नयाँ पुस्ताको लत बन्दै ई–सिगरेट : विषाक्त पदार्थहरूले स्वास्थ्य जोखिममा
काठमाडौँ । नेपालमा गरिएको एक सर्वेक्षण अनुसार २४ वर्ष मुनिका ६ प्रतिशतले ई–सिगरेट (भेप) नियमित सेवन गरेको पाइएको छ । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डेका अनुसार सो सर्वेक्षणमा नेपालमा १८ देखि २४ वर्षको उमेरका ४ सय जनाले सहभागिता जनाएका थिए । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी थिए ।
सो अध्ययनमा २१ प्रतिशतले एक पटक वा सो भन्दा बढी भेप सेवन गरेको पाइएको उल्लेख छ । पहिलो पटक भेप सेवन गर्नेहरूबाट २८ प्रतिशतले निरन्तर सेवन गरेको पाइएको डा. पाण्डेले सर्वेक्षणमा उल्लेख भएको बताइन् । ८० प्रतिशतले साथीको लैलैमा आएर भेप सेवन सुरु गरेको पाइएको छ । डा. पाण्डे अनुसार ई–सिगरेट २५ प्रतिशतले अनलाइनबाट खरिद गर्ने र ७५ प्रतिशतले भौतिक रूपमा किन्ने गरेको पाइएको छ ।
ई–सिगरेटमा निकोटिनको प्रयोग भएकाले यसको आदत बसेमा छुटकारा पाउन मुस्किल हुने डा. पाण्डेले सुनाइन् । ‘कतिपयलाई भेपमा निकोटिन हुन्छ भनेर थाहा छैन, पानीको बाफ लिइरहेको छु भनेर लिनुहुन्छ, उहाँहरूलाई यसको लत लाग्छ,’ उनले भनिन्, ‘निकोटिन लिने बित्तिकै १० सेकेन्डमा ब्रेनमा जान्छ, केमिकलले एकदम रमाइलोपन महसुस हुन्छ, यो एकदमै छिटो लत बस्ने हुन्छ ।’
ई–सिगरेटमा निकोटिनका साथै विभिन्न स्वादका लागि केमिकल प्रयोग गरिएको हुन्छ । यसले मस्तिष्क, फोक्सो, पाँचनप्रणाली लगायत शरीरका विभिन्न अङ्गमा हानी पुर्याउँछ । चिकित्सकका अनुसार ई–सिगरेटमा १५ हजार बढी केमिकल स्वादका लागि मात्रै प्रयोग भएको पाइएको छ ।
ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पङ्गेनीले ई–सिगरेटमा प्रयोग हुने प्रमुख तत्त्व निकोटिन रहेको बताएका छन् । ‘भेपमा प्रयोग हुने प्रमुख तत्त्व निकोटिन हो, यसलाई सुख्खापनबाट बचाउन विभिन्न तत्त्वहरू मिसाइएको हुन्छ ,’ उनले भने, ‘१५ हजार बढी स्वादहरू छन्, निकोटिन मात्रै नभई गाँजाका विभिन्न तत्त्व पनि राखिन्छ ।’
- नयाँ पुस्ताको आदत ई–सिगरेट किन बन्यो ?
नेपालमा नयाँ पुस्तामा ई–सिगरेटको लत भयावह स्थितिमा रहेको पाइएको चिकित्सकको दाबी छ । यसो हुनुमा नीतिगत नियमनको पक्ष कमजोर हुनु, चेतनाको अभाव हुनु, कतिपयले शोकको रूपमा प्रयोग गर्नु लगायत कारण पाइएको उनीहरूको भनाई छ ।
कतिपयले चुरोटको विकल्पको रूपमा ई–सिगरेट प्रयोग गरेको पाइएको र सो गलत रहेको डा. पाण्डेले बताइन् । ‘चुरोटको विकल्पमा ई–सिगरेट प्रयोग गर्दै हुनुहुन्छ, त्यो एकदमै गलत हो,’ उनले भनिन्, ‘ई–सिगरेटमा निकोटिन बढी हुन्छ, यसले लत नै बस्ने हुन्छ ।’
डा. पाण्डेका अनुसार अन्तर्राष्ट्रिय बजारमा ई–सिगरेट युवाहरूलाई केन्द्रित गरिएको छ । विश्वमा ३५ वटा मुलुकमा यो बन्द गरिएको छ । तर नेपालमा यसको कानुनी रूपमा नियमन हुन सकेको छैन । ‘हाम्रो देश ई–सिगरेटको नीति छैन, आयातमा धेरै रेगुलेसन छैन,’ उनले भनिन्, ‘आम मानिसमा ई–सिगरेटले पार्ने असरबारे चेतना छैन, ई–सिगरेटको बेचबिखनमा नियमन छैन ।’
यता डा. पंगेनीले ई–सिगरेटमा भएको कैयौँ केमिकलले स्वास्थ्यमा हानी पुर्याउने चेतनाको अभाव रहेको बताए ।
- ई–सिगरेट कति खतरनाक ?
ई–सिगरेटमा ९९ प्रतिशत निकोटिन प्रयोग गरिएको हुन्छ । यसका साथै गाँजा, विभिन्न स्वादका लागि केमिल प्रयोग गरिएको हुन्छ । यसले मस्तिष्क, फोक्सो, पाचनप्रणाली लगायत शरीरका विभिन्न अङ्गमा हानी पुर्याउँछ । स्वास्थ्यका लागि धुवाँ हानिकारक हुन्छ । ई–सिगरेटबाट निस्कने कयौँ केमिकलको मिश्रणले स्वास्थ्यमा हानी पुग्ने डा. पङ्गेनीले बताए ।
‘निकोटिनले शरीरको सबै अङ्गमा असर गर्छ, यसले विशेष गरि मस्तिष्कमा हानी पुर्याउँछ । केही घण्टादेखि केही दिनमा असर देखिन्छ । यसले छटपटी हुने, निन्द्रा नलाग्ने, हातखुट्टा काप्ने हुन्छ,’ उनले भने, ‘मुटुको चाप बढ्ने, ब्लड प्रेसर बढ्ने, पछि गएर मुटुमा विभिन्न समस्या देखिने हुन्छ, हर्मोनल ग्लान्डहरुमा असर देखिन्छ, सुगरको मात्र घटबढ हुने, पाचनप्रणालीमा असर गर्छ, अमिलो पानी आउने, पखाला लाग्ने समस्या देखिन्छ ।’
डा. पंगेनीका अनुसार ई–सिगरेट सेवनले फोक्सोमा असर पुर्याउँछ । ‘एजर्ली छ, दाम रोग छ, उहाँहरूलाई ई–सिगरेटको प्रयोगले अट्याक आउन सक्छ, घाँटी खस–खस हुन्छ,’ उनले भने, ‘रक्तसञ्चार प्रणालीमा अवरोधदेखि रगतलाई जमाएर तत्कालै विभिन्न समस्या निम्तिन्छ ।’
- के हो ई–सिगरेट ?
ई–सिगरेट वा भेप एक विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । श्वास लिने बाफमा निकोटिन हुन्छ । स्वाद र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसले मस्तिष्क, फोक्सो, पाचनप्रणाली लगायत शरीरका विभिन्न अङ्गमा हानी पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन