सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

प्रकट पंगेनीलाई नमस्कार

बिहीबार, ०६ वैशाख २०८१, १० : ४८
बिहीबार, ०६ वैशाख २०८१

श्री प्रकट पगेनी ‘शिव’ज्यू !
पंगेनी आर्ट मेडिया
गैह्रापाटन, पोखरा
आदरणीय मित्र प्रकटज्यू !

मलाई ‘तपाईं बुढो हुनुहुन्छ’ जस्तो लाग्थ्यो, तर तपाईं त मभन्दा पाँच महिना कान्छो हुनुहुँदो रहेछ ! वास्तवमा तपाईंको प्रौढ लेखनीले गर्दा मेरो मन तपाईंलाई पाको मान्छेमा गणना गरिरहन्थ्यो ।

नेपालमा राम्रा–राम्रा नेपाली गीत लेख्ने स्रष्टाहरूको गणना गर्दा म प्रकट पंगेनी ‘शिव’को नाउँ पनि अग्रपङ्क्तिमा लिन्छु । पंगेनीका गीतमा भेटिएका उज्याला र अँध्यारा प्रसङ्गले मान्छेलाई आफू त्यसै गीतभित्रको एउटा पात्र भएको अनुभूति हुने गर्छ । वास्तवमा पृथ्वीको त्यस्तो बेग्लै धरातलभित्र कतै रुने ठाउँ भए म पनि तपाईंका गीत पढेर रोइरहन्थेँ हुँला । सायद मेरो विगतदेखिको जीवनलाई अँध्यारा पक्षले ढकमक्क ढाकेको प्रसङ्गले म तपाईंको गीतको गहिरो पारखी बन्न सकेको पनि हुन सक्छ । त्यति मात्र होइन, मैले तपाईंको ‘यो मन कतै अल्झेको छ’ गीतसङ्ग्रहमा गीतमा हुनुपर्ने सम्पूर्ण तत्त्व भरिपूर्ण देख्न पाएँ । हुन त म पनि गीत लेख्ने रहर गर्छु, तर कति प्रयास गर्दा पनि तपाईंले झैँ शब्द, भाव र विषय खुलाएर गीत लेख्न सफल हुन सकिनँ । यति हुँदाहुँदै पनि तपाईंका प्रायः सबै भावना मेरा भावनामा टमक्कै बाँधिएका छन्, मैले ती बेहोरा प्रस्तुत गर्न नसकेको मात्र हुँ ।

तपाईं अझै लेख्तै जानुहोस् । तपाईंका यस्ता अमर कृति अरू थुप्रै बढ्दै जाऊन् । तपाईंका कृतिहरू देशदेशान्तरमा फैलँदै जाऊन् । सरल, सरस र सहज अभिव्यक्ति प्रकट गर्ने प्रकट पंगेनीवरपर मजस्ता थुप्रै पाठकको भीड लागोस् । वास्तवमा असल मान्छेका भावनामा तीरैतीर, भीरैभीर र घावैघाउ हुँदा रहेछन् । असल मान्छेले अरूको पीडामा रन्थनिँदारन्थनिँदै आफूलाई शिखाझैँ हराइसकेको हुँदो रहेछ तर त्यो डाम, त्यो रनाहा र त्यस तापले ‘यो मन कतै अल्झेको छ’ त्यस्तो कृतिको सृष्टि पनि हुन्छ, जुन अनन्तअनन्तसम्म बाँचिरहन्छ । स्रष्टाहरू माटोमा बिलाउँदा ती स्रष्टाका सृष्टि झन् खारिला, चोटिला र भरिला भएर जनजनका ढुकढुकीमा विराजमान भइरहेका हुन्छन् ।

प्रकट पंगेनीज्यू ! ‘शिव’ कहाँबाट ल्याएर छेउमा टाँस्न पुग्नुभयो ? प्रकट पंगेनी नै कति सुन्दर थियो ! ‘शिव’ले अनुप्रास, कविता र छन्दलाई भङ्ग गरेझैँ मलाई लाग्यो । त्यसरी ‘शिव’ रुचाउनेले ‘शिवराज पंगेनी’ लेख्न छाड्नु हुँदैनथ्यो नि ! त्यो नाउँ कति मीठो छ, कति राम्रो छ, कति शाश्वत छ ! आफ्ना बुबा कुबेरदत्त र आमा नन्दकुमारीले छोरालाई दिएको बाल्य नाउँ शिवराज पगेनीभित्र पनि त साहित्य छ नि !

तपाईंको ‘यो मन कतै अल्झेको छ’ मैले २०५६ चैतको पहिलो हप्तामै प्राप्त गरेको थिएँ । तर प्रायः म कुहिरोभित्रको काग भइरहनाले यहाँसमक्ष जवाफ टक्य्राउन सकिरहेको थिइनँ । यति हुँदाहुँदै पनि मलाई मन परेको ‘यो मन कतै अल्झेको छ’ चाहिँ घरीघरी पढिरहन्थेँ; इन्दिरालाई सुनाइरहन्थेँ । यहाँका केही गीतहरू मैले मेरी ८४ वर्षीया आमा भागीरथा प्रसाईंलाई पनि सुनाएको छु । गीतसँगसँगै मेरी आमा भन्ने गर्नुहुन्थ्यो— ‘कस्तो ताप परेर लेखेको गीत रहेछ, कठैबरी !’ साँच्चै हो, तपाईंका कुनै कुनै गीतले मान्छेको त के, ढुङ्गाकै मन पनि पगाल्छन् -

कोही हुन्न दुक्ख पर्दा रुने मुटु यौटै हुन्छ,

जति हाँसो खुले पनि छातीभित्र चोटै हुन्छ ।

मिति : २०५७ साउन २३ 

तपार्ईंको साहित्यिक मित्र

(नरेन्द्रराज प्रसाईं)

स्रोतः नमस्कार (चिठीनिबन्धसङ्ग्रह, २०५८)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप