चकलेटको मूल्य वृद्धिका लागि जिम्मेवार हो जलवायु परिवर्तन ?
काठमाडौँ । चकलेट शताब्दीऔँदेखि संसारभर रुचाइएको खाद्य वस्तु हो । तर पछिल्लो समय चकलेटको मूल्य बढिरहेको छ । चकलेट बनाउन प्रयोग हुने कोकोआको मूल्य अमेरिकी बजारमा दोब्बर हुँदै प्रतिटन ५ हजार ८७४ डलरमा पुग्यो । त्यसयता पनि यसको मूल्य निरन्तर बढ्दै गएको छ । कोकोआको उत्पादनमा आइरहेको कमीका कारण यसको मूल्य बढेको हुनसक्ने अनुमान गरिएको छ ।
विश्वभर आपूर्ति हुने अधिकांश कोकोआ दुई पश्चिमी देशमा उत्पादन गरिन्छ । तर यहाँका किसानहरू जलवायु परिवर्तनको प्रभावसँग जुधिरहेका छन् । मौसम परिवर्तनले कोकोआ उत्पादन नराम्रोसँग प्रभावित भइरहेको छ । त्यहाँका किसानहरूले यस बाहेकका अन्य चुनौती पनि सामना गरिरहेका छन् । आजको यस लेखमा हामी चकलेटको मूल्य कीर्तिमानी स्तरमा उक्लिनुमा जलवायु परिवर्तनको प्रभावबारे चर्चा गर्नेछौँ ।
कस्तो छ चकलेटको इतिहास ?
झन्डै चार हजार वर्षअघि उत्तरी अमेजन अर्थात इक्वेडर र भेनेजुएलाको क्षेत्रमा कोकोआका रुख भेटिएका थिए । पछि मेक्सिको र मध्य अमेरिकामा पनि कोकोआका बिरुवा रोप्न थालियो । कोकोआका नयाँ प्रजाति हुर्काइयो । ‘सुरुमा कोकोआ फलको रसलाई खाना र पेय पदार्थमा प्रयोग गरिन्थ्यो । पुरातत्वविद्हरूले प्राचीन कालीन यस्ता कयौँ बोतल फेला पारेका छन्, जसभित्र कोकोआको रासायनिक अंश पाइएको थियो । पछि मानिसहरूले यो फलको बिउ प्रयोग गरेर खाद्यान्न बनाउन थाले,’ चकलेटको इतिहासबारे अनुसन्धान गरिरहेकी बेलायतको रिडिङ विश्वविद्यालयमा पुरातत्वको इतिहासका प्राध्यापक डा. केटी साम्पेक भन्छिन् ।
पछि यसलाई मन्दिर र पूजास्थलहरूमा भेटीको रूपमा प्रयोग गर्न थालियो । माया सभ्यताका केही शिलालेखमा कोकोआका फाइदा उल्लेख गरिएको छ । कोकोआलाई प्रजनन् क्षमतासँग पनि जोडेर पनि हेरिन्थ्यो । चौथो शताब्दीका केही प्रमाणका अनुसार कोकोआको बिउलाई लेनदेनमा मुद्राको रूपमा प्रयोग गरिन्थ्यो । पछि यसलाई एल साल्भाडोरमा उमार्न थालियो । यही क्षेत्रका किसानहरूले कोकोआको उत्पादकत्व बढाउने तरिकाहरू आविष्कार गरेको केटी बताउँछिन् ।
छिटै एल साल्भाडोर कोकोआको प्रमुख उत्पादक क्षेत्र बन्यो । कोकोआ उत्पादनका लागि हावापानी उपयुक्त नभएका क्षेत्रमा उसले कोकोआ निर्यात गर्न थाल्यो । सोह्रौँ शताब्दीमा स्पेनी डुङ्गाहरू एल साल्भाडोर पुगे । तिनीहरूले यो क्षेत्र कब्जा गरे । अनि कोकोआको बिउलाई मुद्राको रुपमा प्रयोग गर्न थालियो ।
एल साल्भाडोरमा कोकोआबाट पेय वा जुस बनाइन्थ्यो । यसलाई चकलेट भनिने केटी बताउँछिन् । सोह्रौँ शताब्दीमा स्पेन र अन्य धेरै क्षेत्रहरूमा चकलेट पेयको प्रयोग सामान्य बन्दै गयो । मानिसहरूले बिहानको सुरुवात चकलेट पिएर गर्न थाले । सोह्रौँ शताब्दीको मध्यतिर चिया खान थालियो । सत्रौँ शताब्दीको मध्यतिर कफी खाने चलन चल्यो । तर त्यसअघि बिहानको खाजासँगै चकलेट पेयको सेवन सुरु भयो । आजकल कफी र चिया घरहरू भएजस्तै सोह्रौँ शताब्दीको मध्यतिर लन्डनमा चकलेट घरहरू खोलिएका थिए । त्यतिबेलासम्म युरोपमा चकलेट र कोकोको खपत निकै लोकप्रिय भइसकेको थियो ।
युरोपमा चकलेटको बढ्दो मागले धेरै परिवर्तन ल्यायो । पहिलो सय वर्षसम्म चकलेट उत्पादन सम्बन्धी निर्णय स्थानीय जनताको हातमा थियो । तर जब स्पेनी उपनिवेशवादीहरूले त्यहाँका कोकोआ खेतीमा कब्जा गरे । तर कोकोआ फलाउन चाहिने स्थानीय ज्ञान उनीहरूसँग नहुँदा यसको उत्पादनमा उल्लेखनीय कमी आयो । सुरुमा स्पेनीहरूले कोकोआ खेतीमा हस्तक्षेप गरेनन् । तर जब कोकोआको माग बढ्न थाल्यो, उनीहरूले ठुलाठुला बगैँचा बनाए । अनि स्थानीय दासहरूलाई त्यहाँ काम गराउन थाले ।
ब्राजिलको उपनिवेश आफ्नो हातबाट चिप्लिएला कि भन्ने त्रासले सन् १९८० मा पोर्चुगलका राजाले ब्राजिल र अफ्रिकामा पनि कोकोआको खेती सुरु गरे । १८ औँ शताब्दीसम्म आइपुग्दा कोकोआको अधिकांश उत्पादन अफ्रिकामा हुन थाल्यो । आजभोलि कयौँ देशमा यसको खेती भइरहेको छ । ल्याटिन अमेरिकी देशहरू ब्राजिल, इक्वेडर र भेनेजुएला अहिले पनि सबैभन्दा ठुलो कोकोआ उत्पादक हुन् । पछिल्लो समय एसियामा थाइल्यान्ड, मलेशिया र भारतमा पनि कोकोआको उत्पादन तीव्र गतिमा भइरहेको छ । तर कोकोआ खेतीमा पश्चिमी अफ्रिकी देशको दबदबा कायमै छ ।
अप्ठ्यारो खेतीपाती
विश्वमा आइभरी कोस्टपछि घाना विश्वको दोस्रो ठुलो कोकोआ उत्पादन गर्ने देश भएको घानाको क्वामे एनक्रुमाह युनिभर्सिटीका पर्यावरण विज्ञानका सहयोगी प्राध्यापक फिलिप एन्ट्वी अग्येया भन्छन् । विश्वभर आपूर्ति हुनेमध्ये २० प्रतिशत कोकोआ घानाबाट आउँछ । जलवायु परिवर्तनले घानाको कोकोआ उत्पादनमा नकारात्मक असर परेको उनी बताउँछन् । जलवायु परिवर्तनका कारण कोकोआ उत्पादनको सिजन छोट्टिदैँ गएको छ । ५० वर्षअघि घानाको उत्तरी क्षेत्रका किसानहरूले फेब्रुअरीमै कोकोआको बिरुवा रोप्न थाल्थे । तर अहिले यसका लागि मेसम्म कुर्नु पर्छ ।
पछिल्ला केही दशकमा घानाले बाढी र खडेरी जस्ता धेरै प्राकृतिक समस्याको सामना गरेको छ । यसका साथै किराका कारण कोकोआ बाली र रुखहरू नष्ट भइरहेका छन् । यी कुराले घानाको कोकोआ र अन्य बालीमा पनि नकारात्मक असर परेको विश्वास फिलिप एन्ट्वी अग्येयाको छ । आगामी वर्ष अझ ठुलो खडेरी आउने अनुमान गरिएको छ, जसले देशका लाखौँ किसानको जीविकोपार्जनलाई असर गर्नेछ । घानामा ८ लाख ६५ हजार किसानले कोकोआ खेती गर्ने एउटा अनुमानले देखाएको छ ।
‘कोकोआ खेती गर्ने किसानहरूले पैसाका लागि सिजनको अन्त्यसम्मै कुर्नु पर्छ,’ फिलिप एन्ट्वी अग्येयाले भन्छन् । बाली बेचेपछि आउने पैसा वर्षभरको खर्च धान्न प्रयोग हुन्छ । कोकोआ खेती गर्ने क्षेत्रमा धेरै गरिबी छ । मुलुकको अर्थतन्त्रको प्रमुख खम्बा भएकाले सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ । यस दिशामा सरकारले धेरै कदम पनि चालेको छ । घानाको कोकोआ उद्योग नियन्त्रण बोर्ड सरकारको हातमा छ । यो समितिले किसानहरूलाई कोकोआको बिरुवा र मल निःशुल्क उपलब्ध गराउँछ । किसान आफूले फलाएको कोकोआ बाली यही बोर्डलाई बेच्न कानुनी रूपमा बाध्य छन् । किसानहरूलाई शोषणबाट जोगाउन सकियोस् भनेर बोर्डले मूल्य पनि आफैँ निर्धारण गरिदिन्छ ।
चकलेटको अर्थव्यवस्था
क्यानाडाको इन्टरनेशनल इन्स्टिच्युट अफ सस्टेनेबल डेभलपमेन्टका नीति सल्लाहकार स्टेफनी बर्मुडेजका अनुसार कोकोआ उद्योगले विश्व अर्थतन्त्रमा ठुलो भूमिका खेलेको छ । यस क्षेत्रले विशेष गरी विकासशील देशका ५ करोड मानिसलाई रोजगारी दिइरहेको छ । जलवायु परिवर्तनका कारण कोकोआ उत्पादन नराम्ररी प्रभावित भइरहेको छ । बढ्दो गर्मी र खडेरीका कारण धेरै देशमा कोकोआ फलाउन गाह्रो भइरहेको छ अनि यसको उत्पादन पनि घट्दै गएको छ ।
पश्चिम अफ्रिकामा सन् २०१८ र सन् २०१९ को बिचमा कोकोआको उत्पादन पाँच प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । कतिपय देशमा कोकोआ फलाउन पनि गाह्रो हुँदै गएको छ भने धेरै देशमा मौसम परिवर्तनका कारण कोकोआको बोट हुर्काउनै असम्भव हुने अवस्था छ । यो समस्या पश्चिम अफ्रिका र ल्याटिन अमेरिकाको ब्राजिल र पेरुमा सुरु भएको छ । त्यहाँ बढ्दो गर्मीका कारण या त कोकोआको बोट मरिरहेका छन्, या बोटले राम्रोसँग फल नदिने समस्या देखिन थालेका छन् । फलस्वरुप कोकोआको गुणस्तर पनि खस्किँदै गएको छ र मूल्यमा समेत असर परिरहेको छ ।
नेदरल्याण्ड, जर्मनी र अमेरिका कोकोआका सबैभन्दा ठुलो खरिदकर्ता हुन् । बर्सेनि २० अर्ब डलर हाराहारीमा कोकोआको व्यापार हुने गरेको स्टेफनी बर्मुडेजले बताएकी छन् । यसमा कोकोआ भुटेर बनाइने पाउडर र तरल पदार्थ पनि समावेश छ । विश्वभर उत्पादित कुल कोकोआमध्ये आधा हिस्सा चकलेट उद्योगमा प्रयोग गरिन्छ । चकलेट उद्योगको आकार १ खर्ब डलर हाराहारी छ । सन् २०२६ सम्ममा बजारको आकार बढेर १ खर्ब ८९ अर्ब डलरमा पुग्ने अनुमान गरिएको छ ।
कमोडिटी बजारमा कोकोआको बिक्री र खरिद हुन्छ । माग र आपूर्ति अनुसार यसको मूल्यमा घटबढ भइरहन्छ । कोकोआको उत्पादनमा आएको गिरावटका कारण यसको मूल्य कीर्तिमानी स्तरमा पुगेको स्टेफनी बर्मुडेज भन्छिन् । अहिले यसको मूल्य प्रतिटन सात हजार डलर पुगेको छ । यसको मतलब पछिल्लो एक वर्षमा कोकोआको मूल्य १ सय ६३ प्रतिशतले बढेको छ । कोकोआ दानाबाट चकलेट बनाउने प्रक्रियामा धेरै समूहहरू संलग्न छन् । कोकोआ उत्पादनबाट हुने नाफाको ७० प्रतिशत चकलेट उत्पादन गर्ने कम्पनीहरूको खल्तीमा जान्छ । यी कम्पनीहरूले प्रायः कोकोआको दाना किन्छन् । कोकोआ किसानहरूलाई फसलबाट तत्कालै आम्दानी चाहिएको हुन्छ । भाउ बढेको बेलामा बेचौँला भनेर उनीहरु पर्खन सक्दैनन् । त्यसैले भाउ कमै भए पनि बेच्न बाध्य हुन्छन् ।
मलको बढ्दो मूल्य, आर्थिक सहयोगको अभाव र खराब मौसमका कारण किसानको समस्या बढ्दै गएको छ । यसले कोकोआ उत्पादनलाई असर गरिरहेको छ । त्यसो भए भविष्यमा चकलेटको माग पूरा गर्न कोकोआको पर्याप्त आपूर्ति हुनेछैन ?
पहिले अमेरिका र पश्चिमी युरोपेली देशहरू चकलेटको मुख्य उपभोक्ता थिए तर अहिले चीन, मेक्सिको, टर्की, इन्डोनेसिया लगायत एसियाली मुलुकमा चकलेटको माग बढ्दै गएको छ । एसिया चाँडै नै चकलेट उत्पादनको दोस्रो ठुलो बजार बन्ने अनुमान गरिएको छ ।
उत्पादन बढाउने चुनौती
कोकोआको व्यापारमा संलग्न ५२ सदस्य राष्ट्रहरूको संगठन हो आइभरी कोस्टमा रहेको इन्टरनेशनल कोको अर्गनाइजेसन (आईसीसीओ) । यसको उद्देश्य वातावरणलाई हानी नगरी दिगो रूपमा यस उद्योगलाई निरन्तरता दिनु हो । कोकोआको उद्योगमा किसानहरू सबैभन्दा महत्त्वपूर्ण तर कमजोर कडी भएको आईसीसीओका प्रोजेक्ट म्यानेजर युन्सा अबु बकर भन्छन् । आफूहरूको सामु कोकोआका किसानहरूले उनीहरूको कडा परिश्रम र फसलको उचित मूल्य पाउन र गुणस्तर सुनिश्चित गर्नु दुई चुनौती भएको उनको भनाइ छ ।
कोकोआ उद्योगलाई कसरी दिगो र नाफामुखी राख्न सकिन्छ ? किसानको अवस्था कसरी सुधार गर्न सकिन्छ ? ‘धेरैजसो किसानले कोकोआको खेती विरासतमा पाएका छन् । यसको प्रयोग पनि परम्परागत रुपमा गर्छन् र जे पाउँछन्, त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने सोच्छन् । हामी उनीहरूलाई कोकोआ उत्पादनका नयाँ विधि अपनाउन र यसमा लगानी गर्न आवश्यक छ भनेर बुझाउँछौँ । साथै, बालबालिकालाई उचित शिक्षा दिन र उनीहरूको जीवनस्तरमा सुधार गर्न पनि जरुरी छ । त्यसैले हामी कोकोआ किसानहरूको नयाँ पुस्तालाई यस उद्योगमा आकर्षित गर्ने प्रयास गरिरहेका छौँ, जसले यसलाई परम्परागत खेतीका रुपमा मात्र नभइ व्यवसायको रूपमा हेर्छन्,’ युनुसा अबु बकर भन्छन् ।
कोकोआको गुणस्तर सुधार गर्न कयौँ चकलेट कम्पनीहरूले किसानहरूलाई नयाँ प्रविधि उपलब्ध गराइरहेका छन् । उनीहरूले कोकोआको फसल बढाउन लगानी पनि गरिरहेका छन् । आईसीसीओ सामु दोस्रो ठुलो चुनौती चाहिँ कोको उद्योगले वातावरणलाई हानि नगरोस् भन्ने सुनिश्चित गर्नु हो । यो उद्देश्य हासिल गर्न, आईसीसीओले कोको किसानहरूलाई पारस्परिक सहयोगको लागि सहकारी समूहहरू गठन गर्न र आधुनिक खेती विधिहरू अपनाउन प्रोत्साहित गरिरहेको छ ।
कोकोआ खेतीमा करिब ५० लाख कृषक संलग्न रहेको युनुसा अबु बकर बताउँछन् । तर तीमध्ये धेरैजना कुनै पनि सहकारीको हिस्सा नभएकाले उनीहरूसम्म पुग्न कठिन छ । कोकोआको गुणस्तरसँगै, यसले वातावरणलाई हानि नगर्ने कुरा सुनिश्चित गर्न पनि महत्त्वपूर्ण छ । युरोपेली सङ्घको कानुन अनुसार कोकोआ उत्पादनका लागि कुनै क्षेत्रमा जङ्गल काटिएको भए त्यस क्षेत्रबाट आउने उत्पादनलाई प्रतिबन्ध लगाइन्छ ।
‘कोकोआ उत्पादनले वातावरणलाई हानि पु¥याउनु हुँदैन भन्ने हाम्रो विश्वास छ तर त्यसो गर्दा किसानले बेहोर्नुपर्ने अतिरिक्त खर्च तिर्नु आवश्यक छ । किसानले उचित मूल्य पाउन पनि जरुरी छ । भविष्यमा बजारबाट चकलेट हराउने चिन्ता पनि आइरहेका छन् । यस्तो दिन नआउने हाम्रो आशा छ,’ युनुसा अबु बकर भन्छन् ।
भयानक प्राकृतिक प्रकोप आएन भने भविष्यमा पनि लामो समयसम्म कोकोआ उत्पादन जारी रहनेमा उनी आशावादी छन् ।
त्यसो भए के जलवायु परिवर्तनले चकलेट उत्पादनलाई असर गरिरहेको छ त ? जलवायु परिवर्तनका कारण कोकोआ किसानको आम्दानीमा नकारात्मक असर परिरहेको छ । त्यसैले जलवायु परिवर्तनले चकलेट उत्पादनमा प्रभाव पारिरहेको छ । मौसममा आइरहेको ठुलो परिवर्तन र किराहरू फैलिँदा कोकोआका बोटहरूमा क्षति पुगिरहेको छ । अर्को समस्याचाहिँ कोकोआ किसानहरू र कोकोआ आयात गर्ने पश्चिमी देशका आयातकर्ताबिच आम्दानी वा नाफामा ठुलो असमानता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन