वामपन्थी एकता आधार वर्ष २०८० : एमाले र माओवादी उच्च नेताहरू लगातार संवादमा
काठमाडौँ । सत्ताबाट बाहिरिएको एक वर्ष ६ दिनमा नेकपा एमाले फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा फर्कियो । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सत्ता सहकार्य त्याग्न राजी भएपछि फागुन २१ गते सरकारमा एमाले फर्किएको हो ।
१५ महिना अघि २०७९ पुस १० गते एमालेको बलमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए । त्यतिबेला एमाले–माओवादी समीकरण अनुसार सङ्घ र प्रदेशसम्म सबै राजकीय पदमा भागबण्डा मिलाइएको थियो । तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धन टिकेन । तीन महिना नपुग्दै फागुन १६ गते समीकरण भत्कियो । कांग्रेस–माओवादीको पुरानै गठबन्धन बिउँताएर सत्ता लम्ब्याएका प्रधानमन्त्री प्रचण्ड एक वर्ष नपुग्दै फेरि एमाले–माओवादीसहितको अर्को समीकरण बनाउन सफल भएका छन् ।
प्रचण्डले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ समीकरण बनाइएको तर्क गरेका छन् । चैत १२ गते केन्द्रीय कार्यालय कोटेश्वरमा बागमती प्रदेश समितिलाई सम्बोधन गर्दै उनले वामपन्थी गठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेको जनाए ।
एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनका प्रमुख योजनाकार प्रचण्ड भएको र आफूले समर्थन गरेको प्रष्टीकरण दिएका छन् । फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले छिमेकी मुलुकको दबाब वा प्रभावमा नभई आफ्नै बुद्धिले गठबन्धन बनाएको दाबी गरेका थिए । नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य जेसुकै भए पनि ओली–प्रचण्ड पुनर्मिलनले ठुलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।
ओली–प्रचण्डको पुनर्मिलनले २०८० साललाई वामपन्थी एकताको आधार वर्षका रूपमा हेर्न थालिएको छ । पूर्वप्रधानमन्त्री माधव नेपालको नाममात्र लिए पनि मुख कुला गर्नुपर्ने अराजनीतिक अभिव्यक्ति दिने गरेका ओली अन्ततः उनलाई नै गठबन्धनमा समेट्न आफैँ अग्रसर भए । झण्डै तीन वर्षपछि ओली, प्रचण्ड र माधवको सहकार्यले पनि वामपन्थीबिच एकतालाई थप बल पुगेको नेताहरू बताउँछन् ।
कांग्रेससँगको गठबन्धनलाई घोर दक्षिणपन्थी बाटोको संज्ञा दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ समीकरणलाई बृहत् वामपन्थी एकताको आधारका रूपमा व्याख्या गरेका छन् ।
‘हिजो जुन प्रकारको गठबन्धन थियो, त्यसमा दक्षिणपन्थ हावी थियो । अहिले वामपन्थ अलि बढी हावी हुन खोजेको गठबन्धन बन्न खोज्दैछ । त्यसैले हामीले यसलाई आम रूपमा सकारात्मक ढङ्गले लिएका छौँ । नयाँ गठबन्धनले बृहत् वामपन्थी एकताको आधार तय भएको छ । सत्ताको झिनामसिना कुरा बिर्सेर शीर्ष नेताहरूले ठुलो हृदय देखाउनुपर्छ’, उनले भने ।
सडकमा राप्रपा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत विभिन्न सङ्घसंस्थाले व्यवस्था विरोधी आन्दोलन चर्काइरहेको बेला समीकरणलाई बलियो बनाएर जाने विषयमा एमाले र माओवादीका नेताहरू पनि सकारात्मक देखिएका छन् ।
केही दिनअघि रातोपाटीसँग एमालेका महासचिव शंकर पोखरेलले भनेका थिए, ‘सरकार र सत्ता सहकार्यको विषयलाई बलियो गरी अगाडि बढाउने खालको सोचमा छौँ । सत्तासँगको सहकार्य अटुट रूपमा बढ्छ । वाम ध्रुवीकरण पार्टीलाई बलियो बनाउने विषय हो । भोलि बलियो राष्ट्रिय शक्ति बनाउने कुरा हो । यसमा हामी सकारात्मक छौँ । तर तत्काल एकताको पक्षमा एमाले छैन ।’
२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर गठन भएको तत्कालीन नेकपालाई बदर गरेपछि साविक अवस्थामै एमाले र माओवादी फर्किएका थिए । त्यतिबेला ओली र प्रचण्डबिचको शक्ति सङ्घर्षले नेकपामात्र विभाजन भएन, एमालेसमेत विभाजन भएको थियो । एमालेका झण्डै १३ प्रतिशत हिस्सा लिएर २०७८ भदौ ९ गते पूर्वमहासचिव माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।
२०७९ मा भएको तीनै तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमा रही माओवादी र एकीकृत समाजवादी सहभागी भएका थिए । एमालेले केही स्थानमा जसपा र राप्रपासँग सहकार्य गरेको थियो । निर्वाचनमा एमाले दोस्रो शक्तिमा कायम रहे पनि सोचेअनुसार नतिजा ल्याउन सकेन । माओवादी तेस्रो दलमा रह्यो । एमालेको विद्रोही शक्ति एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता समेत पाउन सकेन । यसरी वामपन्थी मत विभाजन हुँदा निर्वाचनमा सोझो फाइदा कांग्रेसले लियो ।
निर्वाचनपछि एमालेको बलमा प्रधानमन्त्री बन्न सफल भएका प्रचण्ड फेरि कांग्रेससँग सत्ता सहकार्य गर्न आइपुगे । यद्यपि एक वर्ष नपुग्दै कांग्रेससँगको सहकार्य सफल नभएको निष्कर्षमा उनी पुगे । माघ २९ गते राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेससँगको सहकार्य राजनीतिक दृष्टिकोणले एउटा आवश्यकता भए पनि पार्टीको समग्र विकासको दृष्टिकोणले लाभदायक नदेखिएको निष्कर्ष नेताहरूलाई सुनाएका थिए । त्यसपछि पार्टी उपमहासचिव वर्षमान पुनमार्फत निरन्तर ओलीसँग सम्पर्कमा रहेका प्रचण्डले अन्ततः २१ दिनपछि कांग्रेससँग सत्ता सहकार्य तोडेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाको शीर्ष नेताहरूबिच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको थियो । तर चार दलले मात्र सङ्घ र प्रदेशको सत्ता नजोगिने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाएर गठबन्धनमा ल्याउन सफल भए । फागुन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले ७ बुँदे सहमति गर्दै सत्ता सहकार्य अगाडि बढाएको छ ।
चार वाम, एक ठाम
२०८० साल असार ४ गते राष्ट्रिय सभागृहमा तत्कालीन सत्ता गठबन्धनका चार वाम शक्ति मिलेर समाजवादी मोर्चा घोषणा गरे । नेपाली विशेषताको समाजवादी क्रान्ति गर्ने दीर्घकालीन लक्ष्य राख्दै सत्ता घटक माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा बनाए । उग्रवामपन्थी विचार बोकेका नेकपा, माओवादी केन्द्र र नरम वामपन्थी विचार बोकेका एकीकृत समाजवादी, जनता समाजवादीबिच गठबन्धनले पूरै राजनीति तरङ्गित बन्यो । मोर्चामार्फत भविष्यमा पार्टी एकता गर्ने गरी यी चार दल आन्तरिक र अन्तरपार्टीबिच निरन्तर छलफलमा जुटेका छन् । विचार मिल्नेसँग तत्काल एकता गर्ने, विचार नमिल्नेसँग कार्यगत एकता गरी बृहत् वामपन्थी मोर्चा बनाएर जानका लागि चारै दलले वार्ता टोली बनाएका छन् । पछिल्लो समय मोर्चाका संयोजकसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमालेसहित सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने गरी निरन्तर भेटघाट गरिरहेका छन् ।
विश्व कम्युनिस्ट नेता लेनिन जयन्ती अर्थात् नेकपा स्थापना दिवस (वैशाख १० गते)लाई लक्षित गरी माओवादी र नेकपाबिच एकता प्रक्रियाबारे छलफल जारी छ । दुई पार्टीबिच एकताका सम्बन्धमा सकारात्मक छलफल भइरहेको विप्लव आफैँले स्वीकार गरेका छन् । यद्यपि वैशाख १० गते नै एकता घोषणा हुने कुनै सम्भावना नरहेको उनले रातोपाटीलाई बताए ।
‘माओवादीसहित विचार मिल्ने वामपन्थीबिच एकता र सहकार्यका लागि सकारात्मक छलफल भइरहेको छ तर अहिल्यै निष्कर्षमा पुगेका छैनौँ’, उनले भने ।
उनले एमालेसहित बृहत् वामपन्थी मोर्चा बनाउने विषयमा शीर्ष नेताहरूबिच निरन्तर संवाद भइरहेको र छलफल सकारात्मक भइरहेको दाबी गरेका छन् ।
यसैगरी विप्लवले बृहत् वामपन्थी मोर्चा बनाउने विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मशाल, वैज्ञानिक समाजवादी, नेकपा एकता राष्ट्रिय अभियान लगायत दलहरूसँग पनि छलफल गरेका छन् । पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, बृहत् वामपन्थी एकता लगायत विषयमा छलफल गर्न उनले वैशाखको पहिलो साता केन्द्रीय समिति बैठक बोलाएका छन् ।
विप्लवको भनाइसँग सहमति जनाउँदै माओवादीका शीर्ष नेताहरूले पनि विचार मिल्नेसँग एकता र एउटै समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भइरहेको जनाएका छन् । यद्यपि निष्कर्षमा नपुगेको उनीहरूको भनाइ छ ।
‘हामी पूर्वमाओवादी घटकसहित विचार मिल्ने पार्टीसँग एकता र विचार नमिल्नेसँग कार्यगत एकता वा एउटै समाजवादी मोर्चा वा बृहत् वामपन्थी मोर्चा बनाएर जाने विषयमा निरन्तर छलफलमा छौँ । तर वैशाख १० गतेलाई नै टार्गेट गरी कुनै घोषणा हुने सम्भावना छैन’, माओवादीका महासचिव देव गुरुङले भने ।
यता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता नजिक पुगेर पनि माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ । पार्टी एकताका लागि दुवै पार्टीले अध्यक्षको नेतृत्वमा एकता समायोजन समिति गठन गरेका थिए । तर चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बाबुरामलाई बाइपास गरी नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवले माओवादीसँग एकता गर्ने सहमति गरेपछि एकता प्रक्रिया भाँडिएको हो । तथापि महिन्द्र समूहसँग एकता गर्नेगरी दुवै पक्ष घनीभूत छलफलमा छन् । छिटै एकता घोषणा हुने गरी तयारी अगाडि बढिरहेको नेताहरूको दाबी छ ।
एमाले र माओवादीका शीर्ष नेताहरू निरन्तर संवादमा
माओवादीले राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढाउने गरी एमालेसँग विशेष संवादमा जुटेको उच्च स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ समीकरण बने यता ओली र प्रचण्डबिच बालुवाटार र सिंहदरबारमा लगातार भेटवार्ता भइरहेको छ । पछिल्लो समय दुवै दलबाट दोस्रो तहका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायत नेताहरूबिच बालुवाटारमा भेटवार्ता बाक्लिएको छ । भेटवार्तामा वामपन्थी गठबन्धनलाई २०८४ सम्म थप बलियो बनाएर लैजाने विषयमा छलफल केन्द्रित रहेको माओवादीका एक उच्च नेताले जनाए ।
‘फेरि अर्को पटक वामपन्थीहरू बिच सहकार्य र एकताको आधार तय भएको छ । सरकार पुनर्गठनसँगै हिजो गल्ती भएको कुरा सच्याएर वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावरण बनेको छ । नेपालको राजनीतिले नयाँ मोड लिनेगरी उच्च तहमा छलफल भइरहेको छ’, ती नेताले भने ।
यी दुई ठुला वामपन्थी दल एमाले र माओवादी एक ठाउँमा आउनुको कारण निकट भविष्यमा सम्भावित चुनावी परिणाम र सडकमा बढ्दै गएको प्रतिगामी शक्तिहरूको प्रदर्शनलाई आधार मानिएको छ । पछिल्लो निर्वाचनमा नयाँ दल र अनुहारप्रति आकर्षित जनमतबाट एमाले, माओवादी, एकीकृत समाजवादी लगायत दलहरू सशङ्कित छन् । यथास्थिति कायमै रहेमा २०८४ को निर्वाचनमा शासन सत्ता आफ्नो हातबाट फुत्किने र त्यसको फाइदा व्यवस्था विरोधी शक्तिहरूले लिनसक्ने तर्फ यी दल सचेत रहेको देखिन्छ ।
अर्कोतर्फ सडकमा राजावादी शक्तिहरूले परम्परागत दलहरूको कमजोरीमा खेलेर व्यवस्थामाथि नै प्रहार गर्न थालेपछि वामपन्थी शक्तिहरू बिच ध्रुवीकृत हुने वातावरण २०८० ले जुराएको छ ।
नयाँ समीकरणले बृहत् वामपन्थी एकताका लागि आधार बनाएको नेता खनालको बुझाइ छ । बृहत् वाम एकताका लागि आफूले पनि पहल गरिरहेको उनको दाबी छ । वामपन्थी एकता र ध्रुवीकरणका विषयमा खनालले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र मोर्चाका विप्लवसँग छलफल जारी राखेका छन् ।
वामपन्थी एकताका लागि यसअघि नै माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाले वार्ता टोली घोषणा गरेका थिए । वार्ता टोलीमा माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष डा. वेदुराम भुसाल, उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन् । यस्तै जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ र गोविन्द चौधरी छन् । वार्ता टोलीमा नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका पूर्वक्रिकेटर रोविन उथप्पा भन्छन्– ‘म निर्दोष छु’
-
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
-
जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय व्यवहार गर्नेलाई कारबाही गर्न थापाको माग
-
राजधानीमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
-
सूर्यदर्शन सहकारी प्रकरण : रविपत्नी निकिता पौडेल पनि प्रतिवादी
-
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति