मतदाता शिक्षा : खर्च अनुसार किन आउँदैन नतिजा ?
काठमाडौँ । चुनावअघि सरकारले मतदाता शिक्षाका नाममा लाखौं रुपैयाँ खर्च गर्छ । तर, बदर भएको मतदानको अनुपात हेर्ने हो भने नतिजा परिणामूखी देखिँदैन ।
वैशाख १५ मा हुन गइरहेको प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र बझाङको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पनि सरकारले मतदाता शिक्षाका लागि रकम छुट्याएको छ ।
वैशाख ५ देखि ११ गतेसम्म सात दिनसम्म चल्ने मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई जनाको दरले स्वयंसेवक परिचालन गर्ने तयारी निर्वाचन आयोगको छ । आयोगबाट स्वीकृत मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम स्थानीय तहका वडाहरूमा निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न खटिने मतदाता शिक्षा स्वयंसेवकहरूलाई सम्बन्धित स्थानीय तहको स्रोतबाट खर्च व्यहोर्ने गरी प्रतिव्यक्ति प्रतिदिन एक हजारका दरले सात दिनसम्मका लागि सात हजार पारिश्रमिक उपलब्ध गराइने जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए ।
पौडेलका अनुसार मतदाता शिक्षा कार्यक्रमको समन्वय र अनुगमनका लागि स्थानीय तहमा भएका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमन अधिकृतको रूपमा खटाइने छ । उनका अनुसार आयोगले निर्वाचन अनुगमन अधिकृतलाई सात दिनको लागि एकमुष्ट पाँच हजार रुपैयाँ आयोगबाट सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराइने छ ।
इलाम क्षेत्र नम्बर २ का वडाहरूमा इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकागरि सात वटा वडा छन् ।
त्यस्तै बझाङ जिल्ला क्षेत्र नम्बर १ मा जयपृथ्वी नगरपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, तलकोट गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिका गरी ८ वटा वडा छन् ।
आयोगले नै दिएको विवरण अनुसार प्रत्येक वडामा दुई जनाका दरले खटाउँदा इलाम– २ मा १४ जना मतदाता शिक्षा स्वयंसेवक सात दिनसम्म खटिन्छन् । स्वयंसेवकका लागि मात्रै खर्चका हिसाबले कूल ९८ हजार र अनुगमन अधिकृतका लागि छुट्याइएको ५ हजार गरी कूल एक लाख तीन हजार रुपैयाँ खर्च हुने देखिन्छ । त्यस्तै बझाङमा ८ वटा वडामा खटिने १६ जनाका लागि एक लाख १२ हजार र अनुगमन अधिकृतको ५ हजार गरि एक लाख १७ हजार रुपैयाँ खर्च हुने देखिन्छ ।
आयोगका अनुसार २०७९ को प्रतिनिधिसभातर्फको चुनावमा इलाम – २ मा कुल १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकामा ६९ हजार ४ सय ८१ मत खसेको थियो। खसेको मत मध्ये ६६ हजार आठ सय ८५ मत सदर भएको थियो भने दुई हजार पाँच सय ९६ मत बदर भएको थियो । त्यतिबेला एमालेको तर्फबाट उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ (दिबंग्गत) ले २६ हजार पाँच सय ६२ मत ल्याएर विजयी भएका थिए । अहिले उक्त क्षेत्रमा ८७ हजार चार सय १७ जना मतदाता थपिएका छन् ।
उता बझाङ– १ (क) मा २०७९ मंसिरमा भएको चुनावमा ६१ हजार एक सय १० मतदाता रहेकोमा अहिले सङ्ख्या थप भएर ६१ हजार सात सय ४८ जना पुगेका छन् । अघिल्लो चुनावमा तीन हजार ९ सय २३ मत बदर भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं राजनीतिक विश्लेषक डा. राजेश गौतमले मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने गरेको बताउँछन् । ‘मतदाता शिक्षा चुनावमा मात्रै लागू गरेर हुँदैन । यसका लागि विद्यालयदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने हुन्छ,’ गौतमले रातोपाटीसँग भने,‘ मतदाता शिक्षाका नाममा बर्षेनि निर्वाचन आयोगले लाखौं रुपैयाँ खर्च गर्दा पनि बदर मत प्रतिशत घटेको देखिँदैन ।’ उनले राजनीतिक दलका प्रतिनिधिले नै आफ्ना मतदातालाई मतदाता शिक्षाका बारेमा अवगत गराउनुपर्ने हुन्छ । उनले भने,‘ निर्वाचनमा पर्चा छापेर फालेको भरमा मात्रै मतदाताले मतदान गर्न जान्छन् भन्ने हुँदैन, त्यसका लागि छुट्टै सचेतना आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा