शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षक सरूवा मापदण्डका लागि शिक्षामन्त्रीले मागिन् सुझाव

आइतबार, ०२ वैशाख २०८१, १७ : २१
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदै छ । शिक्षामन्त्री श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग गरेकी हुन् ।

पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकहरूसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् । प्रधानाध्यापकहरूले शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्डका विषयमा सुझाव दिएका थिए ।

त्यस्तै आज विभिन्न प्रदेशका शिक्षकहरूसँग सुझाव माग गरेकी छन् । विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकहरूसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत सुझाव माग गरेकी हुन् ।

केन्द्रले सुझावहरूको अभिलेख गर्दै शिक्षक सरुवाको मापदण्ड बनाइरहेको केन्द्रका महानिर्देशक दीपक शर्माले बताए । पारदर्शी नीति निर्माण र सहभागितामूलक नेतृत्वका लागि सबै सरोकारवालासँग छलफल गरेर मात्रै मापदण्ड मस्यौदा गर्ने शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएकी छन् ।

जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुने गरी वर्षको एक पटक मात्रै गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापन नपठाउनेलाई कारबाहीको प्रावधान राख्नुपर्ने, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा मात्रै सरुवा गर्नुपर्ने लगायतका सुझाव शिक्षकहरूले दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप