बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

बुधबार, ०५ वैशाख २०८१, १४ : १६
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । 

नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।  खेल आठ ओभरमा झारिएको छ ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा बुधबार समूहगत चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह ‘ए’ अन्तर्गत नै बुधबार मलेसिया र हङ्कङबिच पनि खेल भइरहेको छ । मलेसियाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफमा नौ ओभरको खेल सकिँदासम्म हङ्कङले दुई विकेट गुमाएर ९९ रन बनाएको छ । 

नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ । नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसिन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् । 

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेताको सामना गर्नेछन् ।  समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई(दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्वपूणर् प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप