अर्थात् कन्यालाई आफ्नो पति चुन्ने अधिकार थियो ।

स्वयंवरको चलन एउटा हिन्दु परम्परा हो, जसमा कन्या स्वयंले आफ्नो पति (वर) चुन्ने गर्छिन्, माला लगाइलिएर । यसरी उनीहरूको विवाह हुन्छ । 

दमयन्तीको स्वयंवर यस कुराको प्रमाण हो कि वैदिककालमा यो प्रथा समाजका चारवटै वर्णमा प्रचलित थियो । रामायण र महाभारत कालमा पनि यो प्रथा राजन्य (शासक वर्ग) वा उच्च वर्गमा प्रचलित थियो । 

राजन्यसँग आबद्ध कन्याले पति चुन्ने काम स्वयंवरमा गर्थिन् तर समाजद्वारा मान्यता प्रदान गर्नका निमित्त कन्यालाई आफ्ना लागि पति छान्ने स्वतन्त्रता थिएन । बुबाको सर्त अनुसार पूर्ण योग्यता प्राप्त व्यक्ति नै चुनिन सकिन्थ्यो । पूर्वमध्यकालमा पनि यही प्रथा प्रचलित रहेको प्रमाण पाइन्छन्, जुन संयोगिताको स्वयंवरमा स्पष्ट देख्न सकिन्छ । पार्वतीद्वारा भगवान् शिवको चयन, सीताको स्वयंवर, द्रौपदीको अर्जुनसँग विवाह आदि यसै परम्पराको उदाहरण हो । 

राम र कृष्ण युगमा स्वयंवरका क्रममा वरले सौर्य प्रदर्शन समेत गर्नुपर्थ्यो । जस्तो:ः रामले जनकको दरबारमा भगवान् शङ्करको धनुष उठाएपछि सीतालाई र अर्जुनले माछाको आँखामा बाणले भेदन गरेपछि द्रौपदीलाई पाएका थिए । 

विगत एक दशकयता वरमाला सहरदेखि गाउँसम्म एउटा फेसन बनेको छ । सहरी क्षेत्रमा हुने विवाहमा केटा वा केटी पक्षको माग अनुसार स्वयंवरको स्वरूप वरमालाको आयोजना भएको पाइन्छ । 

सम्पन्न परिवारका सन्तानको विवाह प्रायः होटेल अथवा पार्टी प्यालेसमा हुन्छन्, त्यहीँ वरमालाको आयोजना हुन्छ । वरमालाको प्रक्रिया पूरा भएपछि बेहुलाबेहुली दुवै पक्षका आफन्तले पालोपालो वरवधूलाई आशीर्वाद दिन्छन् । 

वरवधूका साथ तस्बिर खिचाउने र अन्त्यमा शुभ साइतस्वरूप आफ्नो गच्छेअनुसार वर–वधूको हातमा नगद दिने प्रचलन पाइन्छ । ग्रामीण भेगका आम मानिसले वरमालालाई खर्चिलो विवाह तथा एउटा देखावटीका रूपमा हेर्ने गरेका थिए । 

घरबाट हुने बिहेमा छुट्टै व्यवस्था नभए पनि जन्ती बस्ने पण्डाल (मण्डप)मै बेहुला बसिरहेका हुन्छन् । बेहुली आफ्नो साथीहरूको साथमा आउँछिन्, एक–अर्कालाई माला लगाएर वरमालाको विधि पूरा गर्छन् । यहाँ पनि दुवै पक्षका आफन्तहरू पालोपालो बेहुलाबेहुलीलाई आशीर्वाद दिने, तस्बिर खिचाउने र अन्त्यमा बेहुला बेहुलीका साथै बेहुलीका साथीलाई पनि हातमा नगद दिने गरिन्छ । यस क्रममा खास गरेर बेहुलाका साथीहरू निकै हौसिन्छन्, बेहुला बेहुलीका साथमा विभिन्न पोजमा तस्बिर समेत खिचेर उनीहरू रमाउने गर्छन् । 

यसरी हुने वरमालाको विधिमा बढीमा ३० देखि ४५ मिनेट लाग्ने गर्छ अर्थात् सहज रूपमा यो विधि पूरा गरिन्छ । वरमालाको यस विधिलाई आम मानिसले सहज रूपमा लिने गरेका छन् । 

वरमालामा सहभागी हुन एक जना टाठाबाठाले माइकबाट सूची अनुसार नाम बोलाउँछन् । पटक पटक नाम तोकेर माइकबाट बोलाएपछि भद्र मान्छे मण्डपमा जान बाध्य हुन्छन् र विचार गर्छन्— यसअघि गएकाहरूले कति–कति रुपैयाँ बेहुला–बेहुलीका हातमा दिएका थिए ?

खास गरेर वरमाला शिक्षित तथा सम्पन्न वर्गमा प्रायः देख्न पाइन्थ्यो तर विगत केही वर्षदेखि वरमालाको विधि अब परम्परा, देखावा र फेसन नभएर बिना लगानी हजारौँ रुपैयाँ कमाउने एउटा ठगीको जस्तो व्यापार बनेको छ । कतैकतै बेहुलाबेहुली दुवै पक्षका केही टाठा बाठा मिलेर आफन्त, साथी, चिनेका राम्रा भद्र मानिसबाट आशीर्वादको नाउँमा जबरजस्ती हजारौँ रुपैयाँ असुली गर्ने माध्यम बनेको छ वरमाला । 

नैतिकता नभएका तथा समाजको वास्ता नगरी मात्र नाफाको सोच राख्ने दरिद्र मानसिकताका केही मानिस बेहुलाबेहुली दुवै पक्षका आफन्तको नाम, दुवैका बुबाका साथी, दाजुका साथी, जन्ती गएका भद्र मानिसको पहिल्यैदेखि सूची तयार पारेर राखेका हुन्छन् । वरमालाको विधि सुरु हुँदा बेहुला बेहुलीका बुबा, दाजुभाइहरू तथा नजिकका आफन्त आशीर्वाद दिएर जान्छन् । 

यही क्रममा सुरु हुन्छ नियोजित व्यापार तथा ठगी धन्दा । वरमालामा सहभागी हुन एक जना टाठाबाठाले माइकबाट सूची अनुसार नाम बोलाउँछन्, पूरै बढाइचढाइ गरेर । नाम तोकेर माइकबाट पटक पटक बोलाएपछि भद्र मान्छे मण्डपमा जान बाध्य हुन्छन् र उनले एकछिन विचार गर्छन्, आफूभन्दा अगाडि गएकाले कति–कति रुपैयाँ बेहुला–बेहुलीका हातमा दिएका थिए, त्यसैअनुसार आफ्नो सामाजिक प्रतिष्ठा अनुसार नचाहेर पनि दिनुपर्ने बाध्यता हुन्छ । 

पैसाकै कारण वरवधूलाई आशीर्वाद दिने यो क्रम घन्टौँ चल्छ । आशीर्वाद दिन आउने मानिसलाई निहुरेर ढोग्दा ढोग्दै र तस्बिर खिचाउँदा खिचाउँदै बेहुलाबेहुलीको हालत खराब हुन्छ । त्यसैगरी बस्दाबस्दा बोर हुन्छन् जन्तीहरू तर योजनामा लागेकाहरू मान्दैनन्, जबसम्म सूची सकिँदैन । 

केही महिनाअघि एक जना साथीलाई भेट्न म एउटा गाउँमा गएको थिएँ । साथी भेट हुँदा बसेर भलाकुसारी भइरहेको थियो, साथमा गाउँका एक–दुईजना अन्य सज्जन मानिस पनि बसेका थिए । सोही क्रममा अर्का एक जना गाउँका मानिस त्यही आएर बसे । उनले पहिल्यैदेखि बसेका एक जना गाउँलेलाई सोधे— दाइ ! आज त तपाईंको साढुभाइको छोराको बिहे होइन, जन्ती नजाने हो कि क्या हो ?

यो प्रश्नसँगै ती व्यक्ति एकछिन चिन्तित मुद्रामा देखिए र जवाफ दिए— भाइ लुगा–कपडा धुलाएर जन्ती जाने तयारीमा थिएँ तर अन्तिममा एउटा कुराले मलाई रोकिदियो । मेरो दुईजना साढुहरू अलि हुने–खाने परिवारका छन्, म मध्यम वर्गीय परिवारको । जन्ती जाँदा वरमालामा कहीँ उनीहरूले दुई हजारका दरले बेहुलाबेहुलीको हातमा पैसा दिए भने आफू जेठो भएका कारण कम्तीमा जनही २५ सय दिनुपर्छ । केही दिनअघि चैते धान खेतमा हाल्न मलखाद र औषधी खरिद गरेको थिएँ । अहिले हात खाली छ, त्यसैले म आफ्नो सट्टा छोरालाई जन्ती पठाएको छु । छोरा बेहुलाभन्दा सानो छ उसलाई त्यो समस्या पर्दैन ।

अर्थात् वरमालाको नाउँमा जबरजस्ती असुलीका कारण एक जना आफन्त बिहेको अवसरमा चाहेर पनि जान पाएनन् । यो त एउटा उदाहरण मात्र हो, नजिकिएर हेर्ने हो भने तराई मधेसमा वरमाला परम्पराले एउटा ठुलो विकृतिको रूप लिएको छ । कैयौँ मानिस यसैका कारण आफन्त वा छिमेकीको बिहेमा जाँदैनन्, सानो उमेरका छोरालाई पठाएर झारो टारिरहेका छन् । गलत मानसिकताका केही मानिसका कारण वरमालाको परम्परागत चलन बदनाम भइरहेको छ । जबरजस्ती वरमालाको नाउँमा पैसा असुलेर परम्परालाई नै बदनाम गर्ने काम अविलम्ब बन्द हुनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप