शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

२२ वर्षीया भीमाको मृत्यु प्रकरण: क्षतिपूर्ति नदिए परिवारले शव नबुझ्ने

बुधबार, ०५ वैशाख २०८१, १९ : १२
बुधबार, ०५ वैशाख २०८१

सुर्खेत । अघिल्लो बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्षीया भीमा (रिजुका) गुरुङ बलामीका आफन्तहरूले क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने बताएका छन् । 

बुधवार प्रदेश अस्पतालको प्रमुख गेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित परिवारले डाक्टरहरूकै लापरबाहीले भीमाको मृत्यु भएको र अस्पतालले पीडितको गुनासो सुनुवाइ नगरेको भन्दै शव नबुझ्ने बताएका हुन् । 

भीमाका आफन्तहरूले आज पनि अस्पतालको गेटमा आन्दोलन जारी राखेका छन् । भीमाको मृत्यु भएको आज ६ दिन बितिसकेको छ । तर, शव अस्पतालमै छ । उनको ७ महिने दुधे छोरी छिन् । 

सामान्य पेट दुखाई सम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनलाई डाक्टरले पेटमा ३ महिनाको सालनाल रहेको बताए । त्यसपछि सामान्य सफाइ गर्नुपर्ने भनी अस्पताल भर्ना गरिएको भीमाका बुबा गोविन्दबहादुर गुरूङले बताए ।

भीमाको शल्यक्रिया गर्नुभन्दा अगाडि डाक्टरहरूको टिमले यो केश सामान्य भएकाले चिन्ता नगर्नु भनेर भनेका थिए ।  गोविन्दबहादुरका अनुसार चैत्र २९ गतेकै दिन दिउँसो २ः५० सम्म पनि भीमाको अवस्था ठिकै रहको र रगत चढाइरहेको जानकारी गराएका थिए ।

‘तर, ठिक तीन बजे एक्कासि तपाईँको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराएपछि हामी आश्चर्यमा प¥यौँ,’उनले भने, ‘शल्यक्रियाको क्रममा बिरामीको अवस्थाको विषयमा बिचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापरबाहीका कारण मृत्यु भएको कुरामा कुनै शङ्का छैन ।’ 

घटनापछि अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ खड्काले दिएका थिए । 

‘यदि यो केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई किन जानकारी गराइएन ?,’ पीडित परिवारको प्रश्न छ ।

पीडित परिवारले केश गम्भीर भनेपनि स्त्री रोगसम्बन्धी सिनियर डाक्टरहरू उपचारमा संलग्न नभएको बताएको छ । ‘निर्देशक डा. डम्बर खड्का स्वयम् स्त्री रोग विशेषज्ञ हुँदाहुँदै आफैले पनि किन उपचारमा चासो नदिएको?’ भीमाका ससुरा बुबा धनबहादुर बलामी प्रश्न गर्छन्, ‘सबैलाई थाह भएकै कुरा हो कि उहाँ निर्देशक भएपनि निजी अस्पताल सञ्चालक पनि हुनुहुन्छ । कतै उहाँहरूलाई प्रदेश अस्पतालभन्दा आफ्ना निजी अस्पताल र क्लिनिकप्रति बढी चासो चिन्ता भएकाले मेरो बुहारीले मृत्युवरण गर्नु परेको त होइन ?’ 

सबै कारणहरू बुझ्दा डाक्टरहरूको लापरबाहीका कारण नै भीमाको मृत्यु भएको परिवारको दाबी छ । जसका कारण भीमाको मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनु पर्ने आन्दोलित आफन्तहरूको भनाइ छ । 

अस्पतालले अहिलेसम्म भीमाको मृत्युबारे कुनै धारणा सार्वजनिक गरेको छैन । 

के हो माग ? 

पीडित परिवारको माग भनेको ७ महिने दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये १ जनालाई रोजगारी, बालिकाको, पठनपाठनको ग्यारेन्टी र घटनाको उच्च स्तरीय छानबिन समिति गठनको माग राखेको छ । 

यही माग राखेर बिहीबार देखिनै आन्दोलन भइरहनेपनि अस्पताल प्रशासनले कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । 

यो विषयमा पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक नलिई गैरजिम्मेवारीपना प्रदर्शन गरेको भीमाका श्रीमान् नमराज बलामी बताउँछन् । 

‘हामी सामान्य गरिब परिवारका मानिस सुर्खेतजस्तो महँगो सहरमा बस्न र आन्दोलन गरिरहन पनि सकिँदैन,’उनले भने, ‘क्षतिपूर्ति नदिए हामी भीमाको शव छोडेर जान्छौँ ।’ 

७ महिनाको दुधे छोरी हातमा लिँदै नमराज छोरीले आमा खोजी रहेको भन्दै निराश भए । उनी भन्छन्, ‘भीमाको मृत्यु भएपछि बजारको दुध किनेर खुवाइरहेको छु, जतिबेला पनि आमाको काख खोज्छ, आमाको अभावमा छोरी छट्पटाइरहन्छ, म कसरी उसलाई आमाको आभास दिलाऊँ ?’ 

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले पीडित परिवारलाई झ्क्याएको आरोप छ । 

सुरुमा खड्काले आफ्नो एक महिनाको तलब र अन्य साथीहरूसँग कोडिनेशन गरेर भएपनि क्षतिपूर्ति दिइने बताएका थिए । 

पछि बोलाउँछु भनेर खड्काले पीडित परिवारलाई बोलाउँदै बोलाएनन् । आन्दोलन चलिरहेपछि सोमबार जिल्ला प्रशासनमा बोलाइयो । 

त्यहाँ सुरक्षा निकाय, पीडित परिवार, सो क्षेत्रका सांसद विनोदकुमार शाह, गमता विक, सामाजिक विकास मन्त्रालयका अधिकारीहरू सहभागी थिए । उक्त बैठकमा खड्काले गैरजिम्मेवारीपूर्ण जवाफ दिएको भीमाका ससुरा धनबहादुर बलामीले बताए ।

‘तपाईँहरु जे हुन्छ, जहाँ जानुहुन्छ, जे गर्नुहुन्छ गर्नुहोस्, हामी केही गर्दैनौँ,’खड्काले उक्त बैठकमा भने, ‘त्यसपछि वार्ता भङ्ग भयो ।’ 

पीडित परिवारले आफ्नो क्षेत्रका सांसद तथा नेताहरूले पनि सहयोग नगरेको गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप