न्यूयोर्कमा नेपाली मूलका व्यवसायीको नयाँ संगठन

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारण सभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो ।
समितिमा छेपाक दोर्जे गुरुङ, छिरिङ गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बास्कोटा सदस्य रहेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीहरूले भोग्नु परेको समस्यालाई सङ्गठित ढङ्गले हल गर्न संस्था गठन गरिएको बताए । उनले यो आसपासमा एक हजार भन्दा बढी नेपाली मूलका व्यवसायीहरू रहेको भन्दै सबैलाई संस्थामा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।
त्यस्तै प्रमुख अतिथि राजदूत थापाले नेपालमा लगानीको वातावरण बनेको भन्दै यहाँको सिप र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गर्नु भयो । उहाँले आसन्न लगानी सम्मेलनमा सहभागि हुन आग्रह गर्दै व्यवसायीहरूलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी दिनुभयो ।
करिब दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवी गुरुङ, नवराज केसी, पासाङ नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार