मङ्गलबार, १६ पुस २०८१
ताजा लोकप्रिय

ओशो महोत्सवमा १५ हजारको सहभागिता

आइतबार, ०२ वैशाख २०८१, २२ : ४८
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नयाँ वर्षको अवसरमा ओशो तपोवनले आयोजना गरेको ओशो महोत्सव २०८१ सम्पन्न भएको छ । हरेक वर्ष नयाँ वर्षको प्रथम दिन वैशाख १ गतेलाई योग, ध्यान र उत्सव सँगसँगै ओशो महोत्सव मनाउने क्रममा यो वर्ष ओशो तपोवन मै महोत्सव आयोजना भएको थियो । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, पूर्वमन्त्री एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्की, वीरेन्द्र महतो, पूर्वमन्त्री रामेश्वर राय, यादव, जनमत पार्टीका महामन्त्री चन्दन सिंह लगायत विभिन्न दलका नेताहरूको उपस्थिति रहेको थियो । महोत्सवमा देशका प्रतिष्ठित कलाकारहरूले प्रत्यक्ष प्रस्तुति गरेको थिए । करिब १५ हजारभन्दा बढी व्यक्तिहरूले व्यक्तिहरूले महोत्सवमा भाग लिएको ओशो तपोवनले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादवले कार्यक्रममा सम्बोधन गर्दै गरिबी, सामाजिक विकृति, एक्लोपन, मद्यपान, लागु औषधको प्रयोग, आत्महत्या जस्ता नकारात्मक कुराहरूले अहिले समाज ग्रसित भएको र यसबाट मुक्त पाउन योग ध्यानको ठुलो भूमिका रहेको कुरा बताए । ओशो तपोवन जस्तो अन्तर्राष्ट्रिय आश्रमले यो कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै तपोवनको प्रशंसा गरेका थिए । 

महोत्सव मै बोधिसत्त्व स्वामी आनन्द अरुणको पुस्तक सन्तहरू र उनका रहस्यलोक को विमोचन पनि गरिएको थियो । महोत्सवमा दुई चरणमा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । पहिलो चरण दिउँसोका समयमा नेपालका चर्चित गायक, गायिकाहरू नागेन्द राई, अनिता चलाउने, रोशन पुटुवार, रोमा न्यौपाने, रोशन शर्मा, प्रभुराज ढकाल, जगन्नाथ जेडी, सविन चौहान लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने दोस्रो चरण साँझ उत्सवमा गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, हास्य कलाकार मनोज गजुरेल लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहेको थियो । 

महोत्सवलाई विशेष आर्शिवचन दिँदै बोधसत्व स्वामी आनन्द अरुणले हाम्रो पूर्वीय संस्कृतिले विकाश गरेको विज्ञान योग र ध्यानले आज विश्व अनेक मानसिक समस्याहरूलाई निराकरण गर्न सक्ने बताए । महोत्सवमा कार्यक्रमका मुख्य संयोजक भवन भट्टले शुभकामना मन्तव्य राखेका थिए । महोत्सवको संयोजक स्वामी आनन्द अर्हत, सोविता सिम्खडा तथा स्वामी नीराजन भण्डारी रहेका थिए । 

महोत्सवको एक आकर्षण रहेको स्ट्रिट फेस्टिभलमा रहेका १५ भन्दा बढी स्टलहरूमा सहभागीहरूले विभिन्न परिकारको स्वाद लिएका थिए । महोत्सवमा राखिएको पुस्तक प्रदर्शनीमा ओशो साहित्य प्रदर्शनी पनि गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप