कतारले मलेसियालाई हराएपछि नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार खेलिएको दोस्रो खेलमा कतारले मलेसियालाई चार विकेटले हराएपछि नेपाल समूहगत चरणको आफ्नो अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको हो ।
त्यसअघि सोमबार नै खेलिएको पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटले हराएको थियो । जारी प्रतियोगितामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित थियो । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
समूह ‘ए’ मा तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो स्थानमा आसिन छ । तीन खेल खेलेको मलेसिया भने दुई अंकसहित तेस्रो स्थानमा छ । यसैगरी तीन खेल खेलेको कतार दुई अंकसहित चौथो र तीन खेल खेलेको हङ्कङ दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेका छन् । अब साउदी अरेबियाले दुई खेल खेल्न बाँकी छ भने अन्य चारवटै टोलीले एक(एक खेलमात्र खेल्न बाँकी छ ।
प्रतियोगितामा मंगलबार कतार र साउदी अरेबियाबिच खेल हुनेछ । समूहगत चरणको अन्तिम दिन बुधबार नेपाल र साउदी अरेबिया तथा मलेसिया र हङ्कङबिच खेल हुनेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।
सोमबार खेलिएको कतार र मलेसियाबिचको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित १८ ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । कतारले भने १७।२ ओभरमा ६ विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।
एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्वपूणर् प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा