बढ्दैछ ‘ब्रेक बोन फिभर’ को जोखिम
काठमाडौँ । ‘ब्रेक बोन फिभर’ अर्थात् ‘डेंगु’ रोग प्रत्येक प्रकोपसँगै थप घातक बन्दै गइरहेको तथ्याङ्कले देखाएको छ । कोभिड-१९ लहरको अन्त्यसँगै सन् २०२२ मा नेपालको इतिहासमा नै पहिलो पटक डेंगु सबैभन्दा घातक रूपमा प्रस्तुत भएको थियो।
काठमाडौँमा झन्डै सयको हाराहारीमा डेंगुको कारणले बिरामीको मृत्यु हुन पुगेको थियो। नयाँ साल बि.स २०८१ को आगमनसँगै केही दिन यता परेको बेमौसमी झरीले गर्दा लामखुट्टेको सक्रियता बढ्दै गइरहेको देखिन्छ। फलस्वरूप, ब्रेक बोन फिभरको जोखिमले बिस्तारै उचाइ लिँदै गइरहेको देखिन्छ।
ज्वरोसँगै शरीरको ‘हड्डी भाँच्चिए’ सरह दुखाई हुने भएकोले डेंगुलाई ब्रेक बोन फिभर पनि भन्ने गरिन्छ। सन् २०२२ प्रकोपमा काठमाडौँमा अधिकांशले डेंगु हुँदा कोभिड-१९ भन्दा पनि अधिक कडा महसुस भएको बताएका थिए।
ब्रेक बोन फिभरको सङ्क्रमण लामखुट्टेबाट फैलने गर्दछ । एडीस जातको लामखुट्टे डेंगु फैलाउने मुख्य मध्यम मानिन्छ। यसको आवरण सेतो-कालो रङको हुने गर्दछ। डेंगु फैलाउन विशेषतः एडीस एजिपटाई र एडीस अल्बोपिकटस दुई मुख्य लामखुट्टेहरूलाई कारक मानिन्छ।काठमाडौँ लगायत नेपालका धरै भूभागमा यी लामखुट्टेहरू स्थानीय रूपमा सक्रिय र स्थापित भैसकेका छन् ।
लेखकले केही वर्ष अगाडिसम्म आयातित (विशेषतः भारतबाट आएकामा) डेंगुका बिरामी मात्र देखेको/उपचार गर्ने गरेको थियो। तर नेपालमा केही वर्षको अन्तरालमा लामखुट्टेको उपस्थिति आक्रामक रूपमा बढेको देखिन्छ जसको कारणले डेंगु आयातित नभई स्थानीय रूपमा व्यापक र प्रत्येक वर्ष घातक पनि बन्दै गइरहेको छ।
हाल नेपालमा मनसुन भित्री नसकेको (प्रि-मनसुन) भएता पनि केही दिन यता काठमाडौँमा एडीस लामखुट्टेको सक्रियता बढेको देखिन्छ।
एडीस लामखुट्टे सूर्य उदय भएको १-२ घण्टा पछि र सूर्यास्त हुनु भन्दा २-३ घण्टा अगाडि सबैभन्दा बढी सक्रिय हुने गर्दछ। यद्यपि रातमा पनि लामखुट्टेले टोक्ने भने गर्दछ। यो लामखुट्टेको दिउँसो टोक्ने विशेषताले गर्दा नै यसको टोकाइबाट बच्न हामीलाई धेरै कठिन हुने गर्दछ। यसकारण पनि डेंगु नियन्त्रण गर्ने हो भने लामखुट्टे नियन्त्रण मुख्य शर्त हुनुपर्दछ भन्दा अत्युक्त नहोला। अर्थात् अर्को शब्दमा भन्नु पर्दा ‘लामखुट्टे नियन्त्रण’ भनेको नै ‘डेंगु नियन्त्रण’ गर्नु हो भन्ने बुझ्नु पर्दछ ।
हाल नेपालमा मनसुन भित्री नसकेको (प्रि-मनसुन) भएता पनि केही दिन यता काठमाडौँमा एडीस लामखुट्टेको सक्रियता बढेको देखिन्छ। यसर्थ सम्भवतः अबको केही हप्तामा डेंगु उल्लेखनीय सङ्ख्यामा देखिन सक्ने सम्भावना उच्च देखिन्छ ।
ब्रेक बोन फिभर नामैले सङ्क्रमण पश्चात् शरीर हुने पिडाको अवस्थालाई बुझाउँदछ। सङ्क्रमण भएको झन्डै ४ देखि १० दिनमा अधिकांशलाई लक्षणहरू देखिन सुरु हुन्छ। ज्वरो वा जाडो लाग्नु, टाउको र जिउ असाध्य दुख्नु, आँखाको गेडी खस्ला जस्तो गरी दुख्नु, शरीरमा स-साना राता बिबिरा देखिनु, वाक-वाक वा बान्ता हुनु आधी डेंगुका प्रारम्भिक लक्षणहरू हुन् ।
अधिकांशमा एक हप्ता वा दश दिनमा लक्षणहरू कम भएर जाने गर्दछ । तर केहीमा भने लक्षणहरू थप जटिलता तिर जाने गर्दछ। रक्तस्राव र अचेत हुनु जटिलताका सङ्केतहरू हुन् । डेंगुका चार प्रजाति/सेरोटाइप (डेन-१, डेन-२,डेन-३ र डेन-४) अदल-बदल भएर पुनः सङ्क्रमित गरे/भएमा जटिल लक्षणहरू देखिन सक्दछ।
सन् २०२२ मा काठमाडौँमा डेंगुले घातक रूप लिनुमा पनि डेंगुको प्रजाति/सेरोटाइप अदल-बदल हुनुलाई कारक मानिएको छ । नयाँ वर्षमा हामी प्रवेश गर्दै गर्दा डेंगुले फेरी प्रजाति/सेरोटाइप परिवर्तन गरे/भए आगामी दिन थप घातक डेंगुको आगमन हुनसक्ने अनुमान गर्न सकिन्छ । तसर्थ डेंगु पुष्टिका साथ साथै सेरोटाइपको परीक्षण पनि गर्दा डेंगु घातकताको अनुमान र त्यसै अनुरूप उपचारको तयारी गर्न नीति-निर्माता वा सम्बन्धित निकायलाई सहज हुनेछ।
प्राकृतिक प्रकोपमा होस् वा सङ्क्रमणको महामारी देखिसके पछि मात्र आत्तिने र समाधान खोज्न तिर लाग्दछौँ । तर जब समस्या सकिन्छ तब तुरुन्त बिर्सिने गरेको हामी सबैलाई जगजाहेर छँदैछ।
माथि उल्लेख गरे झैँ एडीस लामखुट्टे दिनमा सक्रिय हुने हुँदा अधिकांशलाई आफ्नो कार्यस्थल वा दिनमा जहाँ समय बढी व्यथित गर्नेछ सोही ठाउँमा सङ्क्रमित हुने प्रबल सम्भावना रहन्छ। तर धेरै जसोले डेंगु नलागोस् भनेर आफ्नो घर वरिपरि मात्र लामखुट्टे वृद्धि-विकास(जीवन चक्र) हुने ठाउँ भए नष्ट गर्ने तिर ध्यान दिएको देखिन्छ।
लेखकले डेंगु प्रकोपको समयमा अधिकांश बिरामीहरू आफ्नो कार्यस्थल वा शिक्षण संस्थानहरूमा सङ्क्रमित भएको देखेको थियो।तसर्थ हामीले डेंगु फैलाउने लामखुट्टे देखिन सुरु भएपछि केही समय निकालेर भए पनि आफ्नो कार्यस्थलमा लामखुट्टेको लार्भा खोज्ने/भए नभएको हेर्ने वा पानी जम्ने ठाउँ भए त्यसको व्यवस्थापन गर्ने गर्नु पर्दछ।
प्राकृतिक प्रकोपमा होस् वा सङ्क्रमणको महामारी देखिसके पछि मात्र आत्तिने र समाधान खोज्न तिर लाग्दछौँ । तर जब समस्या सकिन्छ तब तुरुन्त बिर्सिने गरेको हामी सबैलाई जगजाहेर छँदैछ। डेंगु प्रकोप हुँदा पनि समुदायमा ठुलो प्रभाव वा क्षति (मानवीय) गरिसकेको अवस्थामा मात्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सक्रिय हुने/गरिने ( तर कार्यान्वयन भने शून्य प्राय हुने) र प्रकोप मत्थर भए पछि बिर्सिने गरेको विगतको अनुभवहरूले देखाउँदछ।
डेंगुले व्यापक र उग्ररूप लिनु अगाडि नै लामखुट्टेको लार्भा हुनसक्ने ठाउँको पहिचान र देखिए नष्ट गर्ने अभियानलाई अहिले/आज नै टोल टोलबाट सुरु गर्न ढिलाइ गर्नुहुँदैन । नत्र डेंगुको अत्यधिक शारीरिक दुखाइले गर्दा यस्तो रोग शत्रु पनि नलागोस् भन्दै सराप्दै उपचार गर्नुबाहेक अर्को विकल्प हुने छैन।
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट
-
नेपाली यू–१९ टोलीले जित्यो कर्नाटकविरुद्धको एकदिवसीय शृंखला
-
कार्यालय समयमा अत्यासलाग्दो जाम, समयमा गन्तव्यमा पुग्नै सकस (फोटो/भिडियो)
-
नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालकै निर्णय : भाजपा नेता जोली
-
रुसले हानेको लामो दूरीको क्षेप्यास्त्रका कारण युक्रेनमा कम्तीमा १५ जना घाइते
-
आईक्यापको सभामा सहभागी हुन नेपालका नेताहरू किन कम्बोडिया पुगे ?