सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन् ।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए ।
प्राडा मानन्धरले भने, “सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अप्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।” यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए ।
कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए । यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत
-
कजारियाको नयाँ सोरुम धनगढीमा