एक्याप र स्थानीयबिच सधैँको किचलो, सार्दिखोला कार्यालयमा लगाइएको ताला खुल्यो

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत सार्दिखोला कार्यालयमा चैत १२ गते तालाबन्दी भयो । स्थानीय व्यवसायीहरूले एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै ताला लगाएका हुन् ।
एक्यापले नदीजन्य पदार्थको उत्खनन्का लागि स्थानीयलाई ठेक्का दिएको थियो । तर बिचैमा ठेक्का तोडियो । ठेक्का अनुसार काम गर्न नपाएपछि रकम पनि फिर्ता भएन । स्थानीयले गरिखाने वातावरण दिनुपर्ने र ठेक्का रकम फिर्ता हुनुपर्ने माग राखेर ताला लगाएका हुन् ।
उनीहरूले लगाएको ताला आइतबार खोलिएको छ । पालिका, एक्याप प्रतिनिधि र व्यावसायीको सहमतिमा ताला खोलिएको माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार ताला खोल्नुअघि एक्यापले मौखिक प्रतिबद्धता जनाएको छ भने स्थानीयहरूले लिखित विज्ञप्ति पेस गरेका छन् ।
‘संरक्षण क्षेत्र व्यवस्थापन समिति जनमैत्री छैन । पालिकालाई पनि एक्यापले आफ्नो अण्डरमा चलाउन खोजेजस्तो देखिन्छ,’ आचार्यले भने, ‘त्यसकै विरोधस्वरुप स्थानीय व्यवसायीले ताला लगाउनुभएको थियो । अहिले मौखिक सहमति गरेर खोलिएको छ ।’
ताला खोल्नुअघि एक्यापले १० लाख रुपैयाँ फिर्ता गरेको छ भने ५ महिनादेखि हरियोखर्कमा थुनेर राखिएको व्यवसायीको गाडी पनि छोडिएको छ । ८ वटा गाडी ५ महिनादेखि हरियोखर्कमा राखिएको व्यवसायीहरूले बताए ।
‘दिनदिनै तारेख तोक्ने । अनावश्यक दुःख दिने काम भएपछि तालाबन्दी गरिएको हो,’ व्यवसायी कृष्ण शर्माले भने, ‘अहिले गाडी छोडिएको छ । रकम पनि फिर्ता दिन तयार भएको छ । अब व्यवसायीलाई काम गर्न सहज वातावरण बनाउछौँ भनेर प्रतिबद्धता पनि जनाउनुभएको छ ।’
योसँगै स्थानीय प्रयोजनका लागि निर्माण सामग्री उत्खनन् खुला गरिएको पालिकाले जनाएको छ । तर उत्खनन्का लागि वडा कार्यालय र संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस अनिवार्य गरिएको छ ।
यसबाहेक आगामी दिनमा एक्याप र मातहतका कार्यालयले कुनै पनि निर्णय गर्दा स्थानीय सरकारको उपस्थिति विना गर्न नपाउने सहमति भएको पालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
‘असारपछिको ठेक्का पालिकाले लगाउने गरी आन्तरिक छलफल भएको छ । उहाँहरूले कानुनी प्रबन्ध गर्दैछौँ भन्नुभएको छ,’ उनले भने, ‘गाउँपालिकामा उठ्नुपर्ने राजस्व खेर गइरहेको छ । एक्यापसँग जनताको असमझदारी छ । व्यवसायीले पनि दुःख पाएका छन् । सबै हिसाबमा सहज बनाउनुपर्छ भनेका छौँ ।’
एक्याप पोखराका प्रमुख डा. रवीन कडरियाले स्थानीय प्रयोजनका लागि हुने उत्खनन्मा एक्याप कहिल्यै बाधक नबनेको बताए । उनले नागरिकहरूको जायज माग सम्बोधन गर्न र पालिकासँग समन्वय गर्न आफूहरू तयार रहेको पनि बताए । ‘सबै समस्यालाई व्यवस्थित गर्न कार्यविधि बनिरहेको छ । तालाचाबी लगाएर मात्रै समस्याको समाधान हुँदैन । छलफल र बहस गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो तर्फबाट सक्दो पहल गर्छौं । सरोकार राख्ने व्यक्तिहरू पनि जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ ।’
एक्यापभित्रका स्रोतहरूको ठेक्का पालिकाले लगाउने र आम्दानी बाँडफाँट गर्न एक्याप पनि तयार रहेको उनको भनाइ छ । ‘उहाँहरूको माग जायज छ । तर कानुन संशोधन हुनुपर्छ । पोखरामा बेच्न अहिलेको कानुनले दिँदैन । कानुन संशोधन गर्न छलफल भएको छ,’ उनी अघि भन्छन्, ‘संरक्षण क्षेत्र व्यवस्थापन नियमावलीमा ढुङ्गा, गिटी, बालुवा कसले ठेक्का लगाउने भन्ने स्पष्ट छैन । नियमानुसार पालिकाले बिक्री गर्न पाउने गरी संशोधन गर्न लागेका छौँ ।’
पालिकासँग मिलेर काम गर्न एक्याप तयार रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे