चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो
गोरखा । चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा मंगलबार दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध छन् ।
‘‘भक्तजनलाई व्यवस्थित रूपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले भने, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।” मन्दिरमा एकैदिन सात हजार पाँच सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उनको भनाइ छ ।
भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उनको अनुमान छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरू पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।
चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआजा हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ । मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रूपमा लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु