‘राष्ट्रिय ध्यान दिवस मनाइयोस् र अष्टावक्र महागीतालाई राष्ट्रिय पुस्तक घोषणा गरियोस्’
ओशोको अन्तर्राष्ट्रिय कम्युन ओशो तपोवन काठमाडौँमा नयाँ वर्ष २०८१ को पहिलो दिन (वैशाख १ गते) तेस्रो ‘ओशो महोत्सव’ सम्पन्न भयो । महोत्सवमा प्रमुख अतिथि उपराष्ट्रपति र विशेष अतिथि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानको महत्त्व र फाइदाका बारेमा बोल्दै ओशो र ओशो दर्शनको गरिमाको प्रशंसा गरेका थिए ।
महोत्सवमा स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक ‘मिस्टिक एन्ड मिराकल’को नेपाली अनुवाद पुस्तक विमोचन गरिएको थियो । महोत्सवमा स्वामी आनन्द अरुणले विशेष प्रवचन दिएका थिए । जसरी २१ जुनलाई भारतले ‘विश्व योग दिवस’ घोषणा गर्न संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव लगी पारित गरायो, त्यसैगरी गौतम बुद्धको जन्मभूमि नेपालले पनि ध्यान दिवस (बुद्ध पूर्णिमाको दिन वा अरु कुनै दिन) मनाउने प्रस्ताव संयुक्त राष्ट्र सङ्घमा लगोस् भन्ने स्वामी अरुणको भनाइ थियो ।
सरकारले एउटा क्याबिनेटको निर्णयबाट ‘राष्ट्रिय ध्यान दिवस’ घोषणा गर्न सक्ने भन्दै अष्टावक्र महागीतालाई ‘राष्ट्रिय पुस्तक’ घोषणा गर्न पनि उनले आग्रह गरेका थिए ।
‘नयाँ वर्षको महाउत्सव, ओशो महोत्सव’ नाराका साथ सम्पन्न महोत्सवमा बृहत् साहित्य प्रदर्शनी, फुड फेस्टिबल, लाइभ म्युजिक र डिभाइन डान्स प्रस्तुत गरिएको थियो ।
ओशो भन्थे— आनन्द र उत्सवको पृष्ठभूमिमा जीवन जिउनुपर्छ । यो सारा जीवन परमात्माको उपहार हो । जीवनको सबै रङमा, जीवनको सबै सुन्दरतामा, सबै मिठासमा, सबै उल्लासमा जीवनले जे ल्याउँछ त्यसमा आनन्दित हुनुपर्छ । यो सारा अस्तित्व जीवनको नृत्य हो । जीवनलाई गहन प्रेम गर्नुपर्छ । जीवनलाई समग्रतामा र मदमस्त भएर जिउनुपर्छ । जीवनमा हरेक चिजको उत्सव मनाउनुपर्छ । त्यसकारण म जीवनमा उत्सव सिकाउँछु ।
त्यस्ता महान् गुरुको अन्तर्राष्ट्रिय ध्यान केन्द्रका रूपमा विकसित भएको ओशो तपोवनमा ओशो महोत्सव हुनु ओशो संन्यासी, ओशो प्रेमी र साधकका लागि सुवर्ण अवसर रह्यो ।
१९९० मार्च २१ मा स्थापना भई विश्वभरि ओशोको सन्देश अनि योग, ध्यान, अध्यात्म र आनन्द फैलाइरहेको ओशो तपोवन अहिले नेपालमा मात्र होइन विश्वभरि लोकप्रिय हँुदै गइरहेको छ । महान् बौद्ध भिक्षु नागार्जुनले २००० वर्षअघि २७ वर्षसम्म अनवरत साधना गरी बुद्धत्व प्राप्त गरेको रहस्यमय स्थल पनि हो ओशो तपोवन, जहाँ ओशोको सुन्दर समाधि पनि छ । तिनै महान् बौद्ध भिक्षु नागार्जुनका नामबाट नागार्जुन जङ्गलको नाम रहेको हो ।
ओशोका शिष्य बोधिसत्त्व स्वामी आनन्द अरुणको संयोजकत्वमा ३४ वर्षअघि काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका– ५ मा ओशो तपोवन स्थापना भएको थियो । नेपालमा ओशो अभियानको सुरुवातकर्ता स्वामी अरुण ओशो तपोवनका प्रमुख आचार्य हुन् । उनले अहिलेसम्म विश्वका करिब ८० देशका झन्डै एक लाख ५० हजारभन्दा बढी व्यक्तिलाई ओशो नवसंन्यासमा दीक्षित गरिसकेका छन् ।
ओशो तपोवनमा रजनीश ध्यान मन्दिर, मृत्युपार्क, चिटिक्क परेको शिवपुरी बाबा स्मृति मन्दिर, कबिर मन्दिर, ऊर्जायुक्त बुद्ध मन्दिर, शिव मन्दिर, भव्य स्वागत कक्ष, स्वादिष्ट साहाकारी जोर्बा दी बुद्ध रेस्टुरेन्ट लगायत अति नै महत्त्वपूर्ण ठाउँ छन् ।
नागार्जुन जङ्गलसँगै हरियालीयुक्त परिवेशमा, रङ्गी–विरङ्गी सुन्दर फूलहरूको सुगन्ध र सुवासमय वातावरणमा रहेको ओशो तपोवन परिसरभित्र कोइलीको कुहुकुहुसँगै अरु चराहरूको चिर्बिर सुन्न सकिन्छ । यस धर्तीका महान् बुद्ध पुरुषहरू ओशो, जिसस, बुद्ध, कबिर, शिव, कृष्ण र राधाका सुन्दर मूर्तिहरू पनि यहाँ छन् । हल्का भिरालो जमिनको भूगोलमा बहुत सुन्दर ढङ्गले बनाइएको महान् गुरु ओशोको यो सुन्दर कम्युनभित्र खोलामा कलकल बगिरहेको पानीको आवाज सुन्दै अनि गर्मीमा चिसो हावाको शीतलताको अनुभूति गर्दै वृक्षहरूको फेदमा बसेर ध्यानमा बस्दा परम आनन्दको अनुभूति गर्न पाइन्छ ।
सरकारले एउटा क्याबिनेटको निर्णयबाट ‘राष्ट्रिय ध्यान दिवस’ घोषणा गर्न सक्ने भन्दै अष्टावक्र महागीतालाई ‘राष्ट्रिय पुस्तक’ घोषणा गर्न पनि उनले आग्रह गरेका थिए ।
पूर्वमन्त्री गिरिराजमणि पोखरेललगायत विभिन्न पूर्वमन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरुकोे उपस्थिति रहेको महोत्सवमा चर्चित हास्य कलाकार मनोज गजुरेलको हास्य प्रस्तुति, चर्चित गायकहरू स्वरूपराज आचार्य र सत्यराज आचार्यको गायन प्रस्तुति रहेको थियो । त्यसैगरी बलिउड नायिका तथा निर्माता रीतिका आनन्द र बलिउड नायक मनोज मिश्रको समेत प्रस्तुति थियो ।
ओशो तपोवन प्रवेशद्वारबाट नालन्दा हाउससम्म विभिन्न स्टल रहेको महोत्सवमा ‘स्ट्रिट फेस्टिभल’को झलक देख्न पाइन्थ्यो । साधकहरू बिहान ७ बजेबाटै रजनीश ध्यान मन्दिरमा ध्यान र योगमा सहभागी भएका थिए भने घुम्ने, बाहिरी परिवेशमा रमाउने र फोटो खिच्ने व्यक्तिहरूले दिउँसो ११ बजेबाट विशेष आनन्द लिएका थिए । त्यसैगरी साँझ ५ बजेदेखि महोत्सवको विशेष आकर्षण थियो । यस महोत्सव आयोजना गर्न स्वामी आनन्द अरुणको संरक्षकत्वमा चार सदस्यीय आयोजक कमिटी निर्माण गरिएको थियो । आयोजक कमिटीमा स्वामी आनन्ददेव (भवन भट्ट) प्रमुख संयोजक थिए भने स्वामी आनन्द अर्हत, सोबिता सिम्खडा र निराजन भण्डारी संयोजक थिए ।
महोत्सवमा सहभागी हुन आएका आगन्तुकहरूको सवारी–साधनहरूको पार्किङ तपोवनको प्रवेशद्वारको दायाँबायाँ निकै टाढासम्म लहरै देखिन्थ्यो । तपोवन गेट वरिपरि सवारी साधनमय भएको थियो ।
त्यसैगरी महोत्सवको भोलिपल्ट वैशाख २ गते रजनीश साधना सङ्घ इन्टर्नेसनल (आरएसएसआई) को राष्ट्रिय सम्मेलन ओशो तपोवनमा भयो । त्यसमा नेपालभरिका रजनीश साधना सङ्घ इन्टर्नेसनलका सदस्य सहभागी भएका थिए । उक्त सम्मेलनमा सहभागीलाई ओशो देशनाको प्रचारका लागि स्वामी आनन्द अरुणले विशेष प्रवचन, निर्देशन तथा रमाइला जोक सुनाएका थिए ।
यसअघि पहिलो (२०७९ वैशाख १ गते) र दोस्रो (२०८० वैशाख १ गते) काठमाडौँको टुँडिखेलमा भव्य तरिकाले ओशो महोत्सव सम्पन्न भएको थियो ।