बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

इलाम २ उपनिर्वाचन : ‘राजनीतिक पर्यटन’को घुइँचो

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : १३
मङ्गलबार, ०४ वैशाख २०८१

इलाम । यही वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको गर्मी केन्द्रदेखि जिल्लासम्म छ । निर्वाचन परिणामले शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको भावी राजनीतिको रूपरेखा कोर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाइएको छ ।

चुनावी परिणाम अंक गणितीय रुपमा जेसुकै भएपनि दलहरूले आफ्नो प्रतिष्ठा र भावी राजनीतिको दिशानिर्देश गर्ने निश्चित छ । सोही कारणले पनि इलाम २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छ ।

राजनीतिक अदलबदल र सत्ता समीकरणका हिसाबले पनि इलाम २ को उपनिर्वाचन मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र कोशी प्रदेश नामकरण विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरूले विशेष चासोका साथ हेरेका छन् । एमाले अढाई दशकदेखिको आफ्नो विरासत जोगाउने तयारीमा छ भने कांग्रेस विरासत भत्काउने अभियानमा छ । 

अन्य दल र स्वतन्त्र उम्मेदवारहरू आफूलाई इलाममा स्थापित गराउने दाउमा छन् । विशेष गरी पहिचानवादीहरूले उपनिर्वाचनलाई आफ्नो आन्दोलनको रूपमा हेरेका छन् । त्यसैले पनि इलाममा राजनीति गर्माएको छ र ‘राजनीतिक पर्यटन’को गतिविधि बढेको छ । 

२०७९ को निर्वाचन भन्दा हालको उपनिर्वाचन परिस्थितिका हिसाबले फरक रहेको छ । मतदाताको मनोविज्ञान र भावना केही परिवर्तन भएको बुझेका उम्मेदवार परिणाम आफ्नो पक्षमा पार्न सक्दो मेहनत गरिरहेका छन् ।

प्रतिष्ठा र भावी राजनीति दिशानिर्देश गर्ने भएकाले इलाम यतिबेला केन्द्रीय नेताहरूको भ्रमण गर्ने गन्तव्यका रूपमा पनि विकसित भएको छ । ‘राजनीतिक–पर्यटन’ इलाममा मजाले फस्टाएको छ । कार्यकर्ता र नेताहरूको भ्रमणले इलामको पर्यटनमा थोरै मलजल पुगेको छ । होटल हाम्रो पोखरेलीका सञ्चालक विजय राई कार्यकर्ता र नेताहरूले होटल बुकिङले गर्दा १० दिन यता कारोबार राम्रो भइरहेको बताउँछन् ।

‘राजनीतिक पर्यटनले व्यवसायीलाई केही उत्साहित गराएपनि यो दिगो होइन । चुनावका बेला नेताहरूको मिठो भाषण, महत्त्वाकाङ्क्षी योजना सुन्न पाइन्छ । होटलमा घोषणा पत्रका बारेमा उत्तेजित योजनाहरु सुन्न पाइएको छ तर पर्यटन प्रवर्द्धन र विकासका लागि उपलब्धि सोचे अनुसार काम भएको छैन,’ उनले भने,‘पर्यटनका लागि इलामले धेरै गर्नुपर्नेछ । केन्द्रीय नेताहरूको भ्रमणले केही सुधार हुने अपेक्षा चाहिँ गर्न सकिन्छ ।’

हुन पनि इलामको माटोमा पाइला नै नटेकेका नेताहरूलाई यसपालि घुम्ने मौका मिलेको छ । भौतिक विकासका दृष्टिकोणले कमजोर रहेको इलाम क्षेत्र नम्बर २ का स्थानहरूमा नेताहरूको उपस्थितिले स्थानीय केही उत्साहित छन् ।

उम्मेदवारी दर्ताकै दिन मात्र दर्जन बढी केन्द्रीय नेताहरू इलाममा थिए । त्यसपछि निरन्तर फरक फरक दलका नेताहरू इलामको भ्रमणमा छन् । दुई दिन भए पनि गाउँमा पुगेर मतदाताको समस्या सुन्न भ्याइरहेका छन् ।

उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरू आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुग्ने क्रम अहिले पनि जारी छ ।

कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी दर्तामा सहमहामन्त्री भीष्मराज आङदेम्बे, बद्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा थिए । त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला इलाम पुगेर तस्विर खिचाइसकेका छन् । डा.कोइराला मंगलबार किराँत धर्मगुरुको बसोबास रहेको लारुम्बा भ्रमणमा थिए । विश्वप्रकाश चुनावी कमान्डर नै भएकाले इलामका गाउँमा बाक्लै देखिएका छन् । 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बाक्लो रूपमा इलाम बसिरहेका छन् । चुनावी कमान्डर नै भएकाले उनी आफ्नो दलका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने ठोकुवा गरिरहेका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नबिना लामालगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन् ।

गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए । साथै पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बोलगायत नेताहरूले चुनावी कार्यक्रममै भाग लिएका थिए ।

केही दिनमै अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले इलामले जनाएको छ । एमालेका तर्फबाट पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन् । सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे ।

लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरू पनि इलाम उत्रिएर घरदैलो गर्न भ्याइसकेका छन् ।

हाल सरकारमा रहेका चार मन्त्री पुनः इलाम जाने तयारीमा छन् । पार्टीका उम्मेदवार लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेसहित चार मन्त्री इलाम जाने महामन्त्री मुकुल ढकालले जानकारी दिए । शिक्षामन्त्री सुमना श्रेष्ठ, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, श्रम मन्त्री डिपी अर्यालले फरक फरक मितिमा इलाममा घरदैलो गर्ने कार्यक्रम तय भइसकेको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । राउतले कन्याममा घोडसवार नै गरेर तस्विर खिच्न भ्याए । अरु नेताहरुपनि चियाबारी डाँडामा उक्लिएर तस्विर खिचाउन होडबाजी गरिरहेका छन् । 

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपालि नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएपछि चुनावी माहौल बदलिएको छ । आगामी २०८४ सालको निर्वाचनका लागि नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेताहरू इलाम भ्रमणलाई बाक्लो बनाइरहेका छन् ।

पुराना दलहरूका लागि टाउको दुखाइ बनेका पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह थेगिमको पक्षमा माहौल बनाउन धरान उपमहानगरका मेयर हर्क साङपाङ पनि इलाम ओहोरदोहोर गरिरहेका छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई थेगिमको पक्षमा माहौल बनाउन यसअघि नै इलाम पुगिसकेका छन् । त्यसवाहके लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन लगायत नेताहरूले इलामलाई भ्रमणको केन्द्रमा राखेका छन् ।

नेताहरूको इलाम दौडधुप राजनीतिक प्रतिष्ठा, भावी रूपरेखा मात्र नभई इलाम घुमघामको मेसो पनि बनेको छ । यसलाई कतिपयले ‘राजनीतिक पर्यटन’ भनेका छन् । विकासका दृष्टिकोणले पछि परेको इलाम २ का गाउँहरूलाई दशकौँसम्म सम्बोधन गर्न नसकेका नेताहरूका लागि उपनिर्वाचनलाई एउटा परीक्षाका रूपमा हेरिएको छ । –न्युज बैंक नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप