सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विकास

स्थानीय बासिन्दाको किचलोले ‘गञ्जागोल’ बनेको विकास, सबैभन्दा धेरै झमेला प्रसारण लाइनमा

स्थानीयले ‘च्याँखे’ थाप्दा लक्ष्यअनुसार अघि बढ्दैन निर्माण
मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ३४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक–थ्रु’ भएपछि नेपालमा सुरुङ युग सुरु भएको छ । जलविद्युत परियोजनाहरूमा यस अघिदेखि नै सुरुङमार्ग बने पनि सडकमार्गमा यो पहिलो हो । २०७६ साल कात्तिक ४ गते शिलान्यास भएको यो आयोजनामा स्थानीय बासिन्दाको अनगिन्ती अवरोध हुँदैनथ्यो भने यसअघि नै ‘ब्रेक थ्रु’ भइसक्थ्यो र सञ्चालनमा समेत आइसक्थ्यो । शिलान्यास भएको ४२ महिनामा निर्माण नै सक्ने लक्ष्य लिइएको थियो ।

तर, जापान सरकारको ऋण सहयोगमा बनिरहेको यो परियोजना शिलान्यास भएको साढे ४ वर्षपछि बल्ल सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । ‘ब्रेक थ्रु’ भए पनि कच्चा रूपमा वारपार छेडिएको सुरुङलाई पक्की बनाउनेदेखि धेरै संरचनागत निर्माणको काम बाँकी नै छ । बाँकी सबै काम सम्पन्न बनेर सवारी चल्न थप १ वर्षको समय लाग्ने आयोजनाका प्रमुख नविनमान श्रेष्ठ बताउँछन् ।

आयोजनाको निर्माण अवधि लम्बिनुमा शिलान्यास भएलगत्तै सुरु भएको कोरोना महामारी, क्रसर उद्योगीको आन्दोलन र स्थानीय बासिन्दाको अनगिन्ती मागसहितको आन्दोलन मुख्य कारण हुन् । कोरोना महामारी अकल्पनीय प्राकृतिक प्रकोप हो भने क्रसर व्यवसायीको आन्दोलन राजनीतिक नेतृत्वसँगको असन्तुष्टि । तर परियोजना आसपासका स्थानीयले सुरुङमार्गमाथिको जग्गाको मुआब्जा, रोजगारी, आयोजनाबाट उठ्ने टोलबाट सीमित हिस्सा, बिजुली, पानी, भाडा र नयाँ घर निर्माण गर्नुपर्ने माग राखे । आयोजना बन्ने भएपछि देशभरका बिचौलियाले जग्गा किनेर सरकारसँग मुआब्जाको माग समेत राखे ।

‘स्थानीयले यतिबेला सुरुङमार्गबाट उठेको ‘टोल शुल्क’बाट सीमित रकम आफूहरूलाई चाहिने माग राखेका छन्,’ ती कर्मचारीले भने, ‘यो मागलाई थाँती राखेर ब्रेक थ्रु गरेका हौँ । स्थानीयसँगको सम्झौता सकिएको छैन ।’

यी असीमित र अनगिन्ती माग राख्दै स्थानीय बासिन्दाले पटक–पटक अवरोध गर्दा आयोजना निर्माणको गति सुस्त बन्यो । स्थानीय बासिन्दाले विभिन्न माग राख्दै आधा दर्जनभन्दा बढी पटक निर्माण रोके । जसले आयोजनाको ‘ब्रेक थ्रु’ पछाडि धकेलिएको सडक विभागका कर्मचारी बताउँछन् ।

‘स्थानीयले यतिबेला सुरुङमार्गबाट उठेको ‘टोल शुल्क’बाट सीमित रकम आफूहरूलाई चाहिने माग राखेका छन्,’ ती कर्मचारीले भने, ‘यो मागलाई थाँती राखेर ब्रेक थ्रु गरेका हौँ । स्थानीयसँगको सम्झौता सकिएको छैन ।’

स्थानीय बासिन्दाको माग देखेर परियोजना निर्माणमा खटिएका इन्जिनियर, श्रमिक मात्रै नभएर सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत आजित बनिसकेको छ । तर आयोजना अघि बढाउनका लागि स्थानीयसँगको सहकार्य आवश्यक छ । स्थानीय बासिन्दाले विश्वमा कतै नमागिने सुरुङमार्ग माथि पर्ने जग्गाको मुआब्जा समेत मागेर दुःख दिएको सबैजसो सरोकारवालाको बुझाइ छ ।

‘जेन्यून’ माग छ भने मुआब्जा दिनुपर्छ । जायज माग छ भने अर्थ मन्त्रालयसँग बजेट नै माग गर्छौँ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता उमेशबिन्दु श्रेष्ठले भने, ‘अलिअलि समस्या आएको नागढुङ्गामा नै हो । यसबाहेक अन्यत्र धेरै समस्या छैन ।’

यो नेपालभर स्थानीय बासिन्दाको अन्त्यहीन अवरोध खेपिरहेका सयौँ आयोजनाको प्रतिनिधिमूलक आयोजना मात्रै हो । यसबाहेक सबैभन्दा ठुलो विदेशी लगानीमा बनिरहेको अरुण–३ जलविद्युत परियोजना समेत स्थानीय बासिन्दाको पटक–पटकको अवरोध खेप्ने आयोजनाको सूचीमा अग्रस्थानमै छ । आयोजना निर्माणस्थल आसपास वर्षौँअघि मुआब्जा वितरण सम्पन्न भइसकेको लगानी बोर्ड बताउँछ । तर, सङ्खुवासभाका स्थानीय बासिन्दाले पुनः मुआब्जाको माग राख्दै प्रसारण लाइनतर्फको काम रोक्दै आएका छन् । फलस्वरुपः जलविद्युत उत्पादनतर्फ ७० प्रतिशत भौतिक प्रगति हुँदा प्रसारण लाइनतर्फ २० प्रतिशत पनि पुगेको छैन ।

आयोजना निर्माणमा पटक–पटक अवरोध पुर्‍याउँदै आएका स्थानीयले २४.५ किलोमिटर प्रवेशमार्गको मुआब्जा माग्दै ६७औँ दिनसम्म अवरोध खडा गरेका थिए । सो आयोजनामा स्थानीय बासिन्दाको अवरोध धेरै अघिदेखि चल्दै आइरहेको थियो र छ । यो पनि स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण अवधि लम्बिइरहेको आयोजनामध्ये अग्रणी हो ।

नेपाल सरकारले ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना बनाउन २०४५ सालदेखि नै काम थालेको थियो । उक्त समयमा आयोजना बनाउने भन्दै सङ्खुवासभाको आयोजना प्रभावितलाई मुआब्जा वितरण गरिएको थियो ।

२०७४ सालको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार अध्ययन गरेर ४ किलोमिटर पहुँचमार्गका स्थानीयवासीलाई मुआब्जा दिइयो । तर, सोही मुआब्जा वितरणपछि २०४५ सालतिरै मुआब्जा वितरण भइसकेको २४.५ किलोमिटर पहुँचमार्गको समेत मुआब्जा माग उठ्यो ।

लगानी बोर्डका अनुसार उक्त समयमा आयोजना निर्माणको काम विश्व बैंकले गरेको थियो । तर, विविध कारण देखाउँदै आयोजनाबाट विश्व बैंक बाहिरियो । यसपछि २०६७ सालतर्फ सरकारले मुआब्जा वितरण भएको क्षेत्रको लगत कट्टा गरेको थियो । यस्तै, त्यसअघि पुगेको नापीले समेत मुआब्जा वितरण भइसकेको क्षेत्रको नापी गरेको थिएन ।

सोहीअनुसार भारतको सतलज जलविद्युत निगम र लगानी बोर्डबिच २०७१ सालमा आयोजना अघि बढाउने सम्झौता भयो । सम्झौतामा आयोजना प्रभावितलाई मुआब्जा वितरण भइसकेको उल्लेख थियो । ‘आयोजनास्थलसम्म पुग्न चाहिने कुल २८.५ किलोमिटर पहुँच मार्ग बनाउने क्रममा ४ किलोमिटरको मुआब्जा छुटेको पाइयो,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने ।

२०७४ सालको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार अध्ययन गरेर ४ किलोमिटर पहुँचमार्गका स्थानीयवासीलाई मुआब्जा दिइयो । तर, सोही मुआब्जा वितरणपछि २०४५ सालतिरै मुआब्जा वितरण भइसकेको २४.५ किलोमिटर पहुँचमार्गको समेत मुआब्जा माग उठ्यो । ‘स्थानीयवासीले सरकारले मुआब्जा वितरण गरेकोभन्दा धेरै जग्गा काटेर आयोजनाले पहुँच मार्ग बनाएको बताउँदै आएका छन्,’ भट्टले थपे ।

स्थानीय बासिन्दाबाट सबैभन्दा बढी प्रताडित बन्ने परियोजनाहरूको सूचीमा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका जलविद्युत आयोजनाहरू देखिन्छन् । योभन्दा पनि ठुलो सङ्ख्यामा प्रसारण लाइन आयोजनाहरूले स्थानीय बासिन्दाको अवरोध झेलेका उदाहरण छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार देशैभर स्थानीय बासिन्दाबाट अवरोध झेलेका आयोजनाको सङ्ख्या अनगिन्ती छन् । तर, स्थानीयले गरेको विरोध बाहिर ल्याइएमा झनै झमेला हुन थालेपछि विकासकर्ताले गुपचुप समाधान गर्ने गरेका छन् । इप्पानमा स्थानीय बासिन्दाको अवरोधबारे केही आयोजनाले पत्र नै लेखेका छन् ।

यसको उदाहरण लमजुङको खुदी हाइड्रोपावर हो । ‘पावरहाउस’ चलिरहँदा स्थानीय युवाको समूह पसेर उत्पादन बन्द गराएपछि करोडौँ घाटा बेहोर्नुपरेकोबारे आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो । यसबाहेक, तल्लो खारे खोला, न्यासिम खोला, चेपे ‘ए’ जलविद्युत आयोजना, सीता हाइड्रोपावर, साञ्जेन आयोजना, चम्पावती हाइड्रोपावर, कालगांगाड, कालंगा र सानिगाड लगायतका कयौँ आयोजनामा स्थानीयको तोडफोड नै भएको छ । यसबाहेक स्थानीय बासिन्दाको अवरोधले निर्माण अघि बढ्न नसकेको वा ढिलाइ भएका आयोजनाको सङ्ख्याको सूची निकाल्दा लामै हुने इप्पानका प्रतिनिधि बताउँछन् ।

  • प्रसारण लाइनमा सबैभन्दा बढी समस्या

सुरु भएको १२ वर्षपछि न्यू–भरतपुर सवस्टेसनको निर्माण सम्पन्न भएको थियो । यो स्थानीय बासिन्दाको वर्षौँसम्मको अवरोधका कारण नै हो । यस्तै, पूर्वी चितवन, ढल्केवर–इनरुवा, लप्सीफेदी–बाह्रबिसे लगायतका प्रसारण लाइन निर्माणको काम दशकौँदेखि स्थानीयको अवरोधका कारण प्रभावित बनिरहेको विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोस बताउँछन् ।

उनका अनुसार देशभर स्थानीय बासिन्दाको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम प्रभावित बनिरहेको छ । जसबाट आयोजना निर्माणको काम दशकौँसम्म प्रभावित बनेका छन् ।

प्राधिकरणका अनुसार स्थानीय बासिन्दाका कारण अवरोध भइरहेको आयोजनाहरूको सूचीमा १३२ केभी क्षमताको मध्य भोटेकोसी, ४०० केभी क्षमताको हेटौंडा–ढल्केवर–इनरुवा, २२० केभी क्षमताको मार्किचोक–भरतुपर, २२० केभी क्षमताको उदयपुर–मार्किचोक समेत छन् । १३२ केभी क्षमताको ढल्केवर–पथलैया, लप्सीफेदी–चाँगुनारायण, १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट र ३३ केभी क्षमताको पूर्वी चितवन प्रसारण लाइन निर्माणको काम पनि रोकिएको छ ।

यीमध्ये पूर्वी चितवन, ढल्केवर–इनरुवा, लप्सीफेदी–बाह्रबिसे प्रसारण लाइन निर्माणको काम दुई दशकभन्दा बढीदेखि अवरोध खेपिरहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सबैलाई बिजुली चाहिने तर आफ्नो घर वा जमिन वरपर ट्रान्समिसन लाइन गाड्न नदिने प्रवृत्तिका कारण समस्या देखिएको बताउँछन् । ‘आफ्नो घर–जग्गा वा जमिन आसपास प्रसारण लाइन गाड्न दिइँदैन,’ घिसिङ भन्छन्, ‘तर बिजुली सबैलाई चाहिन्छ । यस्तै, प्रसारण लाइनको तार टाँगेको जमिनको मुआब्जा समेत स्थानीयले माग्छन् ।’

स्थानीय बासिन्दाले मुआब्जाको विवाद निकाल्दा र बजार मूल्यभन्दा बढी रकम खोज्दा आयोजना अघि बढ्न सक्दैनन् । ५ वर्षमा निर्माण सक्नेगरी कार्यान्वयनमा गएको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले समेत मुआब्जा वितरणको काम सकेको छैन । अन्य आयोजनामा जस्तै एमसीसीमा समेत स्थानीय बासिन्दाको किचलो छ । जसबाट समग्र देशको विकासको गति नै सुस्त बनिरहेको छ ।

खासगरी स्थानीय नेताले आफ्नो राजनीतिक फाइदाका लागि र राजनीतिक खेती नै बनाउँदा स्थानीय बासिन्दालाई विभिन्न प्रलोभन देखाउँछन् ।

स्थानीय अगुवा नेताले देखाएको आस स्थानीयले राखेपछि आयोजनाहरूले पूरा गर्न कठिन हुन्छ । जसको प्रत्यक्ष प्रभाव विकासका आयोजनामा परिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप